बागलुङमा तीन मतदानस्थल स्थानान्तरण, तीन थप

आदर्श अनलाइन, बागलुङ

बागलुङमा स्थानीय निकायको निर्वाचन पछि दुई हजार ८०० बढी मतदाताहरु थप भएका छन् । निर्वाचन आयोगले संघीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालयहरु आन्तरिक तयारीमा समेत जुटेका छन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता संख्या भन्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई हजार ८०० मतदाता थपिएका छन् ।

स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार ६ सय २४ मतदाता रहेकोमा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जसमध्ये एक लाख ९ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता रहेका छन् ।

एक वर्ष भित्र दर्ता भएर १८ वर्ष उमेर नपुगेर स्थानीय तहमा मतदान समेत गर्न नपाएका मतदाता र नयाँ दर्ता भएका मतदाताहरु सहित १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न पाउनेछन् । यस्तै स्थानीय तहको निर्वाचन पछि असार १ गते देखि साउन १९ गते सम्म दुई हजार ८०० मतदाताहरुले मतदाना नामावली दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गकुल शर्माले जानकारी दिनुभयो ।

“स्थानीय तहको निर्वाचनमा रहेको मतदाता संख्याको आधारमा जम्मा दुई हजार ८०० मतदाता थपिएका हुन्, तर उमेर नपुगेर स्थानीय तहको निर्वाचनमा मतदात गर्न नपाएका र नयाँ थपिएका गरी १३ हजार बढीले यसपटकको निर्वाचनमा मतदान गर्न सक्नेछन्” शर्माले भन्नुभयो “अहिलेको प्रदेश र संघीय निर्वाचनको तयारीमा जुटेका छौं, मतदाता अध्यावधिक पछि केही मतदाता घट्लान, भदौं महिनामै अन्तिम नामावली प्रकाशन गर्नेछौं तर त्यसअघि वडा तहमै मतदाता नामावली लगेर छलफल गर्नेछौं ।”

असार १ गते देखि साउनको १९ गते सम्म जिल्ला प्रशासन, कार्यालय बागलुङ, इलाका प्रशासन कार्यालय बुर्तिवाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो ।
१०३ मतदान स्थल र २३० मतदान केन्द्र रहेको बागलुङ जिल्लामा स्थानीय तहको निर्वाचनको समयमा भएको समस्या, मतदाताको पहुँच लगायतको कारण तीन मतदानस्थल स्थानान्तरण र तीन मतदान स्थल थप गरेर निर्वाचन आयोगमा पठाइएको छ ।

“स्थानीय तहको निर्वाचनमा धेरै स्थान मतदाताहरुको पहुँच भन्दा टाढा रहेको, मतदान स्थल साँघुरो भएको लगायतका समस्याका कारण मतदान केन्द्र स्थानान्तरण र मतदान स्थल थप गरिएको हो” सूचना अधिकारी शमाले भन्नुभयो “राजनैतिक दलमा सहमती जुटेको स्थानमा मात्रै मतदान स्थल परिवर्तन गरेका छौं, सहमती नजुटेको थुप्रै मतदानस्थल छन् जुन साँघुरो र मतदान गर्नै सास्ती भएका समेत छन् तर सहमती नजुटेको स्थानलाई अहिले यथावत नै राखिएको छ ।”

थप हुने मतदानस्थलको रुपमा ढोरपाटन नगरपालिका–६ र ढोरपाटन–२ र गलकोट नगरपालिका वडा नम्बर १० रहेको छ । यस्तै मतदानस्थल परिवर्तन भएकोमा बागलुङ नगरपालिका–३ बौद्ध बिहारको कालिका कन्या मन्दिर, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपिपल माध्यामिक विद्यालय र बडिगाड गाउँपालिकाको वडा नम्बर ८ सिद्धबारी प्राविबाट भृकुटी माध्यामिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

अन्तिम मतादाता नामावलीका लागि दाबी बिरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुग्ने निर्वाचन कार्यालयको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *