राष्ट्रिय लोकमार्ग कब्जा गरेर हाइड्रोपावर निर्माण

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अन्तरगत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयले हाइड्रोपावर निर्माण गरि रहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रा.लिले सडक अतिक्रमण गरि पाइप बिच्छ्याएको छ ।

सडकको कुना पट्टी पाइप बिच्याउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको हो । हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावतनै ठप्प बनाएर सडकमा पाइप बिच्छ्याउने गरेको गाडी चालकहरुको भनाई छ । लोकमार्ग कार्यालयसँग मापदण्ड बनाएर हाइड्रोपावर निर्माण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले मापदण्ड विपरित काम गरेको पाइएको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले भन्नुहुन्छ–“सम्झौता अनुसार काम गर्न चार पटकसम्म पत्रचार गरेका ग¥यौँ, तर उहाँहरुले हाम्रो पत्रको कुनै जवाफ दिनु भएको छैन, हामीहरुले सम्झौता विपरितको काम रोकेर र मापदण्ड अनुसार काम गर्न पटक–पटक भन्यौँ, जिल्ला प्रशासनलाई पनि यो रोक्न पत्र पठाएका छौँ, कतिपय ठाउँमा मापदण्ड अनुसार भएको छ भने भेरै ठाउँमा विपरित भएको छ ।”

हाइड्रोपावर प्रा.लिले लोकमार्गको पत्रचारलाई बेवास्ता गरि मापदण्ड विपरित काम धमाधम गरि रहेको छ । भण्डारीले हाइड्रोपावरको काम गर्नका लागि एउटा नक्सासमेत तयार पारेको भन्दै त्यो अनुसार नभए निर्माण भएका संरचना भत्काउन आफूहरु बाध्य हुने बताउनुहुन्छ ।

“म फिल्डमै गएर किन यस्तो भयो भनेर बुझ्न खोजे, बुझ्न बोलाए तर उहाँहरु आउनु भएन, यदि निर्माण कम्पनीले सम्झौता विपरित काम गरि रह्यो भने, त्यो भत्काउनेसम्म हाम्रो अधिकार रहन्छ, उहाँहरुलाई सम्झौता अनुसार गर्ने स्थिती मै ल्याउँछौँ, एउटा नक्सासमेत तयार भएको छ, त्यो नक्सा अनुसार पनि भएन भने हामी भत्काउँछौँ ।”

सात मिटर चौडाई रहेको दुई लेनको सडकमा कुना भागबाट पाइप बिच्छ्याउँदा पाँच मिटर पनि पुग्दैन । हाइड्रोपावरको पाइपले कुना पट्टीको नालीसमेत पुरेको छ । हाईड्रोपावर प्रा.लिले पाइप बिच्छाएपछि सडक निकै साँघुरो भएको भण्डारी बताउनुहुन्छ । मध्यपहाडी लोकमार्ग मिचेर हाइड्रोपावर बनाउँदा सडक दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाई छ ।

दरमखोला हाइड्रोपावर प्रा.लिका प्रमुख निरज पुनले सडक विभागको अनुमति लिएर काम अगाडि बढाएको बताउनुभयो । उहाँले आफूहरुले सम्झौता विपरित काम नगरेको दाबी गर्नु हुन्छ । पुनले लोकमार्गको हाकिम नयाँ आएको र उहाँले धेरै कुरा नबुझेको हुन सक्ने बताउनुहुन्छ ।

पुन भन्नुहुन्छ–“सुरुमा जे सम्झौता भएको थियो सोही अनुसार काम गरेका छौँ, सम्झौता विपरित भएको जस्तो लाग्दैन, पहिलेको हाकिमसँग छलफल गरेर, एउटा सम्झौता गरेका थियौँ, सोही अनुसारका काम गरेका हौँ, अहिले नयाँ हाकिम आउनु भएको होला, उहाँलाई सबै थाहा नभएको हुन सक्छ ।”

जिल्ला समन्वय समिति बागलुुङका प्रमुख अमर थापाले लोकमार्गका छेउछाउमा हाइड्रोपावरका संरचना बनाउँदा सडकनै जोखिममा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“लोकमार्ग छेउमा जुन हाइड्रोपावरको पाइप बिच्छ्याइएको छ, यो गलत भएको छ, भोली जतिबेला पनि यो पाइप फुट्न सक्छ, त्यो अवस्थामा सडकको हालत के हुन्छ ?, त्यसले गर्दा यस्ता संरचना बनाउँदा सबै पक्षले ध्यान पु¥याउनु पर्छ ।”

थापाले राज्यको सम्पति जोखिममा पारेर संरचनाहरु बनाइन नहुने बताउनुहुन्छ । राष्ट्रिय गौरवको आयोजना अतिक्रमण गरि हाईड्रो पावरको लागि पाईप बिच्छाउने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै यसमा सम्यंता अपनाउनु पर्ने बताउनुभयो । पछि गएर ठूलो दुर्घटना हुनभन्दा अहिलेनै ठोस निर्ण गर्नु पर्ने प्रमुख थापा बताउनुहुन्छ ।

दरमखोला हाईड्रो ईनर्जीले आगामी असार मसान्त भित्र सक्ने गरि हाईड्रोपावरको कामलाई तीव्रता दिएको छ । यहाँबाट ९.६ मेगावाट विद्युत निकालिने कम्पनीले जनाएको छ । यस ठाउँ लगाएत अन्य स्थानमा पनि विभिन्न व्यक्ति तथा निर्माण व्यवसायीहरुले लोकमार्ग क्षतविक्षत बनाएका छन् । यस तर्फ सरोकारवाला निकाय भने मुकदर्शक बनेका छन् ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *