उठ्दैछ मानव सेवा आश्रम

खेमराज गौतम, बागलुङ

पाँच जनाको पहलमा शुरु भएको मानव सेवा आश्रम बागलुङ शाखाले अहिले व्यापकता पाउदै छ । आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न निर्माण गरिरहेको छ । अहिले आश्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका छन् । आश्रम मुठ्ठीदानबाट सञ्चालित छ । बागलुङ नगरपालिकाको पहलमा जग्गा व्यवस्थापन गरी सात रोपनी जग्गामा अहिले आश्रमको भवन बनिरहेको छ ।

आश्रमले बागलुङ नगरपालिका–३ स्थित अस्थायी रुपमा सेवा दिइरहेको छ । आश्रममा अहिले ५० जना सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई आश्रीत गरेको आश्रमका संयोजनक विपना तामाङले बताउनुभयो । उहाँले बागलुङबासीको माया र सद्भावका कारण नै आश्रमले फड्को मादै आफ्नो क्षमता बढाइरहेको बताउदै आफ्नै भवन समेत तिब्र गतिमा बनिरहेको बताउनुभयो ।

२०७३ सालमा बागलुङमा स्थापना भएको मानव सेवा आश्रमले अहिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिरेको छ । आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा रु. १२ करोड लागतमा भवन निर्माण गत वर्षदेखि शुरु गरेको हो ।

भवनको अहिले ‘बि’ ब्लक भवनको दुई तला र ‘सि’ ब्लक भवनको एक तला ढलान सम्पन्न गरिएको छ । मानव सेवा आश्रमले आर्थिक वर्ष २०७८/०७९ सालमा गण्डकी प्रदेश सरकार, स्थानीय पालिका र विभिन्न व्यक्ति तथा संस्थाहरुबाट संकलित रु. ९८ लाख ४६ हजार संकलन गरेर भवन निर्माणमा खर्च गरेको छ ।

आश्रमले हालसम्म भवन निर्माणमा रु. एक करोड ६१ लाख खर्च गरिसकेको छ । आश्रमले गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास कार्यालय बागलुङद्वारा ४६ लाख ६३ हजार, बागलुङ नगरपालिकाबाट रु. ८ लाख ५१ हजार, जैमिनी नगरपालिकाबाट रु.१० लाख ५३ हजार, रघुगंगा गाउँपालिकाबाट रु. एक लाख ९४ हजार, जलजला गाउँपालिकाबाट रु. ६ लाख ६४ हजार र मानव सेवा आश्रम हेटौडा शाखा बाट रु.१० लाख सहयोग प्राप्त भएको मानव सेवा आश्रमका अभिभावक तथा मानव सेवा आश्रम भवन निर्माण समितिका अध्यक्ष ओम बहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै गत आर्थिक वर्षमा रु. १२ लाख १७ हजार विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको छ । आश्रमको भवन निर्माणका लागि २८ संघ संस्था तथा व्यक्तिहरुबाट बढीमा रु. दुई लाख ५० हजार देखि न्यूनतम ५ हजार सम्म सहयोग प्राप्त भएको हो । अध्यक्ष खड्काका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको ५० लाख सहित विभिन्न पालिकाहरुबाट संकलित रु. ७३ लाख लागतमा ‘बि’ ब्लकको पहिलो तला निर्माण भएको थियो ।

“हामी भवन निर्माणको शुरुवातीमै छौ भवन लागत र डिजाईन हेर्ने हो भने निकै खर्चिलो छ, हाल सम्म जम्मा एक करोड ६१ लाख मात्रै खर्च भएको छ, चालु आर्थिक वर्षमा समेत गण्डकी प्रदेश सरकार र बागलुङ, पर्वत र म्याग्दीका विभिन्न पालिकाबाट झण्डै एक करोड जती रकम विनियोजन भएको छ, जस्ले भवनको ‘ए’ ब्लक बनाउने लक्ष्य लिएका छौं” खड्काले भन्नुभयो “चालु आर्थिक वर्षमा भवनले एउटा आकार लिनेछ,, हामीले ‘बि’ ब्लकलाई तीन तला र ए र सि ब्लकलाई दुई तला ‘सि’ आकारमा निर्माण गरिरहेका छौं, सबैको सहयोगमा आश्रमले सुविधा सम्पन्न भवन, तालिम हल, योगा कक्ष, नर्सीङ सेन्टर, पार्कीङ तथा प्राङ्गण निर्माण गर्नेछ ।”

चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका लगायतका पालिकाले भवन निर्माणका लागि बजेट विनियोजन गरेका छन् । एक वर्षपछि आश्रमले आश्रमको केही भाग निर्माण सम्पन्न गरेर आफ्नै भवनबाट सेवा दिनेछ भने भवन निर्माण केही वर्षमा सम्पन्न हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *