दसैँले फर्काएको गाउँको खुसी

आदर्श अनलाइन, बागलुङ
रोजगारी, बसाई सराई तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँहरु उजाडिएका छन् । गाउँका प्राय घरहरुमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढा–बुढी मात्रै छन् ।

१० वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । ११ जनाको परिवार रहेको कार्कीका श्रीमान वित्नुभयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उहाँ एक्लै हुनुभएको छ । उहाँमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढा बुढी मात्रै छन् । तर उक्त गाउँको खुसी दशै संगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले खुसी भएका छन् ।

दशैं शुरु भएपछि मैना कुमारी कार्की जस्तै बुढाबुढीको खुसी फर्केको छ । दशैं आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ ।

“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” कार्कीले भन्नुभयो “तर दशैं तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुसी फर्किएको छ ।”

यस्तै हर्क बहादुर जिसीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राख्नुभएको छ । उहाँले गाउँमा दशंै आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताउनुभयो ।

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा वृद्धि भएको छ ।

झार उम्रेका घर आगन समेत गोड मेल भएर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । “दशंैमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” कार्कीले भन्नुभयो “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं ।”

बसाईसराईले बन्द रहेको घरमा समेत अहिले दशैं मनाउन फर्केकाले सरसफाई गरेर चिटिक्क बनाएका छन् ।

अघि पछि गाउँको खुसीनै लुटिएपनि दशैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताउनुभयो । उहाँले बढ्दो शहरीकरणका कारण र बसाई सराईका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको बताउनुभयो ।

“अघिपछि गाउँ सुन्य शुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैं आएपछि गाउँ मात्रै भरिदैन गाउँको खुसी नै फर्कन्छ” कुँवरले भन्नुभयो “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टिका गाउँमै लगाउने भन्दै बजारमा घर भएकाहरु समेत गाउँ फर्कन्छन्, अघि पछि शुन्य गाउँ दशैं आएपछि चहल पहल हुन्छ ।” कुँवरका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको छ ।

नेपालीहरुको मुख्य चाडपर्वको रुपमा रहेको दशैं, शुभदिपावली छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् । गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् ।

दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाई गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुसी फर्कन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *