चिया खेती फस्टाउन थालेपछि रेशका कृषक उत्साहित

डम्मर बुढा मगर, बागलुङ
पाँच वर्ष अगाडि काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढोकेका थियो । तर अहिले ति पाखाबारीहरु चिया बगानमा परिणत भएका छन् । त्यहाँ पुग्ने जोकोहीलाई चिया बगानले आकर्षित गर्छ । चिया खेतीले पाखोबारी ढाकिपछि कृषकसमेत निकै उत्साहित भएका छन् । स्थानीयले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट थोरै विरुवा लिएर लगाएका थिए । चियाको विरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि कृषक हर्षित भएका छन् ।

चियाको विरुवा राम्रो हुँदै गएपछि स्थानीयले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको रुपमा यस गाउँ छनौट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार विरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरि तीन स्थानमा ५६ हजार विरुवा लगाएको उहाँको भनाई छ । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख विरुवा नर्खरीमा उत्पादन गरि रहेको बताउनुभयो । कार्की भन्नुहुन्छ–“सुरुमा के हुन्छ, कसो हुन्छ भन्ने थियो, परीक्षणका लागि सिरुबारीबाट थोरै विरुवा लिएर लगायौँ, निकै राम्रो भयो, हामीहरु पनि उत्साहित भएका छौँ, गाउँ भरी चिया खेती गर्ने उद्देश्यले अहिले तीन लाख विरुवा नर्सरीमा उत्पादन गरि रहेका छौँ ।”

कार्कीले हालसम्म करिब ४२ लाख रुपैयाँ खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयको जनश्रमदानबाट चिया खेती विस्तार भएको उहाँको भनाई छ । कार्कीले यो ठाउँ चिया खेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको विरुवाले उत्पादन दिने समय आएको उहाँको भनाई छ ।

“सुरुमा लगाएको विरुवाले उत्पादन दिने समय आएको छ, अब बैशाख जेठ महिना तिर यसलाई टिप्ने छौँ, चिया खेती राम्रो हुँदै जाँदा गाउँका कृषकहरुलाई पनि हर्षित बनाएको छ, गाउँका हरेक नागरिकलाई चिया खेतीमा जोड्न योजना बनाएका छौँ” कार्कीले भन्नुभयो–“सुरुवाति चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख विरुवा गाउँ भरी लगाउँछौँ ।”

स्थानीय भीमबहादुर थापाले सुरुमा विरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले विरुवा सप्रिँदै गएको भन्दै एक÷डेढ वर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो । थापाले भन्नुभयो–“सुरुमा विरुवा हुर्काउन कलिकति समस्या भयो, अहिले राम्रो हुँदै गएपछि हामीहरु खुसी भएका छौँ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रैछ, अब जताततै विस्तार गर्ने योजना छ ।”

थापाले चिया प्रशोधन गर्नका लागि मेसिन समेत गाउँमा ल्याएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका विरुवा लगाएको हुँदा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो । थापाले यसको संरक्षणका लागि बारबन्देज गर्नु पर्ने देखिएको बताउनुभयो । सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका कृषकहरु चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ ।

समुन्द्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटर सम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने २१ सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरि आयआर्जन माध्यम बनाई गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

अध्यक्ष लामिछाने भन्नुहुन्छ–“गाउँबाट मानिसहरु धमाधम बसाइँसराइ गरि बजार झर्न थालेका छन्, गाउँमा भएको खेतीयोग्य जमिन बाँझिन थालेका छन्, युवाहरु विदेश पलायन भइरहेका छ, उनीहरुलाई गाउँमै रोक्नका लागि हामीहरुले रोजगार सिर्जना गर्नै पर्छ, त्यही हिसाबले गाउँमा स्वरोजगारमुकल काम गरौँ भनेर सुरुवात गरेका छौँ, सुरुमा ‘ट्रालयल’का रुपमा केही विरुवा लगायौँ, तर पछि निकै राम्रो भयो, अहिले व्यवसायिक रुपमै खेती गर्न थालेका छौँ, अबको केही समयपछि उत्पादन पनि सुरु हुने छ ।”

अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका विरुवाले उत्पादख दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको विरुवा निकै राम्रो भयो, यसले कृषकलाई थप उर्जा मिलेको छ, धेरैले यो खेत ीगर्न तर्फ चासो देखाउनुभयो, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ” उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *