नयाँ गन्तव्य खोज्दै बरेङ

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बरेङ गाउँपालिकाले नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा जुटेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले निकै संभावना बोकेको बरेङमा नयाँ गन्तव्यको खोजी, पूर्वाधार निर्माण र प्रचारप्रसार गर्न तीव्र रुपमा लागेको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले अघिल्लो वर्षहरुमा धेरै गन्तव्यहरुमा पूर्वाधार निर्माण गरेर आगन्तुकलाई भित्राउन थालेको भन्दै यस पटक वडा नम्बर ४ मा रहेका छहरेखोला झरना र भैँसेखोला झरनाको विकासमा जुटेको बताउनुभयो ।

उहाँले यहाँसम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतिक्षालयहरु निर्माण गर्न थालिएको भन्दै यी दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको बताउनुभयो । गत वर्ष पनि झरना प्रवद्र्धनका लागि १० लाख विनियोजन गरेको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

“बरेङको पर्यटन विकासका लागि हामीले सुरुको कार्यकालदेखिनै काम गर्दै आएका थियौँ, अघिल्लो कार्यकालमा कौडेको धूरी, सत्यवती मन्दिर लगायतका धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण ग¥यौँ, अहिले ति गन्तव्यहरुमा आन्तरिक पर्यटक आउन थालेका छन्,” अध्यक्ष शर्माले भन्नुभयो “गत वर्षदेखि नयाँ गन्तव्यहरुको पहिचान गर्ने र प्रवद्र्धन गर्ने हिसाबले लागेका छौँ, वडा नम्बर ४ मा दुई ओटा झरना छन्, ति झरनाहरुको प्रवद्र्धनका लागि हामी निरन्तर लागेका छौँ ।”

कतिपय गन्तव्यहरु अहिले निकै चर्चामा छन् त कतिपय ओझेलमै रहेका छन् । पूर्वाधार विकास तथा प्रचारप्रसारको अभावमा ओझेलिएका गन्तव्यहरुको गाउँपालिकाले प्रवद्र्धन गर्न थालेको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको हो ।

पर्यटन मार्फत बरेङमा समृद्धि हाँसिल गर्न सकिने हुँदा यस क्षेत्रको विकासलाई जोड दिएको अध्यक्ष शर्माको भनाई छ । गाउँपालिका भित्रका सत्यवती मन्दिर, कालीलेक, सद्धिथान मन्दिर, कौडे लेक, छहरेखोला, भैंसीखोला झरना, भित्रिवन, भातेपोखरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उहाँको भनाई छ ।

उहाँले कौडेको धूरी, सत्यवती मन्दिरमा पूर्वाधार निर्माण गरि सकेको भन्दै प्रचारप्रसारलाई बढी जोड दिएको बताउनुभयो । “कौडेको धूरी र वडा नम्बर ३ मा रहेको साग्दी स्थित सत्यवती मन्दिरमा गाउँपालिकाले लाखौँ खर्च गरि सकेको छ, यहाँ रके वर्ष हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउन समेत थालेका छन्, सत्यवती निकै धार्मिक महत्व बोकेको मन्दिर भएर पनि होला पूर्वाधा निर्माणपछि धेरै दर्शनार्थी आउन थालेका छन्, यता कौडेको धूरीमा पनि मान्छेहरु पुग्न थालेका छन्, त्यहाँसम्म पुग्ने पदमार्ग पनि निकै राम्रो बनेको छ ।”

गाउँपालिकाले धार्मिक पर्यटकीय स्थलको विकाससँगै कला संस्कृतिको समेत संरक्षणमा जुटेको अध्यक्ष शर्माको भनाई छ । उहाँले बरेङ गाउँपालिका विभिन्न जातजातिको संगम स्थल भएको भन्दै उनीहरुको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरु लागेको बताउनुभयो ।

“हाम्रो पालिकामा थुप्रै जातजातिहरु बस्नुहुन्छ, उहाँहरुको आफ्नै कला, संस्कति, परम्परा र रीतिरिवाज छ, पछिल्लो समय त्यस्ता संस्कृतिहरु हराउँदै जान थालेका छन्, हामीले त्यस्ता कला संस्कृतिलाई संरक्षण गरेर पर्यटनसँग जोड्न खोजेका छौँ” उहाँले भन्नुभयो “त्यस्ता संस्कार तथा संस्कृति संरक्षणका लागि यस वर्ष गाउँपालिकाले थोरै भए पनि बजेट विनियोजन गरेको छ, आगामी वर्षहरुमा पनि यसले निरन्तरता पाउने छ ।”

गाउँपालिकाले मौलिक कला संस्कृति, भेषभूषा र परम्परालाई संरक्षणका लागि यस वर्ष दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उहाँको भनाई छ । उहाँले पुराना संस्कृतिहरु नयाँ पुस्ताले सिके मात्रै लामो समयसम्म संक्षित हुन सक्ने भन्दै युवा पुस्तालाई पनि चासो दिन पालिकाले प्रेरित गरि रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *