विकट गाउँमा स्वास्थ्यको सहज पहुँच


आदर्श अनलाइन, बगालुङ

बागलुङको सबैभन्दा दुर्गम मानिन्छ तमानखोला । भौगालिक हिसाबले निकै विकट मानिने तमानखोला गाउँपालिकामा पाँच वर्ष अगाडि तीन वटा मात्रै स्वास्थ्य चौकी थिए । स्वास्थ्य चौकीमा सामान्य औषधी पाउन पनि मुस्किल हुन्थ्यो । स्थानीय बिरामी पर्दा स्वास्थ्य संस्थाभन्दा धामी झाँक्रीकोमा पुग्थे । अस्पताल जानै परे घण्टौको यात्रा गरेर बुर्तिबाङसम्म झर्ने गर्थे ।

तर अहिले गाउँपालिकाको सबै वडामा स्वास्थ्य संस्था छन् । छ वटा वडा रहेको तमानखोलामा तीन स्थानमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र, तीन स्थानमा सामुदायिक स्वास्थ्य इकाई र तीन स्थानमा स्वास्थ्य चौकी सञ्चालनमा छन् । स्थानीयहरु पनि धामी झाँक्री खोज्न छोडेर स्वास्थ्य संस्थामै पुग्न थालेका छन् । अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेपछि स्थानीयसमेत खुसी भएका छन् ।

“हाम्रो पाला ताका बिरामी परे धामी झाँक्री खोज्ने गर्थे, अहिलेको जस्तो अस्पतालहरु थिएन, गाउँमा कसैलाई ठूलै बिमार लाग्यो भने, डोकोमा बोकेर अस्पताल लग्थे, अहिले गाउँमै अस्पताल बनेको छ,” स्थानीय चन्द्रमाला विकले भन्नुभयो “ज्वरो आयो भने, काँसो लाग्यो भने उत्ति बेलै औषधी पाईहालिन्छ, अहिले त धेरै सुविधा भएको छ, धामी झाँक्री खोज्न पर्दैन ।”

साबिकका तमान, बोङ्गादोभान र खुङ्खानी गाविस मिलेर बनेको तमानखोलामा पहिले तीन वटा स्वास्थ्य चौकी भए पनि स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको चन्द्रमालाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा ज्वरो आउँदा उपचारको लागि पनि घण्टौँ लगाएर बुर्तिबाङ पुग्ने गरेको स्मरण गर्न भयो । उहाँले गाउँमा कोही सिकिस्त भए डोकोमा बोकेरै अस्पताल पु¥याएको अनुभव सुनाउँदै त्यसरी अस्पता लैजाँदा कतिको बाटोमै ज्यान समेत गरेको बताउनुभयो ।

“अहिले कोही सिकिस्त बिरामी भयो भने नजिकको अस्पतालमा चेक जाँच हुन्छ, यहाँ नभए अर्को अस्पतालमा लैजान भनिहाल्छन्, उति बेला त गाउँमा कोही बिरामी भए भने सिकिस्त नहुँदासम्म घरमै सुत्ने, सिकिस्त भएपछि डोकोमा बोकेर अस्पतलामा पु¥याउँने गथ्र्यौँ, त्यसरी अस्पताल लग्दै गर्दा कतिको बाटोमै मृत्यु भयो, कोही निको भएर आए,” उहाँले भन्नुभयो “अब त्यस्तो समस्या गाउँलेले भोग्न पर्दैन होला, त्यस्तो दिन आउँदैन होला ।”

तमानखोला गाउँपालिका–५ का मिनबहादुर सिर्पालीले गाउँमा स्वास्थ्य संस्था खुलेपछि आफूहरुलाई उपचार गर्न निकै सहज भएको बताउनुभयो । उहाँले सामान्य चोटपटक लाग्यो भने उपचारका लागि गाउँपालिकाको केन्द्र बोङ्गादोभान जानु पर्ने समस्या हटेको बताउनुभयो । उहाँले स्वास्थ्य उपचारका लागि नजिकमा अस्पताल नहुँदा वर्षौँ दुःख पाए पनि अहिले सहज भएको बताउनुहुन्छ ।
“दुर्गम गाउँमा छौँ, बिरामी परे पनि टाढा जानु पथ्र्यो, केही वर्ष भयो, अहिले गाउँमै उपचार गर्न पाएका छौँ, यसले यहाँका सयौँ जनतालाई सुबिस्ता दिएको छ, पहिले त सानो घाउ भयो भने, चोटपटक लाग्यो भने बोङ्गादोभान जान पथ्र्यो, अहिले गाउँमै उपचार हुन्छ” सिर्पालीले भन्नुभयो “गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यान गुमाए, अहिले त बिरामी हुँदा बित्तिकै स्वास्थ्य चौकी पुगिहाल्छन् र यहाँ उपचार हुन सकेन भने ठूलो अस्पतालमा गएर उपचार गराउँछौँ ।”

पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिकहरु अहिले आधा घण्टामै आउन सक्छन् । गाउँपालिकाले वडा नम्बर ६ वडाको नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ भने वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको छ ।
गाउँपालिका हुनुभन्दा पहिले वडा नम्बर १ को बोङ्गादोभान, वडा नम्बर ३ को तमान र वडा नम्बर ५ को खुङ्खानीमा मात्रै स्वास्थ्य चौकी थियो । पालिकाले सामुदायिक स्वास्थ्य इकाई र प्राथमिक स्वास्थ्य इकाई स्थापना नगर्दा सम्म तमानखोलावासीले यी तीन वटा स्वास्थ्य चौकीबाट मात्रै सेवा लिनु पर्ने अवस्था थियो ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले आफूले पहिलो कार्यकालको सुरुवातदेखिनै स्वास्थ्य र शिक्षामा प्राथमिकता दिएको भन्दै अहिले विस्तारै सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँले दुर्गमको गाउँपालिका भएको हुँदा नागरिकलाई शिक्षित र स्वस्थ राख्नका लागि शिक्षा र स्वास्थ्य बढी लगानी गरहेको हुँदा अहिले यी क्षेत्र सुधार हुँदै गएको बताउनुभयो । “हाम्रो पालिका भौगोलिक रुपले निकै पछाडि परेको छ, पछाडि पर्दा यहाँको स्वास्थ्य र शिक्षाको अवस्था पनि निकै कमजोर थियो, हामी आएपछि केही सुधार भएका छन्, अझै सुधार हुँदै जाने प्रक्रियामा छन्,” अध्यक्ष बुढा मगरले भन्नुभयो “नागरिकको चेतना स्तरको वृद्धि र उनीहरुलाई स्वस्थ राख्ने हाम्रो दायित्व भएको हुँदा अहिले सबै वडामा स्वास्थ्य संस्थाहरु स्थापना भएका छन्, कोही पनि नागरिकले आधा घण्टाभन्दा बढी हिँडेर स्वास्थ्य उपचार गर्नु पर्ने छैन, धेरैलाई पायक पर्ने ठाउँमै स्वास्थ्य संस्था संचालन गरेका छौँ ।”

उहाँले आम नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको भन्दै अब कोही पनि सामान्य उपचारका लागि घण्टौ लगाएर पुग्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आफू आउनु पूर्वको अवस्थालाई स्मरण गर्दै अब कुनै पनि नागरिकले उपचार नपाएर मृत्युको मुखमा पुग्न नपर्ने बताउनुभयो ।

‘अब कोही पनि नागरिक स्वास्थ्य उपचार नपाएर मर्नु पर्दैन, गाउँ–गाउँमा स्वास्थ्य संस्था छन्, त्यहाँ उपचार हुन नसके स्वास्थ्य चौकी छन्, त्यहाँ पनि उपचार हुन नसके बल्ल ठूलो अस्पतालमा जानु पर्छ, पहिलेको जस्तो समान्य उपचारका लागि दिनभरी लागएर बुर्तिबाङ जानु पर्ने अवस्था अब हट्यो,” उहाँले भन्नुभयो “हामीले पालिकामै गुणस्तरीय स्वासथ्य सेवा प्रदान कसरी प्रदान गर्न सकिन्छ भनेर थप योजना पनि बनाइ रहेका छौँ ।”

तमानखोला गाउँपालिकामा पाँच शैयाको पालिका स्तरीय आधारभूत अस्पताल समेत निर्माण हुने भएको छ । त्यसका लागि जग्गा व्यवस्थापन भइरहेको अध्यक्ष बुढा मगरको भनाई छ । पालिका स्तरीय अस्पताल निर्माणपछि तमानखोलाको स्वास्थ्य क्षेत्र तप सुधार हुने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *