मालढुङ्गाको तटीय बस्ती जोगाउन तटबन्ध


खेमराज गौतम, बागलुङ

कालिगण्डकी दोहनका कारण अहिले कालगिण्डकीका तटिय बस्ती जोखिममा पर्दै आएका छन् । कालीगण्डकी नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय नदि कटानको जोखिम बढ्दै आएको हो । कालीगण्डकीले मालढुङ्गाको पक्की पुल क्षेत्रमा बढी कटान गरेकाले तटबन्ध गरिएको छ ।

अबैध नदी दोहनका कारण कालगिण्डकी नदीको बाहव परिवर्तन भएर बस्ती जोखिममा पर्न थालेपछि यस वर्ष मालढुङ्गा क्षेत्रमा तटबन्धको काम भइरहेको छ ।

कालीगण्डकी नदीको कटान बागलुङ जिल्ला तर्फ बढी हुँदा मालढुङ्गाको बस्ती जोगाउनका लागि जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले कतै पक्की त कतै जाली ग्याबिन लगाएर तटबन्ध गरेको हो ।

चालु आर्थिक वर्षमा मालढुङ्गामा नदी कटान रोक्दै मालढुङ्गाको तटीय बस्ती, मालढुङ्गा प्रहरी चौकी, मन्दिर लगायतका संरचनाहरु जोगाउनका लागि रु.९० लाखको लागतमा तटबन्ध गरिएको हो ।

बस्ती नियन्त्रणका लागि कालीगण्डकी नदिमा तटबन्ध गर्नका लागि बिनियोजन गरिएको रु.९० लाख मध्ये रु. २५ लाख लागतमा १७७ थान ग्याबिन जाली लगाइएको छ भने रु. ६५ लाखको लागतमा पक्की पर्खाल लगाइएको जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो ।

“ग्याबिन जाली लगाउने कार्य सम्पन्न भएको छ भने पक्की पर्खालको लागि ढलान भइरहेको छ, कालीगण्डकी कदीका कारण मालढुङ्गाको पुल वरपरको बस्ती जोखिममा पर्दै आएका कारण यो वर्ष विनियोजित बजेटबाट हामीले काम गरेका हौं” डिभिजन प्रमुख ओझाले भन्नुभयो “अहिले जिल्लामा संघीय आयोजना मार्फतका १४ वटा र गण्डकी प्रदेश सरकार अन्र्तगतका २० योजना जिल्लामा सञ्चालित छन्, जसमध्ये यो पटक कालीगण्डकी नदि नियन्त्रणका लागि दुई योजनामा रु. ९० लाख विनियोजन बजेट थियो, त्यहीबाट काम भएको हो ।”

कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदी खोला लगायतका नदीहरुको कटान रोकी नदिलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिदै आइएको ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार बसैधन्दा बढी नदी नियन्त्रणको काम गलकोट नगरपालिका भित्रका नदीहरुमा भइरहेको छ ।

पछिल्लो समय कालीगण्डकी नदीले धार परिवर्तन गर्दा मालढुङ्गाको तटीय बस्ती जोखिममा परेको स्थानीय सुनमती माझीले गुनासो गर्नुभयो । उहाँले वर्खामा नदिको धार बागलुङ तर्फ बढी बहदा तटिय बस्ती जोखिममा पर्दै आएको गुनासोपछि नदी नियन्त्रणको काम थालिएको बताउदै केही हद सम्म बस्तीको जोखिम घटेको बताउनुभयो । “मालढुङ्गाको तटीय बस्तीमा नदीको कटान बढी छ, दिनानुदिन नदी गहिरो भइरहेको छ, जस्कारण बस्तीमुनी नदीले कटान गर्दै बस्तीलाई जोखिममा पारेको छ, हामीले पटक–पटक नदी नियन्त्रणको लागि आवाज उठाएका छौं, यस पटक केही काम भएको देखियो” उहाँले भन्नुभयो “मालढुङ्गाको पुल माथिको नदी कटान रोक्नका लागि पक्की पर्खाल र पुल मुनिको नदी कटान रोक्न ग्याबिन जाली लगाउदा जोखिम घटेको छ ।” उहाँका अनुसार नदीको कटान रोक्ने योजनाहरु वर्षेनी ल्याउन आवश्यक रहेको छ ।

यस्तै बागलुङ जिल्लाको प्रवेशद्वारामा कालीगण्डकी नदी माथी निर्माण भएको पुल समेत कालीगण्डकी नदीको कटानले जोखिममा परेपछि गत वर्षमात्रै सडक डिभिजन कार्यालय बागलुङले पुलको जगक्षेत्रमा पर्खाल समेत लगाइएको छ । हिउँदको समयमा जथाभावी कालीगण्डकी नदीबाट ठूला उपकरणको सहायताले नदीजन्य पदार्थ उत्खनन् गर्दा वर्खाको समयमा कालीगण्डकी नदीको बाहव परिवर्तन भई बस्ति बगाउने जोखिम बढ्दै गइरहेको छ ।

जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा संघीय र प्रदेशका ४३ वटा नदी नियन्त्रणको योजना मध्ये २० भन्दा बढी योजनाको काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा नदी दिनयन्त्रणका लागि संघीय सरकारबाट रु. दुई करोड ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु.दुई करोड ४७ लाख बजेट बिनियोजन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *