आदर्श अनलाइन, बागलुङ
बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको भ्यूटावरमा क्षति पुगेको छ । २०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङ नगरपालिका–१० स्थित भकुण्डे भ्यूटावरको संरक्षण नहुँदा विभिन्न संरचनामा क्षति पुगेको छ ।
करिब एक करोड बराबरको लागतमा निर्माण गरिएको भ्यूटारको संरक्षण नहुँदा कुरुप देखिदै गएको छ । बस्ती भन्दा माथी रहेको भ्यूटावर संरक्षणको अभावमा विस्तारै कुरुप हुँदै गएको छ । भ्यूटावरको चौथो तलामा प्रयोग गरिएको सिसाको केही भाग फुटाइएको छ भने विद्युतीय सामाग्रीहरु समेत तेडफोड गरिएको पाइएको छ ।
भ्यूटावर संरक्षणमा सरोकारवालाहरुले चासो नदिदा रु.एक करोड खर्चेर बनाइएको संरचना विस्तारै विग्रदै जाने देखिएको पाइएको छ । भ्यूटावरमा प्रयोग गरिएको विद्युतका केही सामाग्री चोरी भएको, विद्युतका तार छुटाइएको छ भने सिसा र आल्मुनियमको झ्याल फुटाइएको पाइएको दृश्यावलोकनका लागि पुग्नुभएको संघम घर्तीले बताउनुभयो ।
निर्माण शुरु गरिएको सात वर्षमा सम्पन्न भएको भ्यूटावर सौन्दर्यकरणका लागि दुई वर्ष अगाडी चौथो तलामा बागलुङ नगरपालिकाले रु. १० लाखको लागतमा लगाइएको सिसाको पूर्व पट्टीको भाग पुरै फुटाइएको अन्य भागको सिसामा प्वाल परेको र चर्केको छ । पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेपनि भ्यूटावरको संरचनामा क्षती भएको र यो विषयमा नगरपालिकालाई जानकारी गराएको बागलुङ नगरपालिका–१० का वडा अध्यक्ष तील बहादुर थापाले जानकारी दिनुभयो ।
“भ्यूटावर गाउँ भन्दा माथी जंगलको बीचमा छ, सुरक्षाको लागि तारबार समेत गरेर बलेवा र भकुण्डे क्षेत्रमा गेट समेत निर्माण गरिएको थियो, भने भ्यूटावरमा हेरालु समेत राखिएको थियो” वडा अध्यक्ष थापाले भन्नुभयो “अहिले हेरालुले प्रवेश शुल्कद्वारा संकलन गरिएको रकम कोरोनाका कारण कमी आएको भन्दै छोडेर गएछन्, अहिले सुरक्षा गर्ने कोही छैन, दुई स्वागत बोर्ड समेत पल्टिएको छ, नगरपालिकामा मर्मतका लागि भनेको छु भने सुरक्षाको लागि प्रहरी खटाउन पहल गरिरहेको छु ।”
पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको भएपनि भ्यूटावरको पर्खालमा जथाभावी शब्दहरु लेख्ने कार्यले त्यहाँ पुगेका पर्यटकहरुलाई समस्या भएको गुनासो छ ।
विषेशगरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् भने विहानै उठेर दृश्य अवलोकनका लागि गाउँमाथिको डाँडामा रहेको भ्यूटावर पुग्ने गरेका छन् ।
भ्यूटावर छेउमै बनेको खरको कटेज अहिले भग्नावशेष अवस्थामा छन् भने रेष्टुराँ खोल्नलाई बनाइएको जस्ताको छाप्रो समेत भत्किएको छ । अहिले जेसिज बागलुङले बनाएको स्वागत बोर्ड समेत भुइमा ढलेको छ ।
भकुण्डे भ्यू टावरको संरचनामा क्षति पुगेको विषयमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले अनुगमन समेत गर्नुभएको बागलुङ नगरपालिकाले जनाएको छ । भ्यूटावर संरक्षणमा स्थानीयको सक्रियता हुँन आश्यक देखिएपनि नगरपालिकाले भ्यूटारको मर्मत संभार गर्ने नगरउपप्रमुख राजु खड्काले बताउनुभयो ।
“हामीले संरचना बनाउने हो संरक्षणको जिम्मा स्थानीयकै हुन्छ, संरचनामा क्षती पुगेको अनुगमनका क्रममा समेत पाइयो, हामीले मर्मत संभार गरेर पुनःस्थानीयलाई सुरक्षा गर्न भन्ने छौं” खड्काले भन्नुभयो “राज्यले करोड खर्चेर बनाएको संरचना विग्रन हुँदैन, त्यहाँ पुग्ने केही पदमार्ग समेत मर्मत गर्न आवश्यक देखिएको छ, हामीले त्यो काम गर्ने र पुनः भ्यूटावरलाई पुरानै अवस्थामा फर्काइने छौं ।”
भकुण्डेमा पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा भ्यूटावर निर्माण थालिएको थियो । तत्कालिन जिल्ला विकास समिति, संसद विकास कोषमा बनेको भ्यूटावको अन्तिम रुप बागलुङ नगरपालिकाले तयार गरेको थियो । भ्यूटावरमा पुग्नका लागि रेलिङ सहितको पदमार्ग, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण भएपनि पानीको अभावमा खानेपानीको ट्याङ्की र धारो समेत प्रयोग विहिन बनेको छ ।
भारतको दार्जलिङ तथा पोखराको सराङ्कोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्यूटावरबाट देखिने सूर्योदय हुन सक्ने भकुण्डे पुग्ने पर्यटकहरुले बताएका छन् । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि ३ घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा चारतले पक्की भ्यूटावर रहेको छ ।