मुद्दाको बर्गीकरण र प्रविधिको प्रयोगले सहज बन्दै न्याय सम्पादन


खेमराज गौतम, बागलुङ

अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा एक वर्ष नाघेका जम्मा एक थान मात्रै मुद्दा छ । अदालतमा पुराना मुद्दा फछ्यौटले तिब्रता पाएसंगै पुराना मुद्दाको संख्या ह्वातै घटेको छ । न्याय सम्पादनमा मुद्दाको प्रकृतिको आधारमा वर्गिकरण र प्रविधिको प्रयोगले न्याय सम्पादन छिटो र सरल बन्दै आएको छ । यस अदालतमा एक वर्ष भित्रका बाँकी जम्मा १११ मुद्दा मात्रै छन् ।

अदालतामा शुरु मुद्दा र पुनरावेदन भएर आएका ९९, रिट निवेदन ७, फुटकर निवेदन १ र प्रतिवेदन ४ गरी जम्मा १११ मुद्दा मात्रै गत वर्षबाट जिम्मेबारी सरेर आएका हुन् ।

अदालतले मुद्दाको प्रकृतिको आधारमा सरलमार्गमा रहने मुद्दालाई ६ महिना भित्र, सामान्य मार्गमा रहने मुद्दालाई एक वर्ष भित्र, विशेष मार्गमा रहने मुद्दालाई अठार महिना र निवेदन तथा प्रतिवेदनहरुलाई एक महिना भित्रै फछ्यौट गर्ने लक्ष्य अनुसार पुराना मुद्दाको संख्यामा कमी आएको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधिस कृष्ण गिरीले जानकारी दिनुभयो । न्यायाधिस गिरीका अनुसार चालु आर्थिक वर्षमा ३७० मुद्दा दर्ता हुँने र २४० मुद्दा फछ्यौट गर्ने लक्ष्य रहेकोमा भदौ मसान्त सम्म ४२ मुद्दा दर्ता भएको छ भने लगत मुद्दा सहित भदौं मसान्त सम्म ६१ मुद्दा फच्छ्यौट भइसकेको छ ।

“अदालतले न्याय सम्पादनमा पारदर्शी र प्रविधिमैत्री गराउदै लैजादा न्याय सम्पादन छिटो र छरितो भएका कारण न्याय माग्न आउनेहरुलाई समय र खर्च दुबैको बचत भएको छ” न्यायधिस गिरीले भन्नुभयो “हामीले अदालतको वेभसाइट सञ्चालन गर्ने, सूचना पाटी र सूचना र सहायता कक्ष स्थापना गर्ने, प्रत्येक एक महिनामा एक दिन मिट द जज कार्यक्रम गर्ने, सूचना अधिकारीको व्यवस्था गर्ने, एसएमएसबाटै मुद्दाको विषयमा जानकारी दिने फैसलाको नक्कल खाममा अदालतका सेवाको विषयमा जानकारी दिने र वैतनिक कानून व्यवसायीको व्यवस्थापन गर्ने गरेका छौं ।” न्यायधिस गिरीका अनुसार अदालत भित्र स्वयंसेवीको व्यवस्था, निश्चित प्रकृतिका सेवाहरु एक घण्टा भित्रै उपलब्ध गराउने, अनलाईन तारिखको व्यवस्था, सेवाग्राही मैत्री कर्मचारी लगायतका कारण न्याय सम्पादन सरल बन्दै आएको र जनतालाई अदालत प्रतिको विश्वास बढ्दै आएको छ ।

जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्नका लागि न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेशी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ ।

अदालतमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार समेत गर्ने गरेको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्र भुषालले जानकारी दिनुभयो ।

भुषालका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाऊँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको बताउनुभयो ।

अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेशी सूची, साप्ताहिक पेशी सूची, पूरक पेशी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राख्दा न्यायालय पारदर्शी बनेको छ ।

मुद्दाको विवरण सफ्टवयरमा भर्ना साथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटको विषयमा अन्तक्र्रिया गरिएको जस्कारण अदालत र जनताको सम्बन्ध नजिक हुँदै आएको रजिष्ट्रार भुषालको भनाई छ ।

उहाँका अनुसार मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेशीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ ।

उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । डिजिटल अभिलेख राख्दा अन्य अदालतबाट मिसिल झिकाउँना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीच समेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ ।

सेवाग्राही मैत्री अदालतका लागि अदालत परिसरमा शुद्ध चिसो र तातो पानीको व्यवस्था, सावुन र स्यानिटाइजरको व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार सामाग्रीको व्यवस्थापन, श्रव्यदृश्य मार्फत मुद्दाको सुनुवाई र आफूलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने व्यवस्था गरिएको छ । अदालतले सार्वजनिक सरोकारका रिट तथा मुद्दामा पत्रकारहरुलाई समेत सहभागी गराउने परिपाटीको शुरुवात गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *