ताराखोला आधारभूत अस्पताल : सम्पन्न गर्ने मितिमा ठेक्का रद्दको तयारी


खेमराज गौतम, बागलुङ

सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिले सम्म निर्माण भइसक्थ्यो ।

आगमी २०७९ चैत मसान्त भित्र अस्पताल भवन निर्माण सक्नु पर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै शुरु भएको छैन ।

जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्र्दभमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनी बीचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शैयाको अस्पताल निर्माण ठेक्का म्याद सकिनै लाग्दा समेत शुरु नभएको हो ।

भौगोलिक रुपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउनका लागि उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको हो ।

आधारभूत अस्पताल निर्माणका लागि वडा नम्बर २ को सरपान्डीडाँडामा दुई वर्ष अघि शिलान्यास भएपनि जग्गा विवाद तथा भौगोलिक जटिलताको कारण देखाउदै गाउँपालिकाले ठेक्का लगाईसेको जग्गालाई स्थानान्तरण गरी सोही वडाको कुवाँधुनेखोलामा पु¥याउदा अस्पताल निर्माणमा निर्माण व्यवसायी र पालिका बीच समस्या देखिएको थियो ।

शिलान्यासको वर्षनै ताराखोलामा ठूलो बाढी पहिरो गएका कारण उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिक रुपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकहरुको सल्लाहमा अस्पताल निर्माणको जग्गा स्थानान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताउनुभयो ।

“दुई वर्ष अघिनै जग्गा विवाद तथा भौगोलिक कठिनाईका कारण अस्पतालको जग्गा स्थानान्तरण गरिएको थियो, ठेकेदारले ठेक्का ल्याईसकेपछि काम रोकेर राखेको देखिएको छ, जुन स्थानमा अस्पताल बनाएपनि अस्पतालको डिजाईन एउटै हो, केही लागत थप घट भए पालिकाले निर्णय लिन्छ भन्ने थियो” गैरेले भन्नुभयो “निर्माण व्यवसायीले जग्गा स्थानान्तरणको कारण देखाउदै भवन निर्माण गर्न आलटाल गर्दै दुई वर्ष विताउनुभयो, चैत मसान्त सम्म सम्झौता मिति छ, म्याद सकिएपछि सार्वजनिक खरिद ऐनलाई टेकेर पुन ठेक्कामा जाने तयारीमा छौं, अस्पताल जस्तो संवेदशनशील क्षेत्रमा चरम ढिलासुस्ती गाउँपालिकालाई मान्य छैन ।”

प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरिद ऐनमा ठेक्का मिति सम्झौता नसके सम्म ठेकेदारलाई कार्वाहीको काम गर्न नपाइने भएकाले चैत मसान्त भित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रकृयामा गाउँकार्यपालिका जानेछ ।

पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताउनुभयो । प्राविधिकहरुले पालिका अस्पताल बनाउन शिलान्यास गरिएको जग्गा उपयुक्त नदेखेपछि स्थानीयको पहलमा अर्को स्थानमा जग्गा व्यवस्थापन गरेर अस्पताल बनाउने गाउँपालिकाको योजना रहेपनि निर्माण व्यवसायीले काम नै नथाल्दा समस्या भएको थापाको भनाई छ ।

“अस्पताल बनिसक्ने समयमा काम शुरु नहुनु दुखद् हो, ठेक्का मिति सकिदासाथ गाउँपालिकाले कार्यपालिका मार्फत ठेक्कालाई निरन्तरता दिने अथवा ठेक्का रद्द गर्ने निर्णय गर्ला” थापाले भन्नुभयो “जिल्लाका १० पालिका मध्ये अधिकांश पालिकामा आधारभूत अस्पताल ठडिदा हाम्रोमा कामै शुरु नहुनु दुखद् हो ।”

कोरोना कहरको समयमा पालिकाले कोरोना प्रभावित विरामीलाई पालिकाले निर्माण गरेको बहुउदेश्यीय सभाहलमा राखेर उपचार गराएको थियो । भौगोलिक रुपमा भिरालो जमिन रहेको ताराखोलामा ठूला भवन तथा संरचना निर्माण गर्न समस्या हुँदै आएको छ ।

२०७७ वैशाखमा दुई वर्षमा निर्माण सक्नेगरी गाउँपालिका र एसी कन्ट्रक्सन बीच रु. सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का म्याद सकिना दुई महिना मात्रै बाँकी रहदा अस्पताल निर्माण शुरु समेत भएको छैन भने निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकेको बताउदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको जनाएको छ ।

ठेक्का लगाईसकेको जग्गामा अस्पताल नबनाएर नयाँ जग्गामा अस्पताल बनाउन पालिकाले भनेपनि लागत फरक पर्ने भएकाले भवन निर्माणको काम नथालेको अस्पताल भवन निर्माणको जिम्मा पाएको एसी कन्ट्रक्सन प्रालिका प्रतिनिधि दिपक अदैले जानकारी दिनुभयो ।

काम गरेर मुल्याङकन नभएर लगानी डुब्न भन्दा कामै शुरु नगर्दा राम्रो देखिएको भन्दै जग्गा अनुसार भवनको जग फरक पर्ने भएकाले पालिकाले उक्त परिवर्तित नक्सा उपलव्ध समेत नगराएको अदैको भनाई छ ।

“भवन एउटा जग्गामा गर्ने भनेर ठेक्का लिए, काम गर्न उपकरण सहित जादा स्थान परिवर्तन भएको देखियो, उक्त स्थानमा काम गर्दा लागत बढ्ने भएपनि गाउँपालिकाले सोही लागतमा काम गर्न दवाव दिइराखेको थियो” अदैले भन्नुभयो “पछि काम गरेर भुक्तानी नपाउन भन्दा कामै नगर्दा राम्रो भनेर हात झिकेर फर्के, अहिले अस्पतालको जग्गा व्यवस्थापन र पहिरो नियन्त्रणका लागि गरेको कामको समेत रकम भुक्तानी भएन, आजको दिन सम्म हामीले एक पैसा समेत लिएका छैनौ ।”

गाउँपालिकाले ठेक्का मिति सकिने बेलासम्म परिवर्तित भवनको नक्सा र डिजाइन उपलव्ध नगराएर निर्माण व्यवसायीलाई दोष दिन नमिल्ने अदैको भनाई छ । स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण हुने पालिका अस्पतालका लागि केन्द्रलेनै स्विकृत गरेको नक्सा र डिजाईन अनुसार पालिकाले काम गर्नुपर्ने प्रावधान छ । अस्पताल बनाउनका लागि पालिकाको नाममा अस्पतालको शैया अनुसार तोकेको जग्गा हुनुपर्ने छ ।

पालिकाले सार्वजनिक खरिद ऐन अनुसार सुविस्थाको आधारमा पुनःठेक्का गर्ने तर्फ जानका लागि निर्माण व्यवसायीले समझदारी गर्ने निर्माण व्यवसायीको भनाई छ । अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निर्माण व्यवसायीको तर्फबाट हाल सम्म रु. ५० लाख खर्च भइसकेको ठेकेदार कम्पनीको दाबी छ ।

यो पनि पढ्नुहोस्