तमानखोला गाउँपालिकाको आफ्नै पालिका गान

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालकाले जिल्लामै पहिलो पटक आफ्नै पालिका गान बनाएको छ । बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर पालिका गान बनाएको हो ।

गानको पालिका शब्द रचना खोलेस्बाङ आधारभूत विद्यालयकी शिक्षिका बिला कुमारी घर्ती मगरले गर्नु भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुल्ला गरेको थियो । १२ जनाले शब्द लेखेकोमा घर्तीको शब्द गाउँपालिकाले छनो गरेको अध्यक्ष बुढा मगरले बताउनुभयो ।

“गाउँपालिकाले पालिका गानका लागि शब्द रचना गर्न सूचना जारी गरेको थियो, १२ जनाले शब्द रचना गर्नु भएकोमा खोलेस्बाङ आधारभूत विद्यालयकी शिक्षिका बिला कुमारी घर्ती मगरले रचना गर्नु भएको शब्द चयन गरेका छौँ, अझै केही मिलाउन बाँकी छ, अन्यले पनि राम्रो शब्द रचना गर्नु भएको थियो,” अध्यक्ष बुढा मगरले भन्नुभयो ।

अध्यक्ष बुढा मगरले पालिकको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताउनुभयो । उहाँले गीतमा तमानखोला गाउँपालिका भित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरु समावेश गरेको बताउनुभयो । अहिले गीतमा स्वर र संगीत भर्ने काम भइरहेको जानकारी दिनुभयो ।

“गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो “गीतको अझै केही परिमार्जन गर्नु पर्ने छ, संगीत भर्ने लगायतका काम हुँदै छ ।”

गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उहाँको भनाई छ । भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएको हुँदा सोही अनुसारको भिडियो बनाउने अध्यक्ष बुढा मगरले बताउनुभयो ।

यस्तो छ पालिका गान
तमानखोला गाउँपालिका हाम्रा पहिचान ।
सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान ।।
तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी ।
सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी ।।
ढोमाई थान, भूमे थान, धर्म संस्कृति ।
परम्परा जोगाउनु छ, हटाइए विकृति ।।
एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ ।
मिलिजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ ।।
कोही छैनौँ पराई हामी सबै समान ।
सबको साझा उद्देश्य छ, समुन्नत तमान ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *