पक्की पुल बनेपछि रेश र धम्जाबासीलाई सहज

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्र्तगत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नम्बर ७ रेशको सिमानामा रहेको एक्लेखेत स्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि रेश र धम्जामा अब बाह्रैमास यातयातका साधन चल्ने भएको छ ।

बागलुङको काठेखोला गाउँपालिकाको रेशमा वर्खा लागेपछी सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“रेशमा वर्खामा खोला बढ्दा सवारीसाधन पार हुन सकेका थिएनन्, केही वर्ष अघि खोलामा हिमपाइप राखिएपनि खोलाले बगाएपछि समस्या थियो, केही सवारीसाधनहरु वर्खामा सिगानाको सडक हुँदै घुमेर बजार आउने जाने गरेका थिए” वडा अध्यक्ष लामिछानेले भन्नुभयो “काठेखोलामा दुई पुल एकैसाथ निर्माण हुँदा बर्खामा सवारीसाधन आउजाउ गर्न सहज भएको छ ।”

रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु. ५ करोड २७ लाख बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल रेश खोलामाथि निर्माण भएको हो ।

रु. ५ करोड लागतमा पुल निर्माणको लागि निलगिरी नेशनल जेभीले जिम्मा लिएको थियो । २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्त सम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण व्यवसायीको छ । पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ ।

यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । रु. ३ करोड ३१ लाख मा उक्त पुलको निर्माणको जिम्मा समेत निलगिरी नेशनल जेभीले लिएको थियो ।

२०७७ साल माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भएपनि कोरोना महामारीका कारण सम्झौता भन्दा दुई वर्ष पछि मात्रै सम्पन्न भएको छ ।

लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले जानकारी दिनुभयो । “सवारीसाधन पुलबाटै गुड्न थालेका छन्, हस्तान्तरण र उद्घाटन भएको छैन, केही रङ्गरोगनको काम सकेर हस्तान्तरणका गर्ने निर्माण व्यवसायीको भनाई छ” बिकले भन्नुभयो । कोरोना माहामारी, बर्खाका कारण निर्माणको काममा केही अवरोधका बीच पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि सुनिल सिंह खत्रीले बताउनुभयो ।

रेश र बिँहु जोड्ने पुलले दुवै वडा मात्र नभएर गाँउपालिकाको सबै जनतालाई यात्रामा सहज प्रदान गर्ने काठेखोला गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *