काठेखोलाको गाउँ–गाउँमा स्वास्थ्य सेवा

डम्मर बुढा मगर, बागलुङ
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ । सुगम पालिकामा आधा दशक अगाडिसम्म स्वास्थ्यको सहज पहुँच नहुँदा स्वास्थ्योपचारमा समस्या थियो । काठेखोलाका गाउँहरुबाट नागरिकहरु स्वास्थ्य उपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नु पर्ने अवस्था थियो । गाउँमा कोही बिरामी हुँदा अस्पतालभन्दा धामी झाँक्री कहाँ पुग्ने गर्थे । गाउँ नजिक स्वास्थ्य संस्था थिएनन् ।

तर अहिले गाउँपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । पालिकाका सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरि संचालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तंग्राम र लेखानी गाबिसमा १/१ वटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् ।

ठाउँ–ठाउँमा आधारभूत स्वास्थ्य इकाइ स्थापना भएपछि उपचारका लागि निकै सहज भएको स्थानीय पुतली थापाले बताउनुभयो । उहाँले गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारको लागि पनि घण्टौँ लगाएर ऋण खोजे रै बागलुङ पुग्ने गरेको अनुभव सुनाउनुभयो । गाउँपालिकाले आफूहरुको समस्या बुझेको थापा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– “ज्वरो आयो भने, हात खुट्टामा चोट लाग्यो भने पनि बागलुङ बजारमै पुग्नु पथ्र्यो, अहिले सानातिना बिरामीहरु यही गाउँमै उपचार हुन्छ, यहाँ उपचार गराउन पाउँदा खुसी लाग्छ, अब पहिलेको जस्तो बागलुङ बजारै जान नपर्ने भयो, सरकारले हाम्रो समस्या बुझेछ ।”

गाउँमा स्वास्थ्यको सहज पहुँच नहुँदा पहिले धेरैले अकालमा ज्यानसमेत गुमाउने गरेको भन्दै अहिले बिरामी हुँदा बित्तिकै स्वस्थ्य चौकी पुगेर चेकजाँच गर्ने र ठूलो उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान स्वास्थ्यकर्मीले सुझाउने हुँदा समयमै उपचार पाउने गरेको उहाँको भनाई छ । पहिले–पहिले स्थानीयहरु बिरामी हुँदा अस्पताल जानुको सट्टा धामी झाँक्री खोज्न जाने गरेको स्मरण गर्दै अहिले धेरै जसो बिरामी पर्दा साथ अस्पताल जाने उहाँ बताउनुहुन्छ ।

नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य इकाइ स्थापना गरर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले बताउनुभयो । नागरिक बिरामी परे घण्टौ लागेर स्वास्थ्य संस्था पुग्ने बाध्यतालाई केही रुपमा सहज गराउनका लागि सामुदायिक स्वास्थ्य इकाई र स्थापना गरेको उहाँको भनाई छ ।

“काठेखोलाका धेरै जस्तो गाउँमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको थिएन, नागरिकहरु सामान्य उपचारका लागि पनि बागलुङ, पोखरा जानु पर्ने अवस्था थियो, उहाँको समस्यालाई मध्यनजर गरि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालेका छौँ, अब नागरिकहरुलाई सामान्य उपचारका लागि टाढा जानु पर्ने बाध्यता हटेको छ” उपाध्यक्ष थापाले भन्नुभयो ।

गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकीको स्तरवृद्धि गर्ने र आधुसनक उपकरण तथा औषधीको व्यवस्थापना जोड दिएको थापाको भनाई छ । पहिले घण्टौ लगाएर स्वास्थ्य संस्थामा आउने नागरिकहरु अहिले १५ मिनेट आउन सक्ने भएको उहाँले बताउनुभयो । आफूहरु निर्वाचित भएर आएपछि वडा नम्बर ८ मा कादेस स्वास्थ्य इकाइ, वडा नम्बर १ दोबिल्ला स्वास्थ्य इकाइ, वडा नम्बर ४ मा फापरखेत स्वास्थ्य इकाइ र वडा नम्बर ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य इकाइ संचालनमा ल्याएको थापाको भनाई छ ।

उपाध्यक्ष थापा भन्नुहुन्छ– “हामीहरु नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण जडान, औषधी र दक्ष जनशक्ति व्यवस्थापनमा लागि रहेका छौँ, पहिले घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्ने बिरामी अब बढीमा आधा घण्टामै उपचार गराउन पुग्नुहुने छ, स्वास्थ्य सेवालाई सहज र सर्वसुलभ बनाउने अभियानमा हामीहरु छौँ ।”

गाउँपालिका स्थापना हुनु पहिले सात वटा स्वास्थ्य चौकी थिए । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामचन्द्र लामाले गाउँपालिकाले केही स्वास्थ्य चौकीहरुबाट एक्सेरे सेवासहित ल्याब सेवा पनि संचालनमा ल्याएको बताउनुभयो । अहिले सात वटै स्वास्थ्य चौकीमा ल्याब लेखानी र रेश स्वास्थ्य चौकीमा ल्याबसहित एक्सेरे सेवा रहेको उहाँको भनाई छ । उहाँका अनुसार सात वटै वडामा वर्थिङ सेन्टर संचालनमा रहेका छन् ।

“अहिले स्वास्थ्य चौकीहरुमा सेवा गुणस्तरी बन्दै गएको छ, एक्सेरेर, ल्याब सेवा थिएन, अहिले केहीमा संचालनमा आएका छन्, पालिकाले पनि स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गरि रहेको छ, स्वास्थ्य चौकी स्तरमा हुने सबै सुविधामा कुनै समस्या छैन” उहाँले भन्नुभयो ।

तीन वर्षदेखि शून्य होम डेलिभरी
पछिल्लो तीन वर्ष यता काठेखोला गाउँपालिकामा होम डेलिभरी शून्य छ । नागरिक स्तरमा चेतनाको अभिवृद्धि र पालिको प्रभावकारी कार्यक्रमले गर्दा काठेखोला शून्य होम डेलिभरी हुन सफल भएको स्वास्थ्य संयोजक रामचन्द्र लामाले बताउनुभयो । गर्भवती महिला नियमित गर्भ परीक्षण गर्न आउने र उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श दिइराखेको लामाको भनाई छ ।

उहाँ भन्नुहुन्छ– “काठेखोला ग्रामीण क्षेत्र हो, पहिले यहाँका नागरिकहरु कम शिक्षित र जनचेतना पनि वृद्धि हुन सकेको थिएन, सरकारको ‘पोलिसी’ उनीहरु समक्ष पुगेको थिएन, तर अहिले सरकारका हरेक कार्यक्रम नागरिकसम्म पुगेको छ, गर्भवती महिलाहरुलाई पनि नियमित गर्भ परीक्षण गराउनु पर्छ भन्ने ज्ञान बढेपछि होम डेलिभरी शून्य भएको हो जस्तो लाग्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *