कालीगण्डकी नदीमा थपिदै अर्को लामो झोलुङ्गे पुल

आदर्श अनलाइन, बागलुङ
लामा र अग्ला झोलुङ्गे पुलहरुको जिल्लाको रुपमा परिचित बागलुङमा फेरी अर्को पुल निर्माण हुन थालेको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुङ्गे पुल बन्न थालेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर गौरीधामदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल सात करोड लागतमा निर्माण हुन थालेको हो ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौसंग हिम शिखर कन्ट्रक्सन निर्माण कम्पनी बीच सम्झौता भएर काम थालिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि फेरी अर्को बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण थालिएको हो ।

उक्त पुल विश्वकै एकल स्पान माध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदन समेत दिएको छ । बागलुङको गौरीधाम देखि पर्वत जिल्लाको जलजला स्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथी निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षत्रीले बागलुङ बजारलाई पर्वतको जिल्लाको जलजला गाउँपालिकासंग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजलावासीहरु घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । क्षेत्रीले पुल निर्माणका लागि बागलुङ तर्फ निःशुल्क जग्गा दिने जग्गा दातालाई धन्यवाद दिनुभयो ।

‘जलजलाका नागरिकहरु प्रशासनीक कामका लागि सदरमुकाम कुस्मा गएपनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक डेढ घण्टाको बाटो छोट्टीयो’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ‘पुल निर्माण संगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।’ पुल निर्माणका लागि २०७९ जेठमा निर्माण कम्पनीसंग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङ तर्फको झण्डै ६ अना जग्गा निःशुल्क दिएको जग्गादाता राजेन्द्र बहादुर जिसीले बताउनुभयो । ‘विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिए, पुल निर्माण भएपछि यहाँको पर्यटन व्यवसाय फस्ट्याने छ’ जिसीले भन्नुभयो ‘आफूले व्यवसायीक केरा खेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप बढ्ने अपेक्षा छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *