बेसहाराहरुको सहारा बन्यो तमानखोला गाउँपालिका

डम्मर बुढा मगर, बागलुङ
तमान गाउँको बीचमा एउटा सानो घर छ । हरेक दिन त्यही घरको वरपर स–साना बालबालिका भेटिन्छन् । कोही पढ्दै, कोही दौडिँदै त कोही खेल्दै । उनीहरु गत असारदेखि यही घरमा बस्दै आएका छन् । केही समय अगाडिसम्म १६ जना थिए भने अहिले ३१ जना बालबालिका यही घरमा बस्दै आएका छन् । उनीहरु मध्ये धेरैका आमाबुबा छैनन् । आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरुको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ ।

तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह संचालन गरेको छ । भौगोलिक विकटताका बाबजुत पनि तमानखोला गाउँपालिकाले रहेक वर्ष महत्वपूर्ण कामहरु गर्दै आएको छ । अघिल्लो पटक बालविवाह न्यूनिकरणदेखि जंकफुडरहित विद्यालय बनाउने अभियान थालेको गाउँपालिकाले यस वर्ष भने बालगृह संचालनमा ल्यायो । बालगृह संचालनमा आएपछि बालबालिकाले खुसीका साथ बस्न र पढ्न पाएका छन् ।

बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन् । गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाका कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले बालगृह संचालन गरेको बताउनुभयो । पालिकामा ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालहृग संचालन गरेको उहाँ बताउनुहुन्छ । अहिले बालबालिका थपिने क्रममा रहेको हुँदा अन्य व्यवस्थापन गाउँपालिकाले गरि रहेको अध्यक्ष बुढा मगरको भनाई छ ।

“दुर्गम ठाउँ हो धेरै व्यवस्थित गर्न नसके पनि बालबालिकाको सुरक्षासहित गुणस्तरीय पठनपाठनमा जोड दिएका छौँ, सुरुवाति चरणमा हुँदा केही कमिकमजोरी हुन सक्छन्, तर बालबालिकालाई अधिकतम सुविधासहित बाल गृहमा राखेका छौँ” अध्यक्ष बुढा मगरले भन्नुभयो– “सुरुमा १६ जना बालबालिकालाई राखेका थियौँ, अहिले ३१ जना पुगेका छन् अझै थपिने क्रम जारी छ ।”

गाउँपालिकाले बालगृहमा बसेका बालबालिकालाई कक्षा १२ सम्म पढाउने उहाँको भनाई छ । उनीहरुलाई समय–समयमा सिपमुलक तालिम दिने र आत्मनिर्भर बनाउने योजनासमेत गाउँपालिकाले बनाएको बुढा मगरले बताउनुभयो । कक्षा १२ पासपछि पनि उनीहरुको क्षमता अनुसार रोजगारको अवसर गाउँपालिकाले नै व्यवस्था गरि दिने उहाँको भनाई छ ।

“अहिले बालगृहमा रहेका बालबालिकाहरु निकै उत्साहित छन्, केही राहत मिलेको महशुस गरेका छन्, उनीहरुलाई माध्यमिक तहसम्म पढाउने हाम्रो जिम्मेवारी हो, त्यसपछि पनि उच्च शिक्षाका लागि हामीहरुले सहयोग गर्नेनै छौँ,” उहाँले भन्नुभयो– “समय–समयमा सिप सिकाउने र दक्ष बनाउने, आत्मनिर्भर बनाउने छौँ, पछि उनीहरुलाई क्षमता अनुसार रोजगारी दिएर जीविकोजार्नन गर्न सहज बनाउने तर्फ हामीहरु लागि रहेका छौँ ।

गाउँपालिकाले यस वर्ष बालगृह संचालनका लागि १७ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष बुढा मगरको भनाई छ । दुर्गम गाउँमा बाल गृह संचालन गर्नु आफैमा चुनौतिपूर्ण भए पनि आफूहरु निरन्तर लाग्दा सफल भएको उहाँले बताउनुभयो । बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरि रहेका छन् ।

तमानखोला गाउँपालिका–३ का वडा अध्यक्ष झकबहादुर बुढा मगरले एक जना कर्मचारीले बालबालिकाको रेखदेख गर्ने गरी व्यवस्थापन गरेको बताउनुभयो । उनीहरूले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने हुँदा धेरै समस्या नभएको भन्दै निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन पालिकाले गरि रहेको उहाँ बताउनुहुन्छ ।

वडा अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “बालगृहमा बस्ने कुनै पनि बालबालिकालाई शुल्क लाग्दैन, सबै निःशुल्क हो, यहाँ पालिकाभरीका बालबालिका मात्रै राख्ने गरेका छौँ, उनीहरुको लालनपालनमा सहयोगका लागि दुई जना कर्मचारीको व्यवस्थापन गरेका छौँ, बालबालिकाहरुको स्वास्थ्य अवस्था पनि अहिले राम्रो छ, बिरामी परेका छैनन् ।”

प्रत्येक महिना कम्तिमा दुई पटक उनीहरूको स्वास्थ्य परिक्षण गर्ने, अध्ययनलाई राम्रो बनाउन पालिका र बालगृह संचालक समितिले हेरचाह गरि रहेको उहाँको भनाई छ । “बालगृहमा आश्रित बालबालिकाको कक्षा १२ सम्म पठानपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, बेसहारा बालबालिका कोही पनि पढ्नबाट वञ्चित हुने छैनन्, यसले बालबालिकाको भविष्य सुनौलो हुने अपेक्षा लिएका छौँ” उहाँले भन्नुभयो ।

बालगृह संचालन कोषमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले समेत आफुले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताउनुभयो । सो अभियान अनुसार सबै जनप्रतिनिधिले सहयोग गरि रहेको उहाँको भनाई छ ।

उहाँले उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालिन व्यवस्थापनमा सहजता पुग्ने बताउनुहुन्छ । बालबालिका बढ्दै गएपछि उनीहरूको सहज रुपमा व्यस्थापन गर्नका लागि कोष बनाइएको उहाँको भनाई छ । उपाध्यक्ष छन्त्यालले बालगृह संचालनका लागि स्थानीयले पनि सहयोग गरि रहेको बताउनुभयो ।

“बालगृह संचालन गर्ने गाउँपालिकाको अभियानलाई स्थानीय लगायत धेरैले सहयोग गर्नु भएको छ, खास गरि यो संचालन गर्नुको मुख्य उद्दश्यनै दुःख पाएका बालबालिकालाई संरक्षण गर्नु हो, यसले गर्दा संचालन गरेको छोटो समयमै धेरै बालबालिकाले आश्रय पाउनु भएको छ” उपाध्यक्ष छन्त्यालले भन्नुभयो– “गाउँ हो केही समस्या त हुन्छ नै यद्यपी सक्दो गुणस्तरीय सेवा दिने हामीहरु जुटेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *