बागलुङ–२ मा मन्त्री पौडेललाई कति सहज ?

डम्मर बुढा मगर, बागलुङ
चुनावको मिति नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवार र विभिन्न दलका नेता कार्यकर्ता गाउँ–गाउँमा पुगेर मतदाता भेट्ने र भोट माग्ने गरि रहेका छन् । यसपाली बागलुङ क्षेत्र नम्बर २ को चुनाव निकै रोचक बन्ने देखिन्छ । यस क्षेत्रमा शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले र एमालेकी मञ्जु शर्मा चालिसे बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मन्त्री पौडेलले २०७४ को निर्वाचनमा यही क्षेत्रामा विजयी हुनु भएको थियो । त्यस बेला बाम गठबन्धन भएको थियो । पौडेलले नेपाली कांग्रेसका नरबहादुर पुनलाई ८ हजार ९ सय २२ मतान्तरले पराजित गर्नु भएको थियो । पौडेलले २८ हजार ८ सय २७ मत प्राप्त गर्दा पुनले १९ सय ९ सय ५ मत ल्याउनु भएको थियो । पौडेलको गृह क्षेत्र १ भए पनि क्षेत्र नम्बर २ बाट चुनाव लड्दै हुनुहुन्छ । अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नु भएका पौडेलले जन अपेक्षा अनुसार काम गर्न नसकेको स्थानीयको आरोप छ ।

फरक क्षेत्र र अघिल्लो कार्यकालमा राम्रो काम गर्न नसक्दा मन्त्री पौडेललाई यस पटक गाह्रो पर्ने सक्ने नेता कार्यकर्ता बताउँछन् । माओवादी केन्द्रका एक नेताले भन्नुभयो–“अघिल्लो निर्वाचनमा मन्त्री ज्यूलाई यहीँबाट हामीले नै जिताएर पठाएका हौँ, तर उहाँले पाँच वर्षसम्म जनचाहना अनुसार काम गर्न सक्नु भएन, यसपालीको निर्वाचनमा हामीले त हाम्रै क्षेत्रबाट उम्मेदवार बनाउनु पर्छ भनेर लागेका थियौँ, तर अहिले पनि उहाँ डाँडापारीबाटै आउनु भयो, राम्रो काम गरेको भए अहिले पनि उहाँको जित निश्चित हुने थियो ।”

चार गाउँपालिका र दुई नगरपालिका रहेको यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमोलेले एउटा मात्रै नगरपालिकाको प्रमुखमा जितेको थियो । ढोरपाटन नगरपालिकामा एमालेले जीत हात पारेको थियो भने निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका नेपाली कांग्रेसले र ताराखोला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धन नौँ हजार ९३० मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा गठबन्धनले २८ हजार ४३८ मत प्राप्त गरेको थियो भने एमालेले १८ हजार ५०८ पाएको थियो । ४८ वडा रहेको यस क्षेत्रमा नौ वटा वडा मात्रै एमालेले जितेको थियो भने अन्य वडा गठबन्धनले जितेको थियो ।

मन्त्री पौडलले अघिल्लो कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसक्दा केही मत कम आउन सक्ने धेरैको आँकलन छ । त्यसमाथि माओवादी केन्द्रका नेता तुल्सीराम अर्यालले बागी उम्मेदवारी दिएपछि पौडेललाई अर्को चुनौति थपिएको छ । पश्चिम बागलुङमा राम्रै प्रभाव राख्ने अर्यालले पौडेलको केही मत काट्न सक्ने देखिन्छ ।

पौडेलको प्रतिद्वन्द्वीको रुपमा रहनु भएकी एमालेकी उम्मेदवार मञ्जु शर्मा चालिसेले पनि सोचे अनुसार मत पाउन नसक्ने नेता कार्यकर्ता बताउँछन् । चालिसे गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनु् भएको दियो । चुनाव सकिएपछि उहाँ बालकोटमै पुगेर एमाले प्रवेश गर्नु भएको थियो ।

अवसरका लागि पार्टी अदलबदल गर्नेले विकास गर्न नसक्ने मतदाताको आरोप छ । यसै पनि बागलुङ क्षेत्र नम्बर २ मा कमजोर रहेको एमालेले पार्टीको टीका लगाएर टिकट दिएको छ । यसले पार्टी भित्र रहेर लामो समय संघर्ष गरेका नेताले टिकट नपाएपछि असन्तुष्ट बनेको एक नेताको भनाई छ ।

एमालेका ति नेताले भन्नुभयो–“दशकौँदेखि एमाले रगत पसिना बगाएका, संघर्ष गरेका नेताले टिकट पाएनन्, अस्ति भर्खर अर्को पार्टीबाट आएको मान्छेलाई टिकट दिनु न्यायोचित भएन, यसले संघर्ष गर्नु भएका नेतालाई चोट पु¥याएको छ, नेतृत्वको सही निर्णयले नेता कार्यकर्तामा वितलित आउन सक्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *