बजार व्यवस्थापनमा चुनौति

डम्मर बुढा मगर, बागलुङ
बुर्तिबाङ बजार आफैमा साँघुरो छ । त्यसमाथि पनि व्यवसायी र गाडी चालकले जथाभावी रुपमा सामान र गाडी राख्दा बजार व्यवस्थापनमा चुनौति थपिएको छ । बजार क्षेत्रको फुटपाथ सबै व्यापारीका सामानले भरिएका छन् । बजार क्षेत्र भित्र रहेका सडक पनि निकै साँघुरो हुँदा यात्रुलाई हिड्न समेत समस्या परेको छ ।

पश्चिम बागलुङकै सबैभन्दा ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजारमा पार्किङ सुविधा पनि छैन । पार्किङ सुविधा नहुँदा गाडी चालकहरुले जथाभावी रुपमा पार्किङ गर्दै आएका छन् । बुर्तिबाङ दश नमुना सहर मध्येको एक हो । तर अपेक्षित रुपमा हुनु पर्ने विकास भने भएको छैन । नमुना सहर हुनका लागि पर्याप्त खेलमैदान, पार्किङ सुविधा, खानेपानी, बसपार्क, लगायतका पूर्वधार हुनु पर्छ । यी मध्ये बुर्तिबाङ धेरै पूर्वधार पर्याप्त छैनन् । बुर्तिबाङ बजारको बीचमा बस पार्क भए पनि धेरै सवारी साधानहरु पार्किङ गर्न सकिदैन । किनकी यो निकै सानो छ ।

बजार क्षेत्र निकै सानो क्षेत्रमा रहेको हुँदा नयाँ सहर बन्न आवश्यक पर्ने मापदण्ड पुरा हुन सकेको छैन । नयाँ सहर आयोजनाले केही वर्षदेखि बुर्तिबाङमै कार्यालय स्थापना गरेर पूर्वाधार निर्माण सुरु गरे पनि अहिलेसम्म अपेक्षित विकास भने भएको छैन । बजार व्यवस्थापनमा चुनौति बन्दै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् ।

ढोरपाटन नगरपालिका मेयर, उपमेयरसहित जनप्रतिनिधी, प्रहरी, प्रशासन लगाएतको टोलीले बजार क्षेत्रको अनुगमन गरि केही व्यवस्थित गर्ने प्रयास थालेको छ । बजारमा अव्यवस्थित रुपमा सवारी साधन पार्किङ गर्ने व्यवसायीले सामान सडकसम्म राख्ने गर्दा पदैल यात्रुलाई समस्या भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।

उहाँले बजारमा अस्तव्यस्त रुपमा राखिएका सामान र पार्किङ गरिएका गाडीहरुलाई व्यस्थित गर्न थालेको बताउनुभयो । अव्यवस्थित पार्किङ र सडक पेटिमा राखिएका सामानले आम नागरिकलाई समास्या पर्नुका साथै बजारको सौन्दर्यनै कुरुप बनेको भन्दै त्यस्को व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको उपप्रमुख कायत बताउनुहुन्छ ।

‘बुर्तिबाङ बजारनै सानो छ, त्यसमा गाडीहरुको चाँप उस्तै छ, बढ्दो जनसंख्या, र व्यवसायीहरुले झन् सडकमै सामान राख्नाले पदैल यात्रुलाई समस्या हुने गरेको छ, दुर्घटनाको जोखिम बढेको छ, सडक पनि उस्तै साँघुरो हुँदा एउटा गाडी सडकमा रोकियो भने घण्टौँसम्म पछाडिका गाडीहरु रोकिनु पर्ने अवस्था छ,’ उपमेयर कायतले भन्नुभयो ‘यो समस्याको समाधान गर्न हामीले प्रयत्न गरेका छौँ, साँघुरो ठाउँ हुँदा समस्या भएको हो, बिस्तारै यसको समाधान गर्ने छौँ ।’

निसी, भूजी र तमानको संगम स्थलका रुपमा रहेको बुर्तिबाङ बजार पश्मिचम बागलुङको मात्रै नभएर गुल्मी, रोल्पा र रुकुमको समेत किनमेल गर्ने बजार बनेको छ । यहाँ दैनिक हजारौँ किनमेल गर्ने मानिसहरुको भिड लाग्ने गर्छ । रोल्पा र रुकुमका नागरिकहरु अहिले पोखरा काठमाडौँ आवतजावत मध्यपहाडी लोकमार्ग हुँदै गर्ने भएकाले पनि पछिल्लो समय बुर्तिबाङ भिड हुने गरेको छ ।

बुर्तिबाङबाट दैनिक दजनौँमा यातायातका साधानहरु बाहिरीने र भित्रीने गर्छन । जसका कारण मानिसहरुको चाप बढ्ने गरेको छ । बसपार्क र यहाँका साँघुरा सडकको सही रुपमा व्यवस्थापन गर्न नसक्दा नागरिकले दुःख पाउनु परेको गुनासो गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *