‘अहिलेको तिजमा मौलिकता छैन’

डम्मर बुढा मगर, बागलुङ,
“उति बेला तिजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीहरुसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरि तिजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन् ।”

ढोरपाटन नगरपालिका–२ कि ६६ वर्षीया सीता शर्मालाई अहिलेको तिज पटक्कै मन पर्न छोड्यो । उहाँलाई तिज मन नपर्नुको कारण हो मौलिकता हराउनु । उहाँ भन्नुहुन्छ “अहिले मौलिकता भन्ने छँदैछैन, गीत पनि विदेशी, पहिरन पनि विदेशी, हुँदाहुँदा यहाँका मान्छे आफ्नो पहिचान भुलेर विदेशी जस्तै बने, पहिले तिज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छे सबै स्वार्थी भए, आफ्नो धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए ।”

शर्माले जमानासँगै संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले तिज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताउनुभयो । दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महङ्गा–महङ्गा परिकार खाने गरेको उहाँको भनाई छ ।

“हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तिजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तिज आउन १५÷२० दिन छँदै दरखाने भनेर ठूल्ठुला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ,” उहाँले भन्नुभयो “अहिले त दरखान तिज आउनुभन्दा १५ दिन अगाडिनै सुरु गर्छन्, दरमा न दही, न केरा नर खिर हुन्छ ।”

महिलाहरुमा तिज पर्वको छुट्टै रौनक र उत्साह हुन्छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदना पोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई । पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रमहरु आयोजना गर्ने क्रम बढ्दो छ । यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ ।

यस पर्वले महिलाहरुमा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ उर्जाको सञ्चार गराउने कार्य समेत गर्दछ । तर, पछिल्लो केही समय यता तीज पर्व हिन्दु संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बुढापाका बताउँछन् । तीज पर्वले महिलाहरुको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढंगले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनु पर्ने उहाँहरुको भनाई छ ।

ऐतिहासिक महत्व बोकेका संस्कृतिसँग जोडिएको तिज पर्वलाई मौलिक रुपमा बनाउन छोडिएको बडिगाड गाउँपालिका–५ की ममता खत्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिहरुले तीज पर्व पनि विकृत र बदनाम बन्न थालेको बताउनुहुन्छ । अहिले दर खाने र खुवाउने नाममा दारु खाने र खर्चिला भड्किला गतिविधि गर्दा संस्कृतिको अवमूल्यन भएको उहाँको भनाई छ ।

“बजारमा केही वर्षदेखिनै भड्किलो पर्व बनाउने संस्कार बसेको थियो, अहिले त गाउँमा समेत भित्रिन थाल्यो, बढ्दो आधुनिकताले गर्दा पनि होला पहिले गाउँमा मादल, खैजडी, बाँसुरी बजाएर नाचिन्थ्यो भने अहिले ठूला साउन बक्सहरु बजाएर नाच छन्, पुराना मौलिक गीत त झन् सुन्नै पाइँदैन,” उहाँले भन्नुभयो “कतिपय तीज गीत र अश्लिल रुपमा नाँचेका नाँचहरु सामाजिक संजालमा हाल्ने गर्दा त्यसले नयाँ पुस्तालाई पनि त्यतै तिर डोहो¥याएको छ ।”

खत्रीले परम्परादेखि पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर वत्र समेत बस्ने चलन समेत हराउन थालेको बताउनुभयो । संस्कृतिका नाममा हुने गलत गतिविधिले चाडपर्वको महत्वलाईनै विकृत बनाइदिएको उहाँको भनाई छ । संस्कृतिलाई समय सापेक्ष संस्कृतिकै रुपमा मनाउनु पर्ने तर, बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि गर्न नहुने उहाँले बताउनुभयो ।

“चाडपर्वलाई मौलिक रुपमै मनाउनु पर्छ, पहिलेपहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै वत्र समेत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ, चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिको निरुत्साहित गर्नुपर्छ, यस प्रति सरकारले पनि ध्यान दिनुपर्छ,” खत्रीले भन्नुभयो “यदि सरकाले चाडपर्वलाई भड्किलो रुपमै मनाउन दिने हो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *