सुनका गहना चोरी गर्ने महिला पक्राउ

आदर्श अनलाइन, पोखरा
कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पोखराको विभिन्न स्थानबाट वृद्धा महिलाहरुलाई घरमा कोही नभएको मौका पारी ललाईफकाई सुनका गहना तथा नगद चोरी गर्ने पर्वतको मोदी गाउपालिका–६ घर भइ हाल कास्की पोखरा महानगरपालिका–४ गणेशटोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न ९ जना महिलाको उजुरीको आधारमा पोखरा बजारको विभिन्न स्थानबाट वृद्धाहरूले घाँटी तथा कानमा लगाएको सुनका गरगहना र घर कोठामा राखेको विभिन्न किसिमको सुनका गहना तथा नगद चोरी गर्ने गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको विशेष अनुसन्धान टिमले श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीले श्रेष्ठको साथबाट सुनको पोतेसहितको तिलहरी १ थान, औँठी १ थान र नाक लगाउने फुली १, सुन जस्तो देखिने सिक्री, बाला, औँठी, मोबाईल लगायतको धातुको गहनाहरू र चोरी गर्दा लगाएको कपडाहरू बरामद गरेको छ । पक्राउ परेकी श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो ।

कास्की प्रहरीले सोही प्रकृतिको चोरी घटनाबाट अन्य कोही मानिसहरू पीडित हुनु भएको भए जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन र यस किसिमको चोरी अपराध हुन नदिनको लागि आम सर्वसाधारण मानिसहरूलाई समेत सचेत हुन अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *