मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभयो ।

स्थानीय मेघराज पाण्डेले निःशुल्क दिएको चार रोपनी जग्गामा नयाँ भवन निर्माण गर्न थालिएको हो । नयाँ भवनको शिलान्यास पछि उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । रु. एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।

२०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मुलपानी स्वास्थ्यचौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिदा असहज भएकाले नयाँ भवन संगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडा अध्यक्ष मेघराज शर्माले जानकारी दिनुभयो ।

“स्वास्थ्य चौकी सडक भन्दा केही तल भएकाले विरामीलाई बोकेर लैजानु पर्ने अवस्था छ, पाङ्गमैत्री भवन बन्न थालेको छ निरन्तको पहल र समन्वयका कारण स्थानीयले दिएको निःशुल्क जग्गामा भवन निर्माण थालिएको हो” शर्माले भन्नुभयो “भवन निर्माण पछि बर्थिङ सेन्टर र प्रयोगशाला सेवा थप गर्ने योजना छ ।”

अहिले सेवा दिइरहेको स्वास्थ्यचौकीको भवन चर्केको छ भने पानी चुईने समस्या हालै बागलुङ नगरपालिकाको सहयोगमा टालिएको छ । २०५२ सालमा स्थापना भएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी भएपनि भवन साँघुरो भएका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन समस्या हुँने गरेको छ ।

गर्भवती जाँच र परिवार नियोजनको परिक्षण र सल्लाहदिनका लागि गोप्य कोठा समेत नभएको स्वास्थ्यचौकीका इन्चार्ज शर्माले बताउनुभयो । दुई तलाको पक्की भवन निर्माण पछि स्वास्थ्य सेवा प्रदान गर्न सहज हुँने र सदरमुकाम पुग्ने विरामीलाई समेत यही उपचार गर्न सकिने स्वास्थ्य चौकीको अपेक्षा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *