गाईघाट झरना जाने पुल बगाएपछि आगन्तुक मर्कामा

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा पर्यटकीय स्थल मध्येको गाईघाट झरना पनि एक हो । गलकोट र ताराखोलाको सीमानामा पर्ने गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । तर, गत साउन महिनामा ताराखोलामा आएको बाढीले झरनासम्म पुग्ने झोलुङ्गे पुल बगाई दिएपछि पर्यटकलाई समस्या परेको छ ।

निकै पुरानो र जीर्ण अवस्थामा रहेको पुल खोलाले बगाएपछि वरपारमा समस्या भएको हो । झरनासम्म पुग्न ताराखोला तर्नु पर्छ । टाढा–टाढादेखि झरनासँग रम्न आएका आगन्तुकहरु खोला वारीबाटै हेर्न बाध्य छन् । स्थानीयले खोला तर्नका लागि फड्के त निर्माण गरेका छन्, तर फड्के तर्न निकै जोखिमपूर्ण हुन्छ ।

ताराखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष यमबहादुर श्रीसले अहिले सामान्य मान्छे वरपारका लागि फड्के निर्माण गरेको र यही वर्ष भित्रै पुल निर्माण गर्ने बताउनुभयो । उहाँले पुल निर्माणका लागि ताराखोला गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको र प्रदेश र केन्द्र सरकारसँग पनि केही बजेट माग गरेर पुल निर्माण गर्ने बताउनुभयो ।

“बर्खामा पनि पर्यटकहरुको आगमन निकै उल्लेख्य थियो, जब गत साउन महिनामा खोलाले पुल बगाई दियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या बनाइदियो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ,” अध्यक्ष श्रीसले भन्नुभयो “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने छौँ, जति सक्दो पर्यटकलाई भित्राउने प्रयास हामी गरि रहेका छौँ ।”

आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेँदमा पौडिने पोखरी, त्यस वरपर बगैचा र विश्राम स्थलहरु निर्माण गरेको बताउनुभयो । “झरना पहिलेदेखिनै राम्रो थियो, हामी जनप्रतिनिधि भएर आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ,” अध्यक्ष श्रीसले भन्नुभयो “झरना वरपर बगैचा निर्माण गरेका छौँ, फेँदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचनाहरु पनि बिस्तारै बनाउने तयारीमा छौँ ।”

कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउन महिनादेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाई छ ।

झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्राउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नु पर्ने बताउनुभयो ।

घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना निकै ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले निकै धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।”

उहाँले वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीहरुले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेँद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थलहरु निर्माण गर्न सके अझै बढीलाई भित्राउन सकिन्थ्यो होला,” घर्तीले भन्नुभयो ।

गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटोहरु खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालहरुमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न” पौडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *