दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या

डम्मर बुढा मगर, बागलुङ
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरमा छ तमानखोला गाउँपालिका । यहाँका गाउँहरु निकै विकटमा छन् । अग्ला–अग्ला पहाड र छरिएको बस्ती बस्ती हुँदा एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्ने गर्छ । गाउँहरु सामान्य विकासको पूर्वाधारले भर्खर–भर्खर जोडिँदै छन् । स्थानीय सरकार आएपछि विकासले जोडिन थालेका गाउँका नागरिक अहिलेसम्म इन्टरनेटको पहुँचदेखि निकै टाढा छन् ।

हरेक पालिकाको केन्द्रदेखि वडा–वडासम्म इन्टरनेट बिस्तार गर्ने सरकारको नीति अनुसार गाउँपालिकाले छ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरेको छ । चार वर्ष अगाडि गाउँपालिकाले इन्टरनेट जडान गरे पनि राम्रोसँग नचल्दा कर्मचारी र सेवाग्राहीले समस्या भोग्नु परेको छ । भौगोलिक विकटताका कारण इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

अध्यक्ष बुढा मगरले टेकमाइन कम्पनीसँग सम्झौता गरेर सबै वडामा इन्टरनेट बिस्तार गरेको भन्दै सुरु सुरुमा राम्रोसँग चले पनि अहिले कहिले चल्ने कहिले नचल्ने गरेको बताउनुभयो । इन्टरनेट नियमित नचल्दा सेवाग्राही मर्कामा पर्ने गरेको अध्यक्ष बुढा मगरको भनाई छ । सेवालाई थप प्रभावकारी र गुणस्तरी बनाउन थाले पनि इन्टरनेटका कारण सोचे अनुसार काम गर्न नसकेको उहाँले बताउनुहुन्छ ।

अध्यक्ष बुढा मगर भन्नुहुन्छ– “वडा कार्यालयहरु निकै विकट ठाउँमा छन्, डाँडापाखा हुँदा इन्टरनेटको केवल पु¥याइएको छ, नेट कहिले चल्छ कहिले चल्दैन, पञ्जिकरण, राजश्व संकलन, कार्यालयका कागजात सम्बन्धि तथा अन्य कामहरु इन्टरनेटबाटै गर्नु पर्छ तर नचल्दा समस्या भएको छ, सेवाग्राहीहरुलाई दिउसभर कुराउनु पर्ने अवस्था पनि हुन्छ ।”

उहाँले पालिकाको वडा नम्बर ४, ५ र ६ मा बढी समस्या भएको बताउनुभयो । वडा कार्यालयसँगै केही विद्यालयहरुमा पनि इन्टरनेट बिस्तार गरेको उहाँको भनाई छ । इन्टरनेटलाई व्यवस्थित र द्रुत गतिमा चल्ने गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरि रहेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

भौगोलिक विकटताका कारण तारमा समस्या आउँदा कहिलेकाहीँ तत्काल मर्मत गर्न नसक्दा इन्टरनेट अवरुद्ध हुने टेकमाइनस नेटवर्क बुर्तिबाङका प्रमुख टेकबहादुर कार्कीले बताउनुभयो । उहाँले बर्खामा बाहेक अन्य समय नियमित इन्टरनेट संचालन हुने गरेको बताउनुभयो । सेवालाई थप व्यवस्थित गर्नका लागि कम्पनीले व्यवस्थापनलाई चुस्त बनाई रहेको उहाँ बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ– “तमानखोलाको धेरै ठाउँमा भौगोलिक विकटताका कारण पुग्न गाह्रो हुन्छ, टाढाबाट वन जंगल हुँदै तार मार्फत इन्टरनेट वडा कार्यालयसम्म पु¥याएका छौँ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सेवा अवरुद्ध हुने स्वभाविक भयो, धेरै समय तीव्र गतिमै नेट चल्छ, बर्खामा हो अलिकति समस्या हुने नत्र त्यसरी सबै अवरुद्ध हुँदैन ।”

निसीखोला गाउँपालिका–६ को कार्यालयमा पनि निरन्तर इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको वडा अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान)ले बताउनुभयो । उहाँले इन्टरनेट आउने जाने गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *