१३ वर्षपछि निवारणको चरणमा हात्तिपाईले


खेमराज गौतम, बागलुङ

सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १३ वर्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्छ । तर बागलुङमा पुन ‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४ औं चरणको औषधी सेवन अभियान थालिने भएको छ ।

लगातार ६ पटक औषधी खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भएपनि बागलुङमा १३ औं पटक सम्म हात्तिपाइलेको औषधी खुवाउदा समेत हात्तिपाइले निवारन हुन सकेको छैन । रोग निवारणका गर्नका लागि बागलुङ जिल्लामा पुन १४ औं पटक अभियान थालिएको हो । तर यस पटकको अभियान भने अन्तिम हुन सक्ने तथ्याङले देखाएको छ ।

१३ औं पटकको अभियान शुरु गर्नुभन्दा पहिला हात्तिपाईले प्रभावित क्षेत्रमा पाँचौ पटक नमूना संकलनको कार्य गर्दा हात्तिपाइले निवारण नभएपछि लगातार दुई वर्ष औषधी खुवाउनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार १४ औं पटक औषधी सेवन गर्नका लागि गरिएको पूर्व नमूना परिक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तिपाइलेको जिवाणु भेट्टीएकाले यो पटकको औषधी अन्तिम पटकका लागि हुन सक्ने संभावना धेरै रहेको शर्माको भनाई छ ।

तर हात्तीपाइले निवारण हुन १४ औं पटक आम औषधी सेवन अभियान सञ्चालन पछि तीन पटक संग गरिने नमूना परिक्षण समेत सफल हुन आवश्यक रहेको छ ।

“पाँच वर्ष लगातार औषधी खुवाईसकेपछि नमूना परिक्षण हुन्छ, हामीले पाँचौं चरण सम्मको नूमना परिक्षणमा दुई प्रतिशत भन्दा माथीको संख्यामा पोजेटिभ पाएका थियौ, तर छैठौं पटकको नमूना संकलनमा हात्तिपाइले निवारणका लागि दुई प्रतिशत भन्दा थोरै पोजेटिभ भेट्टिएको छ” शर्माले भन्नुभयो “यो वर्ष आम औषधी सेवनमा सबैले औषधी सेवन गरेमा हात्तिपाइले निवारण हुन्छ, सबैले आफ्नो ठाउँबाट पहल गरौं, यो वर्ष हात्तिपाइले निवारण हुनेमा धेरै संभावना बढेको छ, तर आम औषधी सेवन पछि गरिने तीन पटकको नमूना परिक्षण सफल हुन आवश्यक छ नत्र फेरी १५ औं पटकको आम औषधी सेवन अभियान शुरु गर्नु पर्दछ ।”

स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माका अनुसार बागलुङमा पाँच पटक सम्मको नमूना परिक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैठौं पटकको नमूना संकलन गर्दा निवारणका लागि आवश्यक दुई प्रशित भन्दा कम ०.३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यो वर्षलाई अन्तिम पटक हात्तिपाइलेको आम औषधी सेवन अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था आइरहेकोमा यस पटक ७०० जनामा गरिएको नमूना परिक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४ औं पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधी सेवन गर्न आवश्यक रहेको शर्माले बताउनुभयो । संक्रमण दुई प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाई छ ।

हात्तिपाइले विरुद्धको औषधि सेवनमा नागरिकको वेवास्ता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाईराख्नु परेको र यस पटक भने हात्तिपाइलेको आम औषधी सेवन अभियान अनितम बनाउने गरी निरन्तर खटिएको शर्माको भनाई छ ।

विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको र २०३० सम्म नेपालमा हात्तिपाइले निवारण गर्ने लक्ष्य लिएको छ । हात्तिपाइले आफुले मात्र औषधि खाएर जोखिमबाट पुर्ण रुपमा बच्न नसक्ने भन्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले अरु कसैलाई हात्तिपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तिपाइले हुन सक्ने बताउनुहुन्छ ।

जिल्लामा ११ गतेदेखि सञ्चालन गरिने १४ औं चरणको हात्तिपाइले अभियानमा दुई लाख ४६ हजार ६४६ जनालाई हात्तिपाइलेको औषधी खुवाउन पाँच सय स्वास्थ्यकर्मी सहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको स्वास्थ्य कार्यालय, बागलुङले जनाएको छ ।

हात्तिपाइले बिरुद्धको औषधी दुई वर्ष माथिका सबैले खान सक्ने भन्दै थला परेको बिरामी र गर्भवतीले मात्रै खान नहुने स्वास्थ्यकर्मीको भनाई छ । लामखुट्टै क्युलेक्स जातको पोथी लामखुट्टेबाट बढी सर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *