तेस्रो प्रयासमा खुल्यो संसदको ढोका

आदर्श अनलाइन, बागलुङ
नेपोलियम बोर्नापाटको एउटा चर्चित भनाई छ ‘जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।’ त्यसैले हार्नबाट नडराएका एक व्यक्ति तेस्रो प्रयासमा संसद भवन छिर्ने भएका छन् । प्रसंग हो बागलुङको । पटक–पटकको असफलतालाई आफ्नो सिकाईको रुपमा लिदै आउनुभएका बागलुङ कांग्रेस सभापती जित शेरचन तेस्रो प्रयासमा प्रदेश संसद भवन छिर्दै हुनुहुन्छ ।

दुई पटक सम्म पराजित शेरचन तेस्रो प्रयासमा जनताले उहाँलाई संसद अनुमोदन गरेका छन् । २०७४ को प्रदेश निर्वाचन र २०७६ को प्रदेश उप–निर्वाचनमा हार व्यहोर्नुभएका शेरचन २०७९ को प्रदेशसभा निर्वाचनमा विजयी हुनुभएको छ ।

“जीवन एउटा नदीको पानी जस्तै हो खोलामा बग्ने क्रममा कहिले पहाड संग ठोक्किन्छ त कहिले ढुङ्गा संग तर गन्तव्यमा पुग्न निरन्तर बग्न जरुरी छ, तेस्रो प्रयासमा संसद बनेको छु यसलाई सफलता भन्न सक्दिन मैले संसदमा पुगेपछि कामका आधारमा जनताले मुल्याङ्कन गर्नेछन्” नवनिर्वाचित प्रदेशसभा सदस्य शेरचनले भन्नुभयो “उत्पादनसंग जनतालाई जोडेर आम्दानी बढाउन सकेमा मात्रै प्रदेश सरकार बलियो बन्न सक्दछ, स्थानीय तहलाई संग संग जोड्ने पुलको रुपमा प्रदेश सकार अग्रसर हुन आवश्यक छ ।”

शेरचनले आफु निरन्तर राजनीति जीवनमा अगाढी बढेको भन्दै तेस्रो पटकमा संसद भवन छिर्न पाउदा जनताले आफ्नो यात्रामा थप बल पु¥याएको आभाष भएको बताउनुभयो । यताकता प्रदेश संरचनाको विषयमा धेरै प्रश्नहरु उठिरहेको पाइएको बताउदै शेरचनले प्रदेश सरकार बलियो बनाउन जनता उत्पादन संग जोडिन आवश्यक रहेको बताउनुभयो ।

“निर्वाचनका एजेण्डा परम्परागत भए, विकास संरचना पञ्चायती शैलीका भए, गुरु योजना बनाएर कृषिमा आधुनिकरण र पर्यटनमा फड्को संगै विकासका पूर्वाधार निर्माणमा लाग्नु आवश्यक छ” उहाँले भन्नुभयो “तेस्रो पटकमा संसद भए, तर सफलता–असफलता पाँच वर्ष पछिमात्रै पत्ता लाग्ला, जनताको सेवाका रुपमा सदैव राजनीतिमा छु, जनता समक्ष पुगेर गरेका बाँचा विर्सने छैन ।”

यस्तो छ शेरचनको राजनीतिक यात्रा

नेपाली कांग्रेस बागलुङका सभापति समेत रहनुभएका जित शेरचन २०७४ मा भएको प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो । राष्ट्रिय जनमोर्चाको बलियो क्षेत्रका रुपमा हेरिने पश्चिम बागलुङमा शेरचन पहिलो प्रयासमै असफल हुनुभयो । उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्ती ३ हजार बढीको फराकिलो मतान्तरका साथ विजयी हुनुभएको थियो । घर्तीले ११ हजार ८ सय ८४ र शेरचनले ८ हजार ६ सय २४ मत मात्रै प्राप्त गर्नुभएको हो ।

निर्वाचित भएका टेकबहादुर घर्तीको २०७५ मंसिर २७ गते निधन पछि रिक्त रहेका क्षेत्रमा सरकारले २०७६ मंसिर १४ गते उपनिर्वाचन गरायो । उपनिर्वाचनमा समेत शेरचन चुनावी मैदानमा आउनुभयो । तर शेरचन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीसँग पराजित हुनुप¥यो । शेरचनलाई जनमोर्चाका शाहीले २ हजार ९७ मतान्तरले पछि पार्दै दोस्रो प्रयास विफल बनाउनुभएको थियो ।

हालै सम्पन्न निर्वाचनमा समेत शेरचनले आफ्नो क्षेत्र भन्दा बाहिर टिकट प्राप्त गर्नुभएको थियो । तेस्रो पटक चुनावी मैदानमा आउनुभएका शेरचनलाई यसपटकको निर्वाचनमा दुई पटक हराउने राष्ट्रिय जनमोर्चाले समेत सघाएको थियो ।

शेरचन यसपटक आफू दुई पटक पराजित भएको क्षेत्र छोडेर नयाँ क्षेत्रमा उम्मेदवारी बन्नुभएको थियो । बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा पराजित शेरचन यसपटकको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट संसद चुनिनुभएको छ । शेरचनल एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेद्वार प्रकाश घर्तीलाई ३ हजार मतान्तरले पराजित गर्नुभएको थियो । शेरचनले १५ हजार १६ मत प्राप्त गर्दा घर्तीले १२ हजार ८ मत प्राप्त गर्नुभएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शेरचन नेविसंघमा आवद्द हुनुहुन्थ्यो । बागलुङका २०६२ सालमा नेविसंघबाट ताजहल क्याम्पस काठमाडौंको स्ववियु सभापति निर्वाचित शेरचन २०६७ मा नेविसंघको केन्द्रीय सदस्य हुँदै हाल नेपाली कांग्रेस बागलुङको जिल्ला सभापती हुनुहुन्छ । सभापती बनेको एक वर्ष नपुग्दै पार्टी कार्यालय बनाउनका लागि बागलुङ बजारमा जग्गा खरिद गरिसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *