बागलुङ नगरको १२ औँ नगरसभा

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको १२ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले आगामी असार मसान्तभित्र बुझाउनु पर्ने व्यवसाय कर, सम्पत्ति कर र लगायतका बिलम्ब गरिएका कर तथा शुल्क बुझाएमा अहिलेसम्म लागेको जरिवाना छुट दिने निर्णय गरेको छ । नगर सभाले नगरपालिकालाई दिगो विकास र कर राजश्वमा सक्षम नगर बनाउने निर्णय गरेको छ ।

नगर सभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको आव २०७९/०८० को निति तथ कार्यक्रमको समिक्षात्मक बक्तव्य र नगर उपप्रमुख राजु खड्काले प्रस्तुत गरेको संसोधित बजेट बक्तव्य माथि छलफल गरी नगरलाई थप विकसित गर्न सफा तथा दिगो र योजनाबद्ध बिकासलाइ गति दिन समयमा सन्तुलित विकासको नीति लिएको छ । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले मुख्य बजार क्षेत्रमा भूमिगत ढल निकास र फोहोर व्यवस्थापनको काम सुरु भैसकेको जानकारी दिए ।

भूमिगत फोहोर व्यवस्थापनका लागि यसअघि बनाइएको डीपीआरको संशोधन गरेर काम अगाडि बढाउने तयारी गरेको हो । काठेखोला नजिकै दुइवटा प्रशोधन प्लान्ट निर्माण गरेर बजार क्षेत्रको सफाइ गर्ने लक्ष राखिएको छ । खानेपानीलाई पनि व्यवस्थित गर्न साझेदार संस्था भित्र्याइएको श्रेष्ठले जानकारी दिए । नगरपालिकाले नेपाल स्वास्थ्यका लागि पानी (नेवा)मार्फत साना तथा ठूला खानेपानीका योजना निर्माण र साझेदारीका काम संचालनमा आइसकेको जानकारी गराएका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेर संचालनमा आइसकेकोले बलेवा विमानस्थललाई तत्काल संचालन गरेर पर्यटन प्रवद्र्धनमा अगाडि बढ्न नीति र व्यवस्थापकीय काम शुरु भएको श्रेष्ठले नगरसभालाई जानकारी गराएका थिए । हाल बलेवासम्मको कालीगण्डकी करिडोर कालोपत्रेको काम थालिएकोले समयमा संचालन गर्न सकिने आसा नगरबासीले गरेका छन् ।

नगरसभाले आर्थिक वर्ष २०७९÷०८० को संशोधित बजेट पास गरेको छ । नगरसभाको ११ औं सभाले पारित गरेको १ अर्ब ३१ करोड बजेटबाट थप भएको बजेटसमेत संशोधन गरी १ अर्ब ५६ करोड ५ लाख बजेट पारित गरेको छ । साथै, उक्त बजेटको पूर्ण कार्यान्वयनको चुनौती पुरा गर्न काम कारवाही चुस्त बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

नगरसभाले बालमैत्री नगर बनाउने कामका लागि आवस्यक बजेट बिनियोजन गरेको उपप्रमुख राजु खड्काले बताए । उनले अंक खुलाएनन् तर अन्य शीर्षकको बजेट कटौती गरेर भएपनि आगामी बर्षको पुस मसान्तसम्म बागलुङलाई बालमैत्री नगर घोषणा गर्ने कार्यक्रममा कुनैपनि कमी नराख्ने लक्ष सुनाएका थिए ।

नगरसभामा लेखा समितिका संयोजक अर्जुन घिमिरेले बेरुजु घटाउने योजनामा नगरपालिका सफल बन्नुपर्ने सुझाए । उनले असुल उपर गर्नुपर्ने बेरुजु तत्काल घटाउनु पर्ने, एकीकृत तथा व्यवस्थित अभिलेख राखेर आगामी दिनमा बेरुजु नआउने गरी काम गर्न पनि सुझाए । महालेखा परिक्षकको सुझाव कार्यान्वयन गराउनु पर्ने, सार्वजनिक खर्चलाई मितव्ययी र पारदर्शी बनाउन सुझाव दिएका थिए ।

उक्त अबसरमा बिधायन समितिका संयोजक सनि केसीले नगर प्रहरी ऐनमा शैक्षिक योग्यता र उमेर हद संशोधन गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । नगर प्रहरी गठन भएपनि दरबन्दी पुरा भएको छैन । सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक कुमार बिक्रम क्षेत्रीले कर्मचारीको दरबन्दी तथा आवश्यक खर्च कटौतिसम्बन्धी एजेण्डा प्रस्तुत गरेका थिए ।

गरपालिकाले चालु वर्षको ६ महिनाको अवधिमा कुल बजेटको २८.३८ प्रतिशत र्खच गरेको नगर उपप्रमुख खड्काले बताए । जसमा चालु तर्फ ३२.२२ र पुजिगत तर्फ २७.६५ प्रतिशत रकम खर्च भएको छ । नगरपालिकाले झण्डै ८३ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता गरी कार्यात्वयनमा ल्याएको उपप्रमुख खड्काले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *