ठेकेदार सम्पर्कविहीन भएपछि लोकमार्गको काम अलपत्र

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तरपछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिनुभयो । तर उहाँले अहिलेसम्म आधा काम पनि पुरा गर्न सक्नु भएको छैन । सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफ लाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो ।

सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ । सडकको धुलो र हिलोले गर्दा स्थानीयहरु बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताउनुभयो । उहाँले सडक छेउका घरहरु हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताउनुहुन्छ । धुलोका कारण स्थानीयको उठीबास लागेको उहाँको भनाई छ ।

कँडेल भन्नुहुन्छ–“बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलका फलहरु सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि विक्री हुँदैनन्, यहाँका किसानहरु धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशुचौपायले पनि खाँदैनन्, यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन् ।”

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–घोँडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना शुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागेपछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोँडाबाँधे खण्डमा भने काम हुन सकेको छैन ।

उहाँले ठेकेरादलाई राज्यले कारवाही नगर्दा यहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताउनुभयो । कँडेलले अटेरी गर्ने ठेकेदारलाई कारवाही गरेर नयाँ सम्झौता गरि काम गरेको भए दुई वर्ष अगाडि नै कालोपत्रे भइ सक्ने बताउनुहुन्छ । सरोकारवाला निकाय यस तर्फ गम्भीर भएर नलागेसम्म यस सडकको अवस्था यस्तै रही रहने र स्थानीय वर्षौँ हिलो धुलोमै बस्नु पर्ने बताउनुहुन्छ ।

काठेखोला गाउँपालिका–५ का पूर्व अध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको बताउनुहुन्छ । उहाँले आफूहरुले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको बताउनुहुन्छ । स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उहाँको भनाई छ ।

“हामीहरुले सडक कालोपत्रेका लागि पटक–पटक प्रशासन र लोकमार्ग कार्यालय र ठेकेदारलाई आग्रह ग¥यौँ, सडकको कारण सिंगो समुदायनै विस्थापित हुने अवस्था आयो, तर कतैबाट पनि यसको सुनुवाई हुन सकेन,” कँडेलले भन्नुभयो– “ठेकेदार बेलाबेलामा आएर स्थानीयको आँखामा छारो हाल्ने काम गर्छ, अहिले १५/२० दिन भयो सम्पर्कविहीन बनेको छ, यसको अवस्था यस्तो विजोग छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौँदेखि स्थानीयको समस्या बनि रहेको बताउनुभयो । उहाँ आफूहरु जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरि रहेको बताउनुभयो । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबाव दिइराखेको बताउनुहुन्छ ।

अध्यक्ष थापा भन्नुहुन्छ–“यो सडकको जिम्मा लिएको रामकाजी श्रेष्ठ हुनुहुँदो रहेछ, मैले उहाँलाई र लोकमार्ग कार्यालयका प्रमुख नारायण भण्डारीलाई पटक–पटक कालोपत्रेका लागि भेटेरै कुरा गरेको छु, उहाँहरुले गर्छौँ भनेर आश्वासन दिनुहुन्छ तर काम गर्नुहुन्न, तल्लो खण्ड त यो वर्ष सकिन्छ जस्तो देखिन्छ तर माथिल्लो खण्ड गाह्रो देखिन्छ, अहिले ठेकेदारनै भागेको भन्ने हल्ला आएको छ ।”

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गनुहुन्छ । उहाँले अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मत सम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाव दिएको बताउनुहुन्छ । भण्डारीले ठेकेदार कम्पनीलाई कारवाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरि दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको बताउनुहुन्छ ।

“अब बागलुङमा लोकमार्ग कालोपत्र हुन करिब करिब अन्तिम चरणमा छ, असार मसान्तसम्म सबै खण्डहरु कालोपत्रे हुन्छन्, अहिले बिहुँ खण्डमा काम भएको छैन, त्यसलाई पनि दबाद दिने काम भएको छ, यतिका वर्षसम्म काम पूरा नगर्दा कारवाही गर्ने भनेका थियो, सरकारले म्याद थप गरेको हुँदा गर्न सकिएन,” उहाँले भन्नुभयो–“जहाँसम्म हामीलाई लाग्छ, असार मसान्तसम्म काम सक्दा यदि सकेन भने कारवाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”

लोकमार्गको कुल एक हजार ७७६ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *