पर्यटकको आकर्षण केन्द्र बन्दै ‘टाकुरा’

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकामा खोलानाला, झरना, पाखापखेरा र टाकुराहरु थुप्रै छन् । ति मध्ये कतिपय ठाउँहरुले अत्यन्तै पर्यटकीय संभावना बोकेका छन् । वडा नम्बर ७ राजकुटमा पर्ने टाकुराले पनि पर्यटकीय हिसाबले निकै संभावाना बोकेको छ । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको संगम स्थलमा पर्ने टाकुरामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

वरपर रुख र बीचमा खाली समथर मैदान । यो मैदानले धेरैलाई आकर्षित गर्छ । अझ वर्षातको बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ । ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिक स्पटका लागि निकै उपयुक्त स्थानका रुपमा मानिन्छ । आन्तरिक पर्यटकहरु यहाँ रहेक मौसममा पुग्ने गरेका छन् ।

पश्चिम बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङदेखि नजिक रहेको हुँदा शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिकहरु यहाँ घुम्न जाने गरेका छन् । नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठेदेखि करिब तीन किलोमिटर रहेको टाकुरामा बागलुङ लगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन् ।

तराइ–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा भविष्यमा पर्यटकीय हब हुन सक्ने स्थानीय बताउँछन् । भिमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधै पुग्न सकिन्छ । यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन तर गोरेटो बाटो हुँदा अहिले पर्यटक त्यहाँ पुग्ने गरेका छन् । सडक संजालले सोड्न सके धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने देखिन्छ ।

निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोट र टाकुरालाई विकास गर्न सके पर्यटकनबाटै राम्रो आम्दानी गर्न सक्ने देखिन्छ । टाकुराबाट देखिने अगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । एक पटक यहाँ पुग्ने जोहोकोहीलाई पुनः अर्को पटक पुगौँ पुगौँ हुने गराउँछ ।

यसको विकासका लागि वडा कार्यालय तदारुक रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष दिपक कुवँर (दीपु)ले बताउनुभयो । अध्यक्ष कुँवरले नरसिंकोट फोक्सिङदेखि टाकोरा जोड्नका लागि मोटरबाटो निर्माण गर्ने योजना बनाएको बताउनुभयो । उहाँले नरसिंहकोट र टाकुरालाई जोडेर विकास गर्ने भन्दै अब यि दुबै ठाउँमा पर्यटन पूर्वाधार निर्माण गर्ने बताउनुभयो ।

‘टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएको छैन, तर पनि आन्तरिक पर्यटकको चाप निकै छ, नरसिंहकोटमा आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, त्यहाँसम्म पुग्ने सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्राउन सकिन्छ,’ अध्यक्ष कुवँरले भन्नुभयो ‘पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर नरसिंहकोट र टाकुराको विकास गर्न योजना बनाएको छु यो वर्ष पनि केही कामको सुरुवात हुने छ भने अर्को वर्षसम्म यहाँ पूर्वाधार निर्माण गर्ने वातावरण मिलाउने छौँ ।’

टाकुरासम्म जोड्नका लागि बडिगाड गाउँपालिका वडा नम्बर ९ मालारानी तिरबाट पनि सडक संचालले जोड्ने काम भइ रहेको उहाँको भनाई छ । निसीखोला गाउँपालिकाले पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर यहाँसम्म सडक पु¥याउने अध्यक्ष कुवँरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *