भुकम्प पछि मुहार फेरेको रायडाँडाको महाविद्याजन


–खेमराज गौतम, बागलुङ

वि.स. २०७२ साल यता महाविद्याजन माध्यामिक विद्यालयमा बिहानको प्राथना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भुकम्पले थिलो थिलो पारेको थियो ।

बागलुङ नगरपालिका–११ रायडाँडा स्थित महाविद्याजन माध्यामिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती ।

तर भुकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भुकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । अहिले विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भएपनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानध्यापक राम बहादुर केसीले जानकारी दिनुभयो ।

“२०५३ सालमा डिसिआरडिसि संस्थाले बनाएको १० कोठे भवन भुकम्पले पुरै क्षति पु¥यो, एक कक्षा देखि १२ कक्षा सम्म पढाई हुँने विद्यालयमा जम्मा ६ कोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाई चलाइयो” प्रधानध्यापक केसीले भन्नुभयो “विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुँने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले ८ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४ कोठा गरी १२ कोठा मात्रै विद्यालय भुकम्पपछि पुननिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठन पाठन भइरहेको छ ।”

भौगोलिक रुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भएपनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदान सहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ ।

२०७२ सालपछि भुकम्पले विद्यालयमा क्षति पु¥याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउदै आएको विद्यालय पुननिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँधुरो जग्गामा रहेको विद्यालय भुकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ ।

२०५३ सालमा निर्माण भएको १० कोठे भएपन भुकम्पले पुरै क्षति बनाएको थियो । पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा अन्र्तगत रु. एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार÷चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालयनै खारेज भइसकेको छ ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २ कोठा भवन रु.१८ लाखको लागत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा २ कोठा आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानध्यापक केसीले बताउनुभयो ।

विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षा समेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुननिर्माण सकिएको बताउदै बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताउनुभयो ।

“मेरो पहिलो कार्यकालदेखि थालिएको पुननिर्माण अहिले दोस्रो कार्यकालमा पुरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसावले अध्यापन गराउने लक्ष्य छ” गौतमले भन्नुभयो “विद्यालयमा प्राथना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।”

विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको ज्ञानेन्द्र गौतमले बताउनुभयो । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिडेर विद्यालय आउने विद्यार्थीहरु समेत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *