दुध संकलन र विक्री गर्दै सहकारी

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाले शेयर सदस्यहरुले उत्पादन गरेको दुध आफै खरिद गरेर बजारमा विक्री गरेर कृषकलाई सहजता दिँदै आएको छ ।

२०६४ सालमा स्थापना भएको शुभकामना कृषि सहकारीले २०६५ सालमा स्थपना भएको जनभावना दुग्ध सहकारी संस्थासँग २०७५ सालमा एकीकरण गरे पश्चात शुभकामना कृषि सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुबाट उत्पादन भएको दुध संकलन तथा बेनी बजारमा विक्री गर्दै आएको हो । जनभावना दुग्ध सहकारीले पहिला देखिनै गर्दै आएको संकलन कार्य एकिकरण पश्चात मातृ संस्थाले नै गर्दै आएको सहकारीका अध्यक्ष केदारनाथ पौडेलले बताउनुभयो ।

अध्यक्ष पौडेलका अनुसार अहिले दुई जना ‘मिल्क एनालाइजर’, एक जना ढुवानीकर्ता र एक जना बिल वितरक गरी चार जना कर्मचारीले शेयर सदस्यहरुबाट संकलित दुधको व्यवस्थापन गर्दै आएका छन् । अध्यक्ष पौडेलले भन्नु भयो–‘गत आर्थिक वर्षमा दुग्ध कृषकलाइ राज्यले तोके अनुसारको मुल्य तिरेर खरिद गरेको दुध विक्रीबाट संस्थाले एक लाख ५० हजार आम्दानी गरेको थियो ।’

सहकारीले कर्मचारी खर्च तथा अन्य सबै खर्च कटाएर संस्थाले उक्त रकम मुनाफा गरेको सहकारी संस्थाले गत असोज ६ गते गरेको वार्षिक साधारण सभामा पेश गरेको प्रतिबेदनमा समेत उल्लेख गरिएको छ । शेयर सदस्य रहेका मध्येबाट ८० जना सदस्यहरु दुग्ध कृषक रहेका छन् । दुग्ध कृषकहरु मध्ये ५० जनाले नियमित रुपमा सहकारीमा दुध ल्याउने सहकारीका प्रवन्धक दिपक शर्माले बताउनुभयो । शर्माका अनुसार संस्थामा दुध ल्याउने कृषकहरुले न्युनतम ५ हजार देखि अधिकतम ४० हजार रुपैयाँसम्म मासिक रुपमा भुक्तानी पाउने गर्नुभएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको घरमा भएका गाइ भैंसीको दुध राज्यले तोकेको मुल्यमा खरिद र बिक्री गर्दै आएको सहकारीका कोषाध्यक्ष राजाराम पौडेलले बताउनुभयो । दुग्ध कृषकहरुले प्राप्त गर्ने रकम मासिक रुपमा कृषककै खातामा जम्मा गरिदिने गरीएको उहाँको भनाई छ ।

सहकारीले शेयर सदस्य एवम् कृषकहरुको सहकारी संस्थामा भएको खातामा रकम जम्मा गरिदिने र उहाँहरुले आफूले चाहेकोे समयमा रकम निकालेर प्रयोग गर्ने गरेको दुग्ध कृषक एवम् धौलागिरी माविका प्रधानाध्यापक भुवन रेग्मीले बताउनुभयो ।

अर्का कृषक हिराबहादुर कुँबरले आफूहरुले घर नजिकै रहेको सहकारीमा दुध संकलन गरेर विक्री गर्दा सहज भएको बताउनुभयो । घरमा दुधको दही बनाएर मोही पारेर घ्यु निकालेर बिक्री गर्दा भन्दा सिधै दुध बेच्दा बढी आम्दानी हुने कुँबरको भनाई छ ।

अहिले दुध कम बिक्री हुने समय भएकाले सहकारीले आफ्नोमा संकलन भएको दुधको दुग्धजन्य पदार्थ उत्पादन गरेर विक्री गर्ने गरेको छ । सहकारीले दुधको पनिर तथा कुराउनी बनाएर बिक्री बितरण गर्ने गरेको सहकारीका दुग्ध व्यवस्थापन उप–समितिका संयोजक देवेन्द्रबहादुर बानियाँले बताउनुभयो ।

बानियाँको संयोजकत्वमा लोकनाथ पाध्या, चिन्तामणि उपाध्याय र जीवनाथ सुवेदी रहेको समितिले समितिले नियमित रुपमा सहकारीका शेयर सदस्य रहेका कृषकहरुबाट दुध संकलन र व्यवस्थापन गर्ने गरेको छ । सहकारीले सिंगा तथा सदरमुकाम बेनी बजारमा दुध तथा पनिर र कुराउनी बिक्री गर्ने गरेको सहकारीका दुग्ध व्यवस्थापन उपसमितिका सदस्य लोकनाथ पाध्याले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *