तीन साहित्य स्रष्टा पुरस्कृत

आदर्श अनलाइन, बागलुङ

धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले तीन साहित्य स्रष्टालाई पुरस्कृत गरेको छ । शनिबार बागलुङमा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य बिखर्ची खड्काको बाहुलीबाट तीन साहित्य स्रष्टालाई नगद सहित पुरस्कृत गरिएको हो ।

प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गरेको छ । पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्ये निरुपण मण्डलले उहाँको उपन्यास कृति ‘पटाक्षेप’लाई छनोट गरेको थियो । हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु. २० हजार छ ।

प्रतिष्ठानले १६ औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गरेको हो । यसअघि उक्त पुरस्कारबाट काठमाडौँका लेखक बाजुराम पौडेल, तनहुँका काशीनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललायत पुरस्कृत भइसक्नुभएको छ ।

यस्तै प्रतिष्ठानमा स्थापित ‘बम–सरस्वती स्मृति पुरस्कार’ यस वर्ष कपिलवस्तुका स्रष्टा सकुन्तला शर्मा पौडेललाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु. १० हजार रहेको छ । बागलुङ, मूलपानी घर भई हाल बेल्जियममा रहनुभएका कवि दीपेन्द्र केसीले हजुरबुबा र हजुरआमाको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो ।

उक्त पुरस्कारबाट यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायत पुरस्कृत भइसक्नुभएको छ । प्रतिष्ठानबाट पहिलोपटक ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’बाट बागलुङ, बेलवाका स्रष्टा तुलसी पौडेललाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि पनि रु. १० हजार रहेको छ । बलेवा निवासी डा. प्रेमप्रसाद शर्माले दिवङ्गत बुबाआमाका नाममा सो पुरस्कार स्थापना गर्नुभएको हो । प्रतिष्ठानले साहित्यको श्रीवृद्धिमा योगदान गर्ने कवि, लेखकहरुलाई बर्सेनि पुरस्कृत गर्दै आएको छ । विसं २०४१ मा स्थापित प्रतिष्ठान भाषा, साहित्य र कलाको उत्थानमा क्रियाशील छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य बिखर्ची खड्काले साहित्यको संरक्षका खातिर यस्ता पुरस्कारले ठूलो योगदान गर्ने बताउनुभयो । कार्यक्रममा पटाक्ष उपन्यासमाथी धौलागिरी क्याम्पसका प्रध्यापक हरिप्रसाद पाण्डेले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *