नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा


आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधा वापतको रकम सामाजिक काममा लगाउन थाल्नु भएको छ ।

जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिनु भएका राजु खड्काले निर्वाचनको आठ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थाल्नु भएको छ ।

खड्काले उपप्रमुखको निर्वाचनमा होमिदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गर्नुभएको थियो ।

खड्काले गत दशैमा शहिद, वेपत्ता र घाइतेका परिवारलाई लत्ता कपडा र खाद्यन्न वितरण गर्नुभएको थियो भने हालै एक विद्यालयमा रु. एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । जनप्रतिनिधि भएको आठ महिना पुरा भइसक्दा प्राप्त सेवा सुविधा वापतको रकमले खाद्यन्न सहयोग तथा विद्यालयमा अक्षयकोष स्थापना गरिएको खड्काले बताउनुभयो ।

जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधा बापतको रकमले बागलुङ बजारको एक सामुदायिक विद्यालयमा रु.एक लाखको अक्षय कोष निर्माण गरिएको नगर उपप्रमुख खड्काले बताउनुभयो ।

खड्काले बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चनेगरी रु. एक लाखको कोष स्थापना गर्नुभएको हो । खड्काले एक महिना भित्रै अर्को सामुदायिक विद्यालयमा समेत रु. एक लाख बराबरको कोष स्थापना गर्ने तयारीमा हुनुहुन्छ ।

“जनप्रतिनिधि जनताको सेवक हो, नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवा सुविधा वापतको रकम आउने रहेछ, उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमै उल्लेख गरिएको थियो, त्यही घोषणापत्र कार्यान्वयनमा लागेको हु” खड्काले भन्नुभयो “आफूलाई प्राप्त सेवा सुविधा, शहिद परिवार, वेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्ने गरी अगाडी बढेको छु, माघ महिना भित्रै थप एक लाखको अक्षयकोषका लागि सामुदायिक विद्यालयको खोजीमा छु ।”

खड्काले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताउनुभयो । जनप्रतिनिधिको सेवा सुविधा लिएर सामाजिक कार्यमा खर्च गर्दा आफूमा जनप्रतिनिधि भएकोमा गर्भ महशुस हुने भएकाले आफूले यस्तो निर्णय लिएको बताउनुभयो ।

“नगरभित्र चाडवाडको समयमा गरिबको चुलोमा मिठो पाकोस, एक जोर लुगा लगाउन पाउन भन्ने चाहना छ, उनिहरुलाई एक छाक खानाका लागि आफूलाई आएको सेवा सुविधा वापतको रकम खर्चदै आएको छु भने पाँच वर्षे कार्यकालमा धेरैलाई सहयोग गर्ने अपेक्षा लिएको छु” उपप्रमुख खड्काले भन्नुभयो “जनप्रतिनिधि जागिरे होइन, जनताको सेवक हो, काम गर्ने क्रममा जनताकोमा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु त्यही सहयोग गर्नेछु, कुनै निश्चित क्षेत्र छैन तर शिक्षा क्षेत्रको विकास, शहिद परिवार र गरिब र अपाङ्गता केन्द्रित भएर आफ्नो सेवा सुविधा खर्च गर्ने सोचमा छु ।”

खड्काले विद्यालयका लागि एक लाखको अक्षय कोष स्थापना गर्नुभएको र त्यही कोषको व्याज बापतको रकमबाट उपप्रमुखकै सल्लाहबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा खर्चने रुद्रेपिपल माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *