बागलुङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले चाडवाड लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । हिन्दु धमावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली सहितका विभिन्न चाडपर्वहरु नजिकिदै आएपछि हुन सक्ने संभावित घटना, दुर्घटना रोक्ने गरी प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको हो ।

चाडवाडको समयमा मानिसहरुको आउजाउ, खरिद विक्रि तथा मनोरञ्जनका कार्यहरु बढी हुने भएकाले संभावित घटनाहरुलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना लागु गरेर नागरिकले ढुक्क भएर चाड पर्व मनाउने बातावरण तयार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी नागरिकको २४ सै घण्टा सुरक्षामा खटिएको भएपनि ठूला चाडवाडको समयमा विशेष ध्यान दिन जरुरी रहेकाले विशेष सुरक्षा योजना लागु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले बागलुङ प्रवेशद्वार मालढुङ्गा र खर्वाङमा विशेष प्रहरी परिचालन गर्ने, चेकजाँचमा कडाई गर्ने, मानिसको भीडभाड हुँने वसपार्क, जीप पार्क लगायतको क्षेत्रमा प्रहरी परिचालन गर्ने र नागरिकले ढुक्क भएर चाडपर्व मनाउने गरी सुरक्षाको व्यवस्थापन मिलाइएको ज्ञवालीको भनाई छ ।

“चाडवाडको समयमा यात्रु ठगिएको, चोरी भएको र मेला पर्वमा झगडा भएको गुनासो आउने गर्दछ, त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था दिलाउछौं, लगत्तै निर्वाचन समेत आउने हुनाले प्रहरी चनाखो छ” प्रहरी उपरिक्षक ज्ञवालीले भन्नुभयो “यात्रुले ठगिएको अवस्थामा तथा चोरी भएमा तुरुन्तै प्रहरीलाई खबर गर्न सक्नेछन् त्यसका लागि प्रहरीले एउटा समूह बनाएर परिचालन गर्ने छ ।”

बसहरुमा लागुऔषध, पटका, अवैध सामाग्री भित्राउन सक्ने भएकाले चेकजाँचलाई कडाई गर्न थालिएको छ भने मापसे गरेर सवारी चलाउनेलाई कडा कार्वाही गर्न जिल्लाका सबै प्रहरी चौकीलाई निर्देशन गरिसकेको प्रहरी उपरिक्षक ज्ञवालीले बताउनुभयो ।

यात्रुको बढी चाप भएको समयमा सवारी दुर्घटना हुन सक्ने तथा यात्रुले बढी भाडा तिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि साविकको भाडादरमा बढी भाडा मागिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय बागलुङले आग्रह गरेको छ ।

चाडबाडमा हुनसक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई रोक्न सुरक्षा योजना लागु गरीएको हो । जिल्लामा कार्यरत ४०० प्रहरी मध्ये केही प्रहरीलाई दशंै तिहार सुरक्षा योजना अन्र्तगत खटाइएको छ । प्रहरीको नेतृत्वमा यात्रु सहायतका कक्ष स्थापना गर्ने, विभिन्न ठूला सडक क्षेत्रमा रसरप्राइज चेकिङ गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन समेत गर्ने प्रहरीले जनाएको छ । यस्तै चाडवाडको समयमा आयोजना गरिएको मेला तथा महोत्सवमा प्रहरी परिचालन गरिने छ ।

यस्तै मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले चाड पर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरेर गृह मन्त्रालयमा पठाइसकेको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिनुभयो । उहाँले चाड पर्वको समयमा बजार अनुगमनलाई समेत तिब्रता दिन थालिएको बताउदै नागरिकहरुले आफू ठगिएको महशुस गर्दासाथ सुरक्षा निकायलाई खबर गर्न आग्रह गर्नुभयो ।

“कतिपय सुरक्षा योजनाहरु बाहिर ल्याउन हुदैन, बजार अनुगमनलाई बढाउछौं, यात्रु ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्ने छौं” प्रजिअ ढकालले भन्नुभयो “नागरिकले भएरहित वातावरणमा चाडपर्व मनाउनका लागि सुरक्षा निकायहरु हाई अलर्टमा राखिएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *