गुमनाम बालबालिका, बेखबर सरकार

सम्पादकीय
बालबालिका देशको कर्णाधार अर्थात् भोलिको देश बनाउने आधार । बालबालिका उमेर भनेको सबै भन्दा संवेदनशील, सुखद र चञ्चल अवधि हो । यो अवधिमा खेलिने खेल, गरिने रंग रमाइलो, बेप्रवाह खुसी, आनन्द सायदै त्यसपछि मानिसले लिन्छ होला । तर, यही उमेरमा देखिने चञ्चलता, अज्ञानता लगायतका कारण बालबालिकाबाट फाइदा उठाउन खोज्ने व्यक्ति, गिरोह लामो समयदेखि सक्रिय छ । जसका कारण बालबालिका अपहरणदेखि किनबेच, ज्यान लिने सम्मको जघन्य अपराधका घटना पनि हुने गरेको छ । नेपालमा बालबालिका हराइरहेको सूचनाहरु दैनिकजसो आइरहन्छन् । त्यसमा न्युन संख्यामा मात्रै भेटिने गरेको सरकार तथ्यांक छ ।

बालबालिका हराउनेमा संघीय राजधानी काठमाडौं सहित ठुला सहरहरु मात्र होइन, दुरदराजका गाउँहरुबाट पनि बालबालिका हराइरहेका छन् । सम्पर्क विहीन बालबालिकाको खोजीका लागि परिवार र आफन्त मात्रै होइन, राज्यका सम्पूर्ण निकाय परिचालन भएको देखिन्छ । तर, कहीँ–कतै फेला पर्न नसकेको नमिठो विगत र वर्तमान छ । राष्ट्रिय बालअधिकार परिषद्को पछिल्लो तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा १६ हजार सात सय ८५ बालबालिका बेपत्ता भएका छन् । जसमा बालिकाको हिस्सा ७७.९९ प्रतिशत अर्थात् ११ हजार नौ सय १६ छ । पछिल्लो १६ वर्षमा ३६ हजार बालबालिका बेपत्ता भए । जसमध्ये ३६ प्रतिशत अर्थात् १३ हजारको अत्तोपत्तो लागेको छैन । बेपत्ता हुनेमा बालिका धेरै छन् । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांक विश्लेषण गर्दा प्रत्येक दिन १३ बालबालिका बेपत्ता हुने गरेको छ । यसरी बेपत्ता भइरहेका बालिका कहाँ छन् ? कतै उनीहरूविरुद्ध जघन्य, आपराधिक क्रियाकलाप त भइरहेको छैन ? यसको यथोचित उत्तर आजको दिन सम्म कसैसँग छैन ।

पछिल्लो समय त नेपाली समाजमा चेतना, जागरण बढ्दो छ । नयाँ व्यवस्था स्थापित छ । सरकारी संयन्त्रहरु पनि सोही किसिमको समय अनुकुल विकास र विस्तार गरिएको छ । र पनि बालबालिका हराउने दर प्रत्येक वर्ष ३० प्रतिशतले वृद्धि भइरहेको तथ्यांक देखिनु दुर्भाग्यपूर्ण कुरा हो । नेपालमा आखिर बालबालिका किन र कसरी हराइरहेका छन् भनेर यसका बारेमा गहन खोज, अनुसन्धान हुन सकिरहेको छैन । प्रहरी रिपोर्ट अनुसार केही अपहरण चन्दाका लागि, केही बिक्री गरेर पैसा असुली, केही आर्थिक, पारिवारिक कारण र कोही रोजगार र अवसरको खोजीका क्रममा पनि बालबालिका बेपत्ता भएको देखिन्छ । जे जसरी बेपत्ता भएका हुन्, त्यसको तत्काल कारण र खोजी हुन नसक्दा अप्रिय घटना र अपराधले प्रश्रय पाइरहेको देखिन्छ । १६ वर्षमा हराएका ३६ हजार ६ सय १२ मध्ये २३ हजार दुई सय ५९ बालबालिका मात्रै फेला परेका छन् । १३ हजार तीन सय ५३ को पत्तो छैन । कतै घरेलु मजदुर या मनोरञ्जन क्षेत्र र यौनबजारमा यौनदासी बन्न विवश पो छन् कि ? सरकार र यसका निकायले गम्भिरतापूर्वक कदम चाल्नुपर्छ । र बालबालिकाको संवेदना माथिको खेलवाड र मजाक बन्द गरिनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *