बाबियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा मंगला इन्द्रेणी पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, बालबालिका र ज्येष्ठ नागरिकसहित स्थानीयवासीलाई लक्षित गरेर गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा मंगला इन्द्रेणी पार्क निर्माण गरिएको हो ।

आइतबार एक कार्यक्रमका बिच उक्त पार्कसहित पार्कमा निर्माण गरिएको दुईतले मंगला खड्ग नन्द सङ्ग्रहालयको उद्घाटन गरिएको छ । उक्त पार्क र सङ्ग्रहालयको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । यसैगरी पार्क निर्माणको लागि करिब डेढ करोड रुपियाँ मुल्य बराबरको करिब चार रोपनी जग्गा निशुल्क दान गर्ने मंगला–२, हाल काठमाडौं निवासी इन्द्रबहादुर अधिकारीको सम्माणमा बनाइएको अर्धकदको सालिक समेत अनावरण गरिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन तथा बालबालिका र जेष्ठ नागरिक सहित स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुसार पार्क र सङ्ग्रहालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको’, अध्यक्ष रोकाले भन्नुभयो । जग्गादाताको सम्मानका लागि उद्यानलाई ‘मंगला इन्द्रेणी पार्क’ नामकरण गरिएको गाउँपालिकाले जनाएको छ । इन्द्रेणी पार्कमा सङ्ग्रहालय भवन, आकर्षक बालउद्यान ,प्रतिक्षालय, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय, बाथरूमलगायतका भौतिक संरचना निर्माण गरिएका छन् ।

पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ भने शारीरिक व्यायामका लागि ‘रनिङ स्पट’ लगायत सङ्रचना निर्माण गरिएका छन् । पार्कलाई हरियाली र आकर्षक बनाउनका लागि खण्डखण्डमा दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफूलका बिरुवाहरु रोपिएका छन् । फूल तथा दुबोलाई हरियाली बनाइ राख्न नियमित रूपमा पानीको ब्यवस्था गरिएको छ ।

त्यसका लागि बाबियाचौरका स्थानीयवासीले प्रयोग गर्ने मिटरको पानी जडान गरिएको छ । मिटरबाट नआएको समयमा म्याग्दी नदीबाट पानी तान्न सकिने ब्यवस्था मिलाइएको छ । करिब चार रोपनी जग्गा निशुल्क प्राप्त भएको र बाँकी दश आना जग्जा स्थानीयबासी र गाउँपालिकाले खरिद गरेको गाउँपालिकाले जनाएको छ ।

पार्क निर्माणका लागि १ करोड ८ लाख ६७ हजार रुपियाँ बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार , उपभोक्ता समिति मार्फत निर्माण गरिएको उक्त पार्क निर्माणमा स्थानीयबासीले समेत दश प्रतिशतका दरले श्रमदान गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि पार्क निर्माण थालिएको थियो । मंगला–२,स्थि मंगला युथ क्लबले २ लाख र गाउँपालिका अध्यक्ष रोकाले एक लाख रुपियाँ सहयोग गर्नुभएको थियो ।

पालिकाबाट विनियोजन भएको ३६ लाख ८० हजार रुपियाँ बजेट र स्थानीयको श्रमदान गरी कूल ४० लाख रुपियाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताउनुभयो । सङ्ग्रहालय भवनमा पालिकाभित्रका ऐतिहासिक तथा पुरातात्विक वस्तु, विभिन्न जातजाति, समूह तथा वर्गका सीप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्री सङकलन समेत थालिएको गाउँपालिकाले जनाएको छ । सङ्ग्रहालय मंगलाको संस्कृति र पहिचान झल्किने परम्परागत सामग्री अवलोकन गर्न पाउनु पार्कको अर्को विशेषता रहनेछ । सोही कार्यक्रममा गाउँपालिकाले जग्गादाता ,चन्दाता ,पुर्व जनप्रतिनिधि लगायत विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *