बागलुङमा पाँच महिनामा सात कुष्ठरोगी भेटिए

आदर्श अनलाइन, बागलुङ

बागलुङमा साउन यता मात्रै सात जना कुष्ठ रोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय बागलुङले आज विश्व कुष्ठ रोग दिवसको अवसरमा जिल्लामा पछिल्लो समय कुष्ठ रोगीको संख्यामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यालयले कुष्ठ रोगीको पहिचान, उपचार र पुनस्थापनाका लागि स्वास्थ्य कार्यालयले गम्भिरतापूर्वक काम थालनी गरेको जनाएको छ । गत एक वर्षमा नौ जना कुष्ठ रोगी पहिचान भएकोमा असार यताको पाँच महिनामा मात्रै सात जना कुष्ठ रोगी फेला पर्नु खतराको संकेत रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

“गत वर्ष एक वर्षमा मात्रै जम्मा नांै जना कुष्ठ रोगी भेएिका थिए अहिले असार देखि मंसिर सम्मको मात्रै तथ्याङका आएको छ यस्मा सात जना कुष्ठरोगी भेटीएको र अबका दिनमा झनै कुष्ठरोगीको संख्यामा बढ्न सक्ने भएकाले कार्यालयले सचेतनामूलक कार्यक्रम थालेको छ,” कार्यालय प्रमुख शर्माले भन्नुभयो “बागलुङका चार पालिकामा यो वर्ष कुष्ठ रोगी भेटिएका छन्, हामीले पहिचान र उपचार र पुनस्थापनाका लागि काम गरिरहेका छौं ।” कुष्ठरोग प्रतिको सामाजिक दृष्टकोण बदलन अझै नसकिएको शर्माको भनाई छ ।

कार्यालय प्रमुख शर्माका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा बागलुङमा सात जना, आर्थिक वर्ष २०७७÷०७८ मा ९ जना कुष्ठरोगी भेटिएको मा चालु आर्थिक वर्षको असार देखि मंसिर सम्म सात जनामा कुष्ठरोग देखिएकाले बागलुङमा कुष्ठरोग समस्याका रुपमा देखिएको हो ।

असार यता कुष्ठरोग पहिचान र परिक्षण मार्फत बागलुङको बडिगाडमा तीन जना, जैमिनी नगरपालिकामा २ जना, गलकोट नगरपालिकामा १ जना र बागलुङ नगरपालिका १ जना कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ रोग निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार कुष्ठ रोग नियन्त्रणका लागि एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम समेत थालिएको छ ।

मानिसबाट मानिसमा सर्ने उक्त रोग स्वास प्रस्वासबाट सर्ने गरेको छ । उक्त रोग जटिल बन्दै गएपछि शरिरका अंगमा समेत क्षति पु¥याउने गरेको छ । गण्डकी प्रदेशमा हाल ९३ कुष्ठरोगी भेटिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

“कुष्ठरोगको नमूना संकलन, परिक्षणका लागि दक्ष जनशक्तिको अभाव रहेको छ, परिक्षणका लागि हरियोखर्क अस्पताल पठाउनुपर्ने अवस्था हो, अहिले बागलुङमा केही मात्रमा रोगीको संख्या बढिरहेको छ” घिमिरेले भन्नुभयो “रोग संग जोडिएको सबैभन्दा बढी सामाजिक विभेद हो, विभेद अझै हटेको छैन त्यसैले धेरै अझै यो रोगका बारेमा बाहिर आउन सकेका हुँदैनन्, हामीले यो रोग कुनै धार्मिक जंग नजोडिए नितान्त किटाणुका कारण लाग्ने रोग हो भनेर बुझाउने कार्यमा छौं ।”

स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा अहिले १२ जनाले नियमित कुष्ठ रोगको औषधी खाइराख्नुभएको छ । जटिल प्रकारको कुष्ठ रोगलाई एक वर्ष र सामान्य प्रकारको कुष्ठ रोगलाई छ महिना औषधी सेवनबाट निको पार्न सकिने भएकाले यो रोग समेत अन्य रोग जस्तै निको हुने रोग भएको घिमिरेले जानकारी दिनुभयो ।

कुष्ठ रोगका विषयमा धेरै सामाजिक, सांस्कृति र धार्मिक भ्रम हटाउन आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाई रहेको छ । बागलुङमा भेटिएका पुरै कुष्ठरोगीहरु आफै स्वास्थ्य कर्मीको पहुँचमा नआएर स्वास्थ्यकर्मीको पहलकदमीमा पहिचान गरिएका कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालयको भनाई छ ।

कुष्ठरोगको औषधी तथा उपचार सरकारी अस्पतालमा निःशुल्क पाइने भएपनि कतिय भेदभाव र सामाजिक डरका कारण कुष्ठ रोग लुकाएको पाइएको छ । कुष्ठरोग जटिल हुदै गएमा शारिरिक तथा मानसिक रुपमा अपाङ्गता बनाउने गरेको छ । कुष्ठ रोग लागेको ९७ प्रतिशत विरामी औषधी सेवनबाट निको हुने गरेको तथ्याङकले देखाएपनि कुष्ठरोग प्रतिको भेदभावलाई सचेतना मार्फत हटाउन नसकेको स्वास्थ्यकर्मीको गुनासो छ ।

कुष्ठ रोग एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को संक्रमणको कारणले लाग्दछ । संक्रमणको शुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्ने र संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव नदेखिने स्वास्थ्यकर्मीको भनाई छ ।

कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको भएकाले कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याँई गर्दा बिरामीको अवस्था नाजुक भई मृत्यू समेत हुने गरेको पाइन्छ । कुष्ठरोगीको शरीरमा कतिवटा वास्तविक रङ गुमेको अथवा लाटो फुस्रो दाग छ भन्ने कुराको आधारमा समेत छुट्टाइनछ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्न सक्ने रोग हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *