धान मासेर सुन्तला र कागती खेती


–खेमराज गौतम, बागलुङ

चार वर्ष अघि सम्म लहलह पहँेलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरीयाली छ ।

सिगानाका निर्वतमान वडा अध्यक्ष तथा पूर्व भारतीय सेना ४६ वर्षिय राजन जिसीले धान फल्ने खेतमा व्यवसायिक सुन्तला र कागती खेती शुरु गरेको चार वर्ष भयो । अहिले उहाँको सुन्तला बगानमा १३८ सुन्तलाका बोटमा फल लगाउन शुरु गरेको छ भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् ।

राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेति विस्तार गर्दा धेरैले खेतियोग्य जमिन मासेर रुख उमारेको समेत अड्कल काटे, तर व्यावसायीकरुपमा धान खेती भन्दा धेरै गुढा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गर्नुभएको छ भने परिक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी लगाउनुभएको छ ।

१६ वर्ष भारतीय सेनामा कार्यरत पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषि संगै पाउरोटी उद्योग र फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएका जिसीले पाउरोटी उद्योग बन्द गरेपनि अन्य कामलाई निरन्तरता दिनुभएको छ ।

१२ वर्ष अघि कर्मभूमि छोडेर अवकास जिवन बिताउन आउनुभएका जिसी अवकासपछि झनै आँट र जोसका साथ सामाजिक सेवा संगै व्यवसायकि कर्ममा लाग्नुभएको छ । जिसी २०७४को स्थानीय तह निर्वाचनमा सोही वडाको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो ।

“वडा अध्यक्षको कार्यकाल भरीमा सिगानाका जनतालाई ३५ हजार सुन्तलाका बिरुवा लगाउनका लागि विभिन्न अभियान चलाइयो, तर मेरै घरमा सुन्तला थिएन, यो बीचमा मैले सुन्तला खेतिका धेरै फाइदा बुँझे, अहिले सात रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु” जिसीले भन्नुभयो “धान खेती मासेर सुन्तला लगाउदा तत्काललाई भन्दापनि दीर्घकालिन रुपमा फाइदा पुग्छ, सुन्तलाकै बीचमा अन्य तरकारीी खेती समेत गर्दै आएको छु, फर्निचर उद्योग र कृषि खेतीबाट ८ जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छु ।”

खड्काले अवकास पछिको जीवन धेरैले आराम गरेर बिताउने गरेपनि आफूलेभने कृषि, उद्यम र सामाजिक कामलाई संग संगै लगेको बताउनुभयो । जिसीले परिक्षणका लागि लगाउनुभएको किबी खेती समेत सफल भएको बताउदै पहिलो वर्षनै किबीले राम्रो उत्पादन दिएको बताउनुभयो ।

कक्षा नौं र १० मा कृषि विषय अध्ययन गर्दाबाटै कृषिमा लगाव बसेको बताउदै जिसीले तीन रोपनी आफ्नै जग्गा र ४ रोपनी जग्गा खरिद गरेर सात रोपनी धान फल्ने खेतमा सुन्तला र कागती खेती गर्नुभएको हो । “धेरै सुन्तला तीन वर्ष पुरा भए, चार वर्षमा लागेका सुन्तलाले उत्पादन दिन थालेका छन्, कागती खेतिले दुई वर्ष पछि उत्पादन देला, किबी खेतिलाई बृद्धि गरेर पाँच रोपनी पु¥याउने लक्ष्य रहेको छ, सामाजिक क्षेत्रमा निरन्तर सक्रिय समेत हुँदा आफूले कृषि क्षेत्रमा भविश्य रहेको अन्यलाई सुझाव दिदै आएको छु ।” जिसीकी श्रीमती पुष्पा क्षेत्रीले सुन्तला र कृषि खेतीमा सघाउदै आउनुभएको छ । भारतीय सेनाका पूर्व हवल्दार जिसीले अरुलाई सुन्तला खेतिमा प्रेरित गर्न समेत आफूले सुन्तला खेती गरेको बताउनुभयो ।

जिसीको घरमा लुम्ले कृषि अनुसन्धान केन्द्रका विज्ञ समूह बस्ने क्रममा आफ्नो खेतमा सुन्तला खेतिका लागि उपयुक्त भएको सुझावका आधारमा आफू सुन्तला खेतिमा अग्रसर हुनुभएको छ ।

सुन्तला जोन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक दुई करोड भन्दा बढीको सुन्तला निर्यात हुनेगरेको सिगानाका अगुवा सुन्तला किसान राम बहादुर खड्काले बताउनुभयो । आगमी पाँच वर्ष भित्र सिगानाले सुन्तला विक्रि वापत वार्षिक रु. पाँच करोड भित्राउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र, बागलुङ नगरपालिका र सुन्तला जोन मार्फत अनुदानमा सुन्तलाका विरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरुले बताएका छन् । सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा विक्र गरेर दोब्बर आम्दानी लिन सक्ने गरी २० टन क्षमताको विद्युतीय शित भण्डार गृह समेत तीन वर्षदेखि सञ्चालनमा छ ।

सुन्तला खेतिबाट अन्नबाली भन्दा दोब्बर बढी नाफा कमाउन सक्ने भएपछि अहिले बागलुङका केही किसानहरुले धान फल्ने खेत मासेर धमाधम सुन्तला र कागती खेती विस्तार गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *