तीजलाई मौलिक संस्कृतिको रुपमा विकास गर्नुपर्ने आजको आवश्यकता हाे : सांसद रोका

थम्मन थापा, गलकाेट
गण्डकी प्रदेशका सांसद दिलमया रोका (दिपा)ले तीजलाई मौलिक पर्वको रुपमा मनाउनु पर्ने बताउनु भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको परम्परागत तीज मेलालाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको भन्दै सांसद रोकाले चिन्ता व्यक्त गर्नुभयो । १० वर्षे सशस्त्र जनयुद्व, त्यसपछि देशमा भएका आन्दोलनमा महिलाहरुको भुमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको उहाँको भनाई छ जसको उदाहरण नेपालको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पुर्व सभामुख ओनसरी घर्ती प्रमाणित भएको उहाँको तर्क थियो ।

व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भुमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा गण्डकी प्रदेश सरकार दृढ रहेको बताउनु भयो । सासंद रोकाले गण्डकी प्रदेश सरकारबाट विनियोजित रकम ११ लाख ७२ हजारको लागतमा निर्मित संस्थाको पक्की मञ्चको समेत समुदघाटन गर्नुभएको छ ।

मेलामा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १० समुहको सहभागिता रहेकोमा जनहित माध्यमिक विद्यालय मल्म प्रथम, एकता आवसीय माध्यमिक विद्यालय हरिचौर द्वितिय, द कल्चरल डान्स एकेडेमी आँगाखेत तृतिय, जनजागृति मावि काँडेवास र सिर्जनशील आमा समूह आँगाखेत सान्तवना भएका छन । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुने दुई समूहले ५ र ५ हजार प्राप्त गरेका थिए ।

सो अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु जुना श्रीस, अमृता नेपाली, ईश्वर सिंहको सांगितिक प्रस्तुती रहेको थियो । मेलामा प्रायोजक, सहयोगदाता, संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरु लगायतलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

तीज मेला नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सबिता मरासिनीको अध्यक्षता, सदस्य थुमकुमारी थापाको स्वागत, सचिव भुमा खडका र सदस्य खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *