डम्मर बुढा मगर, बागलुङ
चोक–चोकमा होस् या चिया पसलमा । मेला महोसत्वमा होस् या एकान्तमा राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनि सक्यो । उहाँले नेपालको मात्रै राष्ट्र गान गाउँनु हुन्न । नेपालीलाई अहिले १५० भन्दा बढी देशका राष्ट्रगान कन्ठस्थ छ । नेपालीले हालसम्म ११ देशमा पुगेर राष्ट्रगान गाउनु भइसकेको छ । विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहनु भएका नेपाली ८२ देशका गान तयारी गरि राख्नु भएको छ ।
जिल्लाको बागलुङ नगरपालिका–६ का स्थानीय ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्ष भयो । नेपालीको परिचय अहिले रामजीभन्दा पनि विश्व यात्री भनेको छ । सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान गाएर विश्व यात्रा थाल्नु भएका नेपाली अहिलेसम्म युरोपका विभिन्न देश, युएई, भारत गरि ११ देशको यात्रा गरि सक्नु भएको छ । उहाँले जुन देशमा पुग्नुहुन्छ । उही देशकै भाषमा राष्ट्र गान गाउनुहुन्छ ।
यसरी जुन देशमा पुग्यो उही देशको भाषामा राष्ट्रगान गाउँमा नेपाललाई विश्व सामु चिनाउन सकिने बताउनुहुन्छ । २५ वर्षदेखि नेपाली गीत संगीतमा आफूलाई स्थिापत गर्दै आउनु भएका नेपालीले राष्ट्रगानले विश्वबन्धुत्वलाई थप बलियो बनाउने बताउनुभयो । नेपाललाई अन्तराष्ट्रिय पर्यटनसँग जोड्नका लागि आफूले विश्वका देशहरुको राष्ट्रगान गाउँदै हिँडेको सुनाउनुभयो ।
“हाम्रो देश नेपालमा अथाह धार्मिक तथा पर्यटकीय ठाउँहरु छन्, अहिलेसम्म यी ठाउँहरुमा अन्तराष्ट्रिय पर्यटक आउन सकेका छैनन्, उनीहरुलाई नेपाल ल्याउन, यहाँको पर्यटनलाई विश्वसँग जोड्नको लागि विश्व यात्रा थालेको हुँ, हिँजो नेपालीको लागि गाउँथे आज विश्वका मानिसको लागि गईरहेको छु” नेपालीले भन्नुभयो– “विदेशको एउटा कुनामा पुगेर विश्वका राष्ट्रगान गाउँमा भौरव लाग्छ ।”
संसार सामु नेपाल चिनाउनका लागि आफूले विश्व यात्रा तय गरेको नेपाली बताउनुहुन्छ । राष्ट्रगानले विश्वलाई एक ठाउँ जोड्ने हुँदा आफू यो अभियानमा लागेको उहाँको भनाई छ । नेपाली भन्नुहुन्छ– “संसारकै शिर सगरमाथा छ, हिमालयको देश, बुद्ध जन्मेको देश, प्राकृतिक रुपमा अत्यन्त सुन्दर भूमि नेपाल विश्वमा चिनिएको त छ, संसारका मान्छेलाई यहाँ ल्याउन सकिन्छ, त्यहि उद्देश्यले बोकेर मैले विश्व यात्रा थालेको हुँ ।”
उहाँले विभिन्न देशमा पुगेर उनीहरुकै राष्ट्रगान गाउँदा सत्रुजस्ता देखिनेहरु पनि उनीहरुको देशको राष्ट्रगान सुनेपछि परिवारजस्तै गर्ने गरेको अनुभव सुनाउनु भयो । राष्ट्रगानले आत्मियता बढाउने रभाइचाराको सम्बन्ध बढाउने नेपालीको भनाई छ । विश्व यात्रा कहिले सकिन्छ भन्ने उहाँसँग यसको ठ्याक्कै जवाफ त छैन तर केही वर्षमै विश्वका सबै देशको राष्ट्रगान कन्ठस्थ गर्ने नेपाली बताउनुहुन्छ
“धेरै देशको गान त मैले गाउन सक्ने भइसकेको छु, अब धेरै देशको बाँकी छैन, अबको दुई÷चार वर्षमा विश्वका सबै देशका राष्ट्रगान कन्ठस्थ पार्न सक्छु तर विश्व यात्रा कहिले सकिन्छ भन्ने एकिन छैन” नेपालीले भन्नुभयो ।
नेपाली सामान्य परिवारको हुँदा आर्थिक व्यवस्थापन आफै गर्न सक्ने अवस्था छैन । विभिन्न व्यक्ति तथा संघ संस्थाकै सहयोगमा विश्व यात्रा गरि रहनु भएको छ । उहाँलाई जति छिटो आर्थिक सहयोग जुट्छ त्यतिनै छिटो विश्व यात्रा सकिने नेपाली बताउनुहुन्छ ।
विश्व यात्राका क्रममा उहाँले जुन देशमा पुगे पनि पहिला भने नेपालकै ‘सैयौँ थुगा फूलका हामी एउटै माला नेपाली’ गाउने गरेको बताउनुभयो । दोस्रोमा सम्बन्धित सोही देशको र त्यसपछि विश्वका अन्य देशका राष्ट्रगान गाउने नेपाली बताउनुहुन्छ । राष्ट्रगानले उनीहरुमा उर्जा भर्ने गरेको उहाँको बुझाई छ ।
विश्व यात्रामा लागिरहँदा तितामिठा दुवै अनुभूति रहेको उहाँ सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ– “जसले पनि आफ्नो देशलाई माया गर्छ, त्यसले गर्दा आत्म सम्मानको अनुभूति गर्दा रहेछन, जुन देशको राष्ट्रगान हो त्यहि देशको भाषामा गाउँदा उनीहरुलाई गर्व लाग्दो रहेछ त्यसले हामीलाई कनेक्ट गर्ने काम गर्नेछ, मलाई बाहिरी कुराले होइन, मेरो भित्री मनले नै मलाई विश्वका राष्ट्रगान गाउन उत्प्रेरित गरेको हो, म सक्छु भन्ने भित्रैदेखि लागेकोले यहि क्षेत्रमा निरन्तर लागेँ ।”
यात्राको क्रममा उहाँले पैदल, गाडीदेखि जहाजसम्म जे भेटिन्छ त्यसैमा यात्रा गर्ने गर्नु भएको छ । तर सबै भन्दा बढि आनन्द पैदल यात्रामा हुने उहाँ सुनाउनुहुन्छ । विश्व यात्राको क्रममा आफुले कष्ट भोगे पनि यसको फाईदा सिङ्गो देश, समाज र परिवारले पनि पाउने नेपालीको बुझाई छ । “आज म यो यात्रामा लागिरहँदा परिवार बिर्सनु परेको छ, साथीसँगीबाट टाढा भएको छु, घामपानी झरी नभनी हिँड्नु पर्छ, यसले मलाई अहिले दुःख भए पनि भविष्यमा नेपालले फाइदा पाउनेछ, नेपालीले फाइदा पाउने छन्, नेपालीको विश्व सामु गर्वका शिर उचो हुने आशा लिएको छु ।”