‘माघेसक्रान्तिको मौलिकता हरायो’

डम्मर बुढा मगर, बागलुङ
माघेसक्रान्ति पर्वलाई बागलुङका आदिवासी जनजातिहरुले भव्य रुपमा मनाउँदै आएका छन् । यस पर्व परम्परादेखि नै मनाउँदै आए पनि पछिल्लो समय यसको मौलिकता भने हराउँदै गएको छ । मौलिकता हराउँन थालेपछि बुढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन् । बागलुङ बजारदेखि ग्रामीण क्षेत्रमा भव्य रुपमा बनाइने माघेसक्रान्ति पर्व अहिले कम हुँदै गएको पाइन्छ ।

पहिले आफन्त तथा परिवारसहित मनाइने पर्व अहिले मेलामहोत्सव गरेर बनाउने गरेका छन् । निसीखोला गाउँपालिका–६ का टेकबहादुर बुढा मगरले आधुनिकताले गर्दा मौलिक पर्वहरुमा विकृति मिसिएको बताउनुहुन्छ । माघेसक्रान्तिका दिन आफन्तसँग भेटघाट हुने, खुसी साटासाट गर्ने र होरे कापै (डम्फु बजाएर नाच्ने नाच) खेल्ने परम्परा भए पनि अहिले यो संस्कृति हराएको भन्दै दुख व्यक्त गर्नु भयो ।

पछिल्लो युवा पुस्ताले माघेसक्रान्तिको महत्व नबुझ्दा मौलिक परम्परा लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । “माघेसक्रान्ति त हाम्रो सबैभन्दा ठूलो पर्व हो, पहिले–पहिले हामीहरुले भव्य रुपमा मनाउने गथ्र्यौँ, तर अहिले हाम्रो पालाको जस्तो हर्षोल्लास छैन, अहिले त होर कापै खेल्ने चलन पनि हरायो,” बुढा मगरले भन्नुभयो– “पहिले आफ्ना चेलीबेटी, आफन्तलाई बोलाउने मिठो मसिनो खाने रमाइलो गर्ने गथ्र्यौँ अहिले त्यो चलन हरायो ।”

स्थानीय तिलकप्रसाद छन्त्यालले माघेसक्रान्ति तरुल, रोटी, खिचडी र तिलको लड्डु खाने पर्व भएको भन्दै यसलाई पूर्खाहरुले जोगाउँदै आए पनि अहिले मौलिकता हराउन थालेको बताउनुभयो । पहिले–पहिले गाउँमा स्थानीयहरुले माघेसक्रान्तिका लागि तरुल रोप्ने गरेको भन्दै अहिले आयातित तरुलमा निर्भर भएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– “संक्रान्ति १२ वटा हुन्छन्, त्यस मध्ये माघेसक्रान्तिलाई विशेष रुपमा लिइन्छ, महत्वपूर्ण पर्वको रुपमा लिइन्छ, यो पर्वले धेरै प्रकारको संस्कृति, परम्परा, रीतिरिवाज र विभिन्न परिवेशहरूको जीवन्त पहिचान दिनुका साथै धार्मिक आस्था, मानवीय जीवन, व्यवहार, भौगोलिक यथार्थ, आरोग्य, लाभ र सांस्कृतिक महिमा आदि विविध पक्षलाई समेट्न सफल भएको छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले माघेसक्रान्ति पर्व मानव सभ्यतासँग जोडिएको बताउनुभयो । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको भन्दै ग्रामीण क्षेत्रमा अझ बढी मनाइने उहाँ बताउनुहुन्छ । पहिले आफ्नो घरमा पकाएको खानेकुरा छिमेकी, आफन्तसँग बाढीचुडी खाने र आत्मियता साट्ने गरे पनि अहिले मानिसहरु स्वार्थी बन्दै जाँदा मौलिकता हराएको उहाँको भनाई छ ।

“हाम्रा पूर्खाहरुले यो पर्व मनाउने चलन त्यसै सुरु गरेका होइनन्, माघे संक्रान्ति मनाउनुको खास अर्थ छ, सामाजिक, आर्थिक सबै दृष्टिले यसलाई महत्वपूर्ण मान्छि, यो पर्व स्वास्थ्य र समाजसँग पनि जोडिएको छ,” अध्यक्ष बुढा मगरले भन्नुभयो– “युवा पुस्ताले मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएको पाइँदैन, विगतदेखि अहिलेसम्म आउँदा यो पर्वको मौलिकतामा धेरै परिवर्तन आएको पाइन्छ ।”

यस वर्षमा घिउ, चाकु, तिलको लड्डु पनि खाइन्छ । जसले शरीरलाई जाडोसँग जुध्न सहयोग गर्ने स्वास्थ्यकर्मीको भनाई छ । माघ जाडो याम सकिएर गर्मी सुरु हुने महिना भएको हुँदा माघेसक्रान्तिमा खाने परिकार स्वास्थ्यका लागि लाभदायिक हुने बताइन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *