कछुवा गतिमा बागलुङ नगर लिफ्ट आयोजना


खेमराज गौतम, बागलुङ

पटक–पटक म्याद थप्दा समेत सम्पन्न नहुँने बागलुङका थुप्रै ठूला आयोजना छन्, जसमध्येको एक हो बागलुङ नगर वृहत लिफ्ट खानेपानी आयोजना ।

बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाको रुपमा रहेको बागलुङ नगर वृहत लिफ्ट आयोजनाको काम तीन पटक म्याद थप्दा समेत अझै सकिएको छैन ।

यस अघि निर्माण व्यवसायीले पुस मसान्त सम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिएपनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । अशुद्ध र अप्रयाप्त खानेपानीको समस्या भोग्दै आएको बागलुङ बजारबासीले वीगत २०७५ सालदेखि उक्त लिफ्ट आयोजनाको आशमा छन् ।

दुई वर्षमा लिफ्ट खानेपानी आयोजना सक्नेगरी २०७५ असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०७७ असारमा सक्नुपर्ने योजना तीन पटक म्याद थप्दा समेत हाल सम्म सम्पन्न नभएको बागलुङ नगरखानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले जानकारी दिनुभयो ।

“२०७७ असारमा सक्नेगरी सम्झौता भएको निर्माण व्यवसायीले हाल सम्म तीन पटक म्याद थपेको छ, अहिले कोरोनाको कारण माघ मसान्त सम्म म्याद छ, मसान्त आउन लागिसक्यो, काम अन्तिम चरणमा भएपनि निर्माणमा धेरै ढिलाई भएको छ” शर्माले भन्नुभयो “अहिले विल भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ, अहिले आयोजनाका लागि आवश्यक विद्युतीकरणको काम भइहरको छ, आयोजना सक्न धेरै समय नलाउला तर दुई वर्ष अघि बागलुङ बजारबासीलाई खुवाइनुपर्ने पानी अझै खुवाउन नसक्दा नगरखानेपानी दुखी छ ।”

लिफ्ट आयोजना आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी निर्माण भइरहेको भएपनि निर्माणमा ढिलासुस्तीका कारण उपभोक्ताहरु हैरानी खेप्न बाध्य भएका छन् ।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु. ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माण स्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाई भएको निर्माण व्यवसायीको जिकिर छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भएर प्राविधिक काम मात्रै बाँकी रहेको निर्माण व्यवसायीको भनाई छ । अहिले निर्माण व्यवसायीले रु. तीन करोड भुक्तानी नपाएका कारण प्राविधिक परिक्षणमा कठिन देखिएको निर्माण व्यवसायीको तर्फका इन्जिनियर बिक्रम अधिकारीले बताउनुभयो ।

“आयोजना निर्माणमा विभिन्न समस्या आए, तीन पटक म्याद थप हुँदा बल्ल काम अन्तिम चरणमा पुगेको छ, माघ मसान्त सम्म परिक्षण सम्म गर्न सकिन्छ भन्नेमा छु” उहाँले भन्नुभयो “अहिले केही विद्युतीय तार आउन बाँकी रहेको छ, मोटरहरु जोड्न मात्रै बाँकी हो एक दुई महिनामा काम सबै सकिएर पानी रातमाटा पु¥याउनेमा लागेका छौं ।”

मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मर समेत जडान भइसकेको छ । काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम कछुवा गतिमा देखिएको स्थानीय रुविन सापकोटाले गुनासो गर्नुभयो । अबत काठेखोलाको पानी आउला भन्नेमा आशावादी भएकै तीन वर्ष वितेको सापकोटाको भनाई छ । निर्माण व्यवसायीको भनाईमा आयोजनाको प्रगती ९० प्रतिशत पूरा भएको छ ।

वर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दुषित पानी वितरण भइरहदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित हुँदै आएका छन् भने नगरखानेपानीले लिफ्ट आयोजना नबन्दा सम्म अन्य विकल्प दिन नसक्ने जनाउदै आएको छ ।

अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिका स्थित रेश र लेखानी खोलाबाट ल्याइदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना २०७५ असार देखि निर्माण थालिएको थियो ।

डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।

बागलुङ नगरपालिका–३ काठेखोला नजिकैको कैलामपोखरीमा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको पाँच वर्ष पुग्नै लाग्दा बल्ल अन्तिम चरणमा पुगेको हो । नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा पाँच वर्ष अघि आयोजना सुरु भएको थियो ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *