जेष्ठ नगरिकको घर–घरमै पुगेर उपचार गर्दै गलकोट नगरपालिका

डम्मर बुढा मगर, बागलुङ
गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले आफ्नो जीवनकालमा सामान्य औषधी उपचारका लागि घण्टौँ धाउँदै आउनु भएको थियो । तर अहिले नगरपालिकाले गाउँ–गाउँमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी दिन थालेपछि वृद्धवृद्धाहरुमा खुसी छाएको छ ।

नगरपालिकाले ६० वर्षमाथिका जेष्ठ नागरिकको सहजताका लागि माघ महिनादेखि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधी उपलब्ध गराउन थालेको छ । घरमै उपचार पाएपछि राना दंग हुनुहुन्छ– “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमै पुग्नु पथ्र्यो, अहिले घरमै आएर डाक्टरले जाँचेर औषधी दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन पनि सक्न छोडियो, सरकारले डाक्टर घरमै पठाई दिनुभयो ।”

पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्दै जाने गरेको स्मरण गर्दै अहिले औषधीनै खान थालेको बताउनुभयो । गलकोट नगरपालिका–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमै स्वास्थ्य परीक्षण गराउनु भयो । उहाँलाई स्वास्थ्यकर्मीले घरमै औषधीसमेत उपलब्ध गराए । घरमै स्वास्थ्य जाँच र औषधी पाएपछि भण्डारीले मुलुकमा साच्किै परिवर्तन आएको अनुभव भएको सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ– “केही दिनदेखि सञ्चो थिएन, अस्पताल जाने निधो गरेको थिए, त्यही बेला घरमै डाक्टरहरु आएर चेक जाँच गरेर औषधी दिए, अस्पताल जानै परेन, नगरपालिकाले घरमै आएर उपचार गर्छ भन्ने सुनेको थिएँ, विश्वास लागेको थिएन, तर हो रैछ, हामी जस्ता उमेर नाघेका बुढाबुढीहरुलाई सजिलो हुने भयो ।”

गलकोट नगरपालिका–२ का अध्यक्ष तथा प्रवक्ता हिमबहादुर भण्डारीले जेष्ठ नागरिकको स्वास्थ्यप्रति नगरपालिका गम्भीर भएर लागेको बताउनुभयो । जेष्ठ नागरिकमा बेला–बेलामा स्वास्थ्यमा समस्या आउने र अस्पताल पु¥याउन केही समस्या हुने हुँदा नगरपालिकाले घरमै पुगेर स्वास्थ्य परीक्षण र सामान्य औषधीहरु उपल्ब्ध गराउन थालेको बताउनुभयो ।

“यस वर्षदेखि हामीहरुले नयाँ कार्यक्रम सुरु गरेका छौँ, खास गरि यो जेष्ठ नागरिकका लागि हो, समय–समयमा गाउँ–गाउँमा स्वास्थ्यकर्मीसहित जाने, जेष्ठ नागरिक भेट्ने, उहाँहरुको समस्या बुझ्ने र स्वास्थ्य अवस्था कस्तो छ, जाँच गर्ने, सामान्य औषधी त नगरपालिकाले उपलब्ध गराउँछ, टाढा पठाउनु पर्ने भए पनि त्यही अनुसार सुझव दिन्छौँ” प्रवक्ता भण्डारीले भन्नुभयो ।

जिल्लामै पहिलो पटक नगर अस्पताल संचालन
नगरपालिकाले जिल्लामै सबैभन्दा पहिलो नगर अस्पताल संचालनमा ल्याएको छ । केन्द्र सरकारको एक पालिका एक आधारभूत अस्पताल संचालन नीति अनुसार नगरपालिकाले नगर अस्पताल संचालनमा ल्याएको हो । नगरपालिकाले साविक गलकोट प्राथमिक स्वास्थ्य प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि नगर अस्पातल बनाएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

नगरकार्यपालिकाको पौष १७ को निर्णय अनुसार वडा नम्बर ५ को हरिचौरमा नगर अस्पताल संचालनमा ल्याएको उहाँको भनाई छ । हालसम्म नगरपालिकाको आन्तरिक स्रोतबाटै अस्पताल व्यवस्थापन गरेर संचालनमा ल्याएको भन्दै अब प्रदेश र केन्द्र सरकारसँग आवश्यक जनशक्ति तथा उपकरण र भौतिक संरचनाको माग गर्ने प्रमुख गैरेले बताउनुभयो ।

“अहिले १० बेडमा बिरामी भर्ना गरेर उपचार सुरु गरेका छौँ, आगामी वर्षदेखि सामान्य अप्रेशन पनि सुरु गर्ने योजनामा छौँ, अस्पतालका लागि थप संरचना आवश्यक छ, त्यसका लागि जग्गा व्यवस्थापनकै चरणमा छौँ” नगर प्रमुख गैरेले भन्नुभयो– “अहिले सुरुवात हो, सेवालाई प्रभावकारी बनाउँदै जाने छौँ ।”

उहाँले गलकोट क्षेत्रका नगरिकलाई यही ठाउँमै सहज र गुणस्तरीय सेवाका लागि आफूहरु लागेको बताउनुभयो । पछिल्लो समय सेवा सुविधा खोज्दै शहर बजार जानेको संख्या बढ्दै गएको भन्दै उनीहरुलाई यही ठाउँमा रोक्नका लागि स्वास्थ्यसहितका सेवा उपलब्ध गराउँदै जाने प्रमुख गैरे बताउनुहुन्छ ।

अस्पतालमा कम्तीमा एक जना विशेषज्ञसहित दुई जना मेडिकल अधिकृत, एक हेल्थ असिस्टेन्ट, तीन अनमी, दुई अहेव, २ नर्स रहने व्यवस्था छ । हाल एक जना विशेषज्ञ, एक जना मेडिकल अधिकृत, छ जना पारामेडिक्स, नर्सिङ पाँच जना, रेडियोग्राफर एक जना, डेन्टलहाइजेस एक जना, र दुई ल्याब टेक्निसियन रहेको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुशिल पौडेलले जानकारी दिनुभयो ।

नगर अस्पतालमा केही दिन अगाडि मात्रै एमडी जीपी (जनरल फिजिसिन) डाक्टर आएको पौडेलले बताउनुभयो । पछिल्लो समय नगरपालिका भरका अन्य स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ ।

“यहाँको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय निकै परिवर्तन हुँदै गएको छ, गाउँ–गाउँका स्वास्थ्य चौकीदेखि, नगर अस्पतालसम्म सेवा राम्रो बनेको छ, सकेसम्म बिरामीलाई बाहिर पठाउन नपरोस भन्ने हिसाबले नगरपालिका लागेको छ” जनस्वास्थ्य निरीक्षक पौडेलले भन्नुभयो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *