भल्कोटीको एक दिन अश्लिल बोल्ने अनौठो परम्परा

खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटमा परम्पराकालदेखि एक अनौठो पर्व चल्दै आएको छ ।

माघी पर्वको अवसरमा यहाँका आदीवासी मगर समुदायको भएको भल्कोट उल्लासमय बन्छ । भल्कोटमा बाईसे चौबिसे राजाको पालादेखिको पुतली नाँच संरक्षित छ तर पुतली नाँचको पूर्वसन्ध्यामा भल्कोटको माहोल अलि फरक र अनौठो हुन्छ जुुन अहिलेको आधुनिक समाजमा अपाच्य समेत हुने गरेको छ । तर यहाँका मगर समुदायले यसलाई वर्षौदेखि परम्परका नाममा शिरोधर्य गर्दै आएका छन् । उनिहरुले वर्षमा एकदिन आफूहरुलाई परम्परा धान्नका लागि अश्लिल शब्द बोल्न छुट भएको दाबी छ ।

माघी पर्वको अवसरमा माघ ३ गते देखाइने पुतली नाँचको पूर्व सन्ध्यामा खेलिने होरे तथा कापैमा अश्लिल शब्द सुन्न सकिन्छ जुन भल्कोटीको परम्परानै हो । भल्कोटीलाई पुतलीनाँचको पूर्वसन्ध्यामा पुतली बनाएपछि भोलिपल्ट उक्त राजा, रानी र धाईमाको पुतली निसीखोलामा नबगाउन्जेल अश्लिल बोल्न छुट दिने अनौठो परम्परा छ । उक्त पर्वमा महिला तथा पुरुष दुबैको उत्तिकै सहभागिता हुनेगरेको छ भने पुतली नाँच भने पुरुषले मात्रै नाच्ने गरेको छ ।

भल्कोटमा रहेको पुतली नाँच संग जोडिएको अनौठो परम्परालाई यहाँका स्थानीयहरुले वर्षौदेखि संरक्षण गरिराखेको स्थानीय मानसिंह बुढा मगरले बताउनुभयो । “म अहिले ८० वर्षको भए, यहाँको माघीमा अनौठो परम्परा आजाको हैन पुस्तौ देखिको हो, म २० वर्ष पुतली बनेर नाँचे, देवि खुसी पार्न तिहारको देउसी भैलो जस्तै गरी यहाँ माघी संक्रान्तिको अवसरमा एक जनाले भट्टाउने र अन्यले डम्फु बजाउदै भाका छोप्ने र खरानीले छ्याप्दै हिड्ने परम्परा छ” बुढा मगरले भन्नुभयो “भट्टाईने शब्दको बीचमा अपाच्य अश्लिल शब्द प्रयोग हुन्छ, मैले ८० वर्षको उमेर सम्म यो सुन्दै आएको छु, अश्लिल शब्द नभट्टाए देवि खुसी नहुने भन्दै देवि खुसी पार्नका लागि यस्ता शब्दावलीहरु प्रयोगमा ल्याइन्छ, यसको अबधी करिब २४ घण्टाको हुन्छ त्यसपछि त्यस्ता शब्द प्रयोग गर्न सामाजिक बन्देज छ ।”

बुढा मगरका अनुसार आगन्तुकहरुलाई भने यस्ता शब्द पाच्यहुन नसकेपनि यहाँको परम्परा वर्षमा एक दिन अश्लिल शब्दको प्रयोग गर्दै होरे तथा कापै खेल्ने गरिन्छ । उक्त परम्परामा लुठो बन्ने, च्यातिएका लुगा लगाउने, शरिरका विभिन्न अंग प्रर्दशन गर्ने र घरघरमा पुगेर भट्टाउदै दान माग्ने गरिन्छ ।

पछिल्लो १५ वर्ष यता भल्कोटको पुतली नाँच र यो संग जोडिएको होरे कापै, पट्टा नाँच लगायतको परम्परा संरक्षणमा तिलाचन युवा क्लवले अगुवाई गरेको छ । यहाँको आदीवासी मगर समुदायमा यो परम्परा तथा संस्कृति निकै फरक र अनौठो रहेको स्थानीयको भनाई छ । परम्पराकालदेखि चल्दै आएको परम्परालाई स्थानीयले जोगाई राखेका छन् । उनिहरुले देवि (स्थानीयको देउता) खुसी पार्नका लागि पुतली बनाउने, मानिसहरु पुतली जस्तो बनेर नाँच नाच्ने र अश्लिल शब्द भट्टाउदै गाउँमा हिड्ने परम्परा छ ।

समयमै पानी पर्ने र भल्कोटीलाई रोग व्यादी आदी नलागोस भनेर समेत उक्त परम्परालाई निरन्तरता दिइराखेको पुतली नाँच र उक्त नाँच संग जोडिएको परम्परालाई संरक्षण गदैं आएको तिलाचन युवा क्लवका अध्यक्ष सन्जु थापा मगरले बताउनुभयो । मगर राजाको सम्झनामा समेत यो पर्वलाई हाल सम्म निरन्तरता दिइएको छ ।

“यस परम्पराको अवसरमा पुतली नाँच, होरे कापै, पट्टा नाँच लगायतका क्रियाकलापहरु माघी पर्वको अवसरमा प्रत्येक वर्ष गरिन्छ, यो बाइसे चौबिसे राज्यका पालादेखि हो भन्ने छ, लिखित दस्तावेज छैन, तर परम्परा निरन्तरता छ, जुन अश्लिल बोलेर भट्टाउने कार्यलाई परम्परा धान्दै केही सुधार गरेर लगिएको छ” थापाले भन्नुभयो “परम्परालाई धान्दै केही अव्यबहारिक विषयलाई औपचारिकतामा सिमित गरिदै आइएको छ भने पुतली नाँचलाई बढी प्रर्बद्धन गरिदै आइएको छ ।

पुतली नाँचको अवसरमा राजा र रानीको पुतली बनाएर परम्पराकालदेखि संरक्षण गरिएको कलश संगै डोलामा हालेर पुतली नाँच्ने र साँझ पख निसीखोलामा पुतली सेलाउने परम्परा छ । थापाको अनुसार पुतली नाँचको अघिल्लो रातदेखि भोलिपल्ट पुतली नसेलाउन्जेल सम्म अश्लिल शब्द प्रयोग गर्न राजाका पाला देखि छुट दिइएको भन्ने छ, तर त्यस समय बाहेक अन्य समयमा त्यसो गर्न पाइदैन ।

लिखित दस्बाबेज नभएको संस्कार पुस्तान्तरण भने हुदै आएको स्थानीय मेहरसिंह बुढामगरले बताउनुभयो । “सिक्दै जादा पुतली बनेर नाचिन्छ, होरे कापैमा बढी युवा पुस्ता हुन्छन्, बाबु बाजेले सिकाएपछि युवाले सिक्छन्, म पनि २० वर्ष पुतली बनेर नाँचे अहिले बुढेसकाल लाग्यो, अन्य युवालाई हस्तान्तरण गरे” बुढामगरले भन्नुभयो “हामीले देख्दै र सुन्दै आएको कुरा हो, मगर राजाको सम्झानामा भन्ने चलन छ भने, देउता रिसाएर अनिष्ट हुन सक्ने भन्दै देउता खुसी पार्न परम्परालाई निरन्तरता दिइएको हो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *