स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँँ–मुख्यमन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । शनिबार बागलुङ स्थित धौलागिरी अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले स्वास्थ्य संस्थासँगै सेवालाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।

दूर दराजका नागरिकलाई पनि स्वास्थ्यको सहज पहुँचसँग जोड्न गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गर्ने तथा आवश्यक उपकरण, औषधीको व्यवस्थापन गर्ने बताउनुभयो । स्वास्थ्यकर्मीले सेवा प्रवाहमा कुनै ढिलासुस्ती नगर्न उहाँले निर्देशन दिनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो– “समयको सही प्रयोग गरि बिरामीलाई कत्ति पनि दुःख नहुने गरि सेवा दिनु पर्छ, ढिलासुस्तीले कसैको ज्यान जान सक्छ, कयौँ अस्पतालमा जनशक्ति नपुगेको गुनासो छ, त्यसको व्यवस्थापनका लागि प्रदेश सरकार गम्भीर भएर लाग्छ, अस्पतालमा आउने कोही पनि बिरामी उपचार बिना नफर्कियोस् ।”

उहाँले धौलागिरी अस्पतालमा आफू स्वास्थ्यमन्त्री हुँदा जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य बीमा लागु गरेको स्मरण गर्दै यहाँको निर्माणाधिन नयाँ भवनलाई तत्काल सम्पन्न गरि थप व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

जनशक्ति व्यवस्थापन, हरि खड्का ट्रमा सेन्टर संचालन लगायतका अन्य कामहरु गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्लाबाट निर्वाचित प्रदेश सांसद तथा गण्डकी प्रदेश सभाको उपसभामुखमा निर्वाचित बिनाकुमारी थापालाई सम्मान गरिएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट अमित ढुङ्गानाले अस्पतालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम धौलागिरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षता उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको स्वागत र अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *