ईमेज सहकारीको कुल आम्दानी दुई करोड ६० लाख

आदर्श अनलाइन, बागलुङ
यहाँ सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले दुई करोड ६० लाख ५४ हजार ९२ रुपैयाँ कुल आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाले उक्त आम्दानी गरेको हो । शनिबार बागलुङमा सम्पन्न भएको संस्थाको १० औं वार्षिंक साधारणसभामा संस्थाले उक्त कुल आम्दानीबाट विभीन्न शिर्षकका खर्च कटाएर ४५ लाख ६० हजार ७ सय ६९ रुपैयाँ खुद मुनाफा गरेको जनाएको छ । सहकारीले संस्थामा एक अर्ब १४ करोड ५८ लाख ६२ हजार तीन सय ५३ रुपैयाँको कुल सम्पत्ती भएको जनाएको छ ।

५०३ महिला र ३१७ जना पुरुष गरी कुल ८२० जना सेयर सदस्य रहेको उक्त सहकारीको तीन करोड ३३ लाख ४१ हजार दुई सय सेयर पूँजी रहेको छ । संस्थाले ९५ करोड २४ लाख ४० हजार ८ सय ४८ रुपैयाँको बचत संकलन गरेको जनाएको छ । संस्थाले हाल ७१ करोड बढि ऋण लगानी गरिरहेको संस्थाका अध्यक्ष देवकुमार नेपालीले बताए । उनले इमेज सहकारीमा तरलता अभाव नरहेको भन्दै बचतकर्तालाई चाहेको समयमा बचत फिर्ता दिएको बताए ।

संस्थाको साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी बंैंकका सञ्चालक रामबहादुर जिसीले कोरोना महामारीका कारण विश्वभर अर्थतन्त्र धरापमा परेको बेला सहकारी संस्थाको गतिविधिले आर्थिक क्षेत्र चलायमान हुन थालेको बताए ।

उनले इमेज सहकारीले बागलुङमा छोटो समयमै राम्रो छाप छोड्न सफल भएको भन्दै सहकारी संस्थाहरु सहकारी ऐन नियम र कानुन अनुसार चल्नुपर्ने बताए । कार्यक्रममा बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोख्रेल, बागलुङ नगरपालिका—२ का वडाध्यक्ष सुरज बोसेल, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, साहित्यकार काजी रोशन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकारी पोखराका प्रवन्धक दीपक पौडेल र सञ्चालन योगेन्द्र विश्वकर्माले गरेका थिए । उक्त अवसरमा ७० वर्ष माथिका १४ जना ज्येष्ठ सेयर सदस्यलाई नगद सहित सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कारोबार गर्ने अन्य १३४ जनालाई पनि सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्