खेमराज गौतम, कुश्मा
धौलागिरीमै पहिलोपटक नाटक घर सञ्चालनको तयारी थालिएको छ । कला, संस्कृति र नदी सभ्यता जोगाउन लागि पर्नुभएका पर्वत कुश्माका आरके अदिप्त गिरीको परिकल्पनामा शताब्दी घर मातहत ललितकलाका सम्पूर्ण विधाहरूलाई एकै थलोमा समेट्ने गरि कुशुमपुर रंग भवन (नाटक घर) बनाउने योजना अगाडी बढाउनुभएको छ ।
पर्वत स्थित कुश्मा बजारको माझगाउँमा रहेको ३०० वर्ष पुरानो घरलाई मर्मत संभार गरी कलात्मक बनाइराख्नुभएका गिरीले धौलागिरीमा पहिलोपटक नाटक घर (थिएटर) निर्माण गर्न लाग्नुभएको छ । कला–संस्कृति र सभ्यता नै हाम्रा सक्कली परिचायक हुन् । यी नरहे हामी को हौँ भन्ने प्रमाण पनि रहँदैन । त्यसैले पछिल्लो पुस्ताले बिर्सिंदै गएको थिएटर संस्कृतिलाई संरक्षण र पुस्तान्तरण गर्न समेत ‘नाटक घर’को उद्देश्य रहेको गिरीको भनाई छ ।
कला, संस्कृति, सभ्यता र सम्पदा समाजका अमुल्य पहिचान रहेको भन्दै यिनैको संरक्षका लागि जुट्नुभएका गिरी कालीगण्डकी नदी बचाऔं अभियानका संयोजक समेत हुनुहुन्छ । उहाँका अनुसार ‘नाटकघर’ धौलागिरीमै पहिलो प्रयोग र नविनतम थालनी हुनेछ ।
उहाँले थिएटरसँगै जोडिने शताब्दी घरको आँगनलाई पनि खुल्ला कला डबलीका रुपमा विकास गरिने बताउनुभयो । नेपाली पठन संस्कृतिलाई बढवा दिन पुस्तकालयको पनि परिकल्पना गर्नुभएको छ । सँगै कला, अनुसन्धान, खोज आदि गर्न खोज्नेहरूका लागि अतिथि आवास गृह पनि बन्दैछ । साथै रंग भवनलाई बहु प्रयोजनका रुपमा संचालनमा ल्याइने छ । गिरीका अनुसार नाटकघरमा कलाको आवासीय कक्षा ‘आफ्टर स्कूल पाठशाला’ समेत सञ्चालन गर्ने योजना छ ।
जहाँ समाजका लागि उपयोगी कला, सीपका र सिर्जनात्मक गतिविधी संचालन गरिने छ्न । समग्रमा यसलाई कलाको अथवा भनौं ज्ञानको मन्दिरका रुपमा विकास गरिँदैछ । पछिल्लो समय परम्परादेखि चल्दै आएका चालचलन, रीतिरिवाज र कला संस्कृति भेट्टयाउन निकै कठिन अवस्थामा पुगेकै कारण आफूहरूले नाटक घरको सपना बुनेको कुश्मा कला परियोजनाका सदस्य रुपेश सापकोटाले बताउनुभयो ।
कला, संस्कृति र पर्यावरणका चिन्तक गिरीका अनुसार कुश्मा नगरभित्र उजागर नभएका अनेक जैविक, साँस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य छन् । यिनको अध्ययन, अवलोकनका लागि नयाँ गन्तव्य स्थलको रूपमा विकास र विस्तार गर्नकै लागि नाटकघर स्थापनाको लक्ष्य लिएर आफू अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
फोटो पत्रकार र कालीगण्डकी दोहन विरुद्ध अभियान चलाइ राख्नुभएका गिरीले पर्वतको कुश्माको मौलिकता जगेर्नाका लागि आफ्नो अगुवाईमा कुश्मा कला परियोजना स्थापना गर्नुभएको छ । परियोजनाले समुदायसँग जोडिएर काम गर्न विभिन्न सोध, अन्वेषणका कार्यहरूमा गृहकार्य गरिरहेको छ ।
“रंग भवन, कला, संगीत, थिएटर रेसिडेन्सी देश र विदेशमा रहेका कलाकारहरुको आफ्नो कला, संगीत र शिल्प साटासाट गर्ने वहुआयामिक थलो होस भन्ने हाम्रो चाहना छ” गिरीले भन्नुभयो “तर, समाज न न्यून विवेकी छ न त सजिलो र सहयोगी बन्छ, कला संस्कृतिमा कुनै समुदाएको ध्यान नै छैन ।”
“समाजका विभिन्न जात समुदायका कला, संस्कृति, संगीत, जात्रा र मेलाहरु एकै थलोमा हेर्न र सामाजिक चिन्तन गर्ने यस्ता स्पेसको आवश्यकता स्थानीय तहका ठूटे शासकहरूलाई छैन, आफूले समाजका लागि जति सेवा गर्न सकिन्छ गर्दै जाने हो, कुश्मा आफैँमा मौलिक विकास खोजिरहेछ” उहाँले भन्नुभयो “जनजीवनसँग जोडिएका हरेक साँस्कृतिक सम्पदाको हामी खोजीनिती गर्दैछौं, अब यस्ता काममा समाज अलिकति भएपनि सचेत, सजग र सहयोगी होस ।”
नाटकघर निर्माण भएपछि सिङ्गो कुश्मा र यस वरपरका छिमेकी जिल्लाहरूका कवि, कलाकारहरुले समेत आफ्नो प्रतिभा पोख्न पाउनेछन् । कुश्मा कला परियोजनाका उपाध्यक्ष किशोर भण्डारी संस्थाको भावि सोच रहेको बताउनुहुन्छ । “कुश्मा कला परियोजना वृहत परियोजना हो, जस्ले कुश्मालाई कला, साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रुपमा विकास गरिनेछ” भण्डाडीले भन्नुभयो ।
बागलुङको जैमिनीमा जन्मिनुभएका गिरीले पर्वत कुश्माको आदर्श आवासीय माविबाट अध्ययन प्ररम्भ गरि उच्च शिक्षाका लागि काठमाडौं विश्वविद्यालय र विदेशसम्म पुगेर आर्जेको आफ्नो विशेषज्ञतालाई कुश्माको भूगोलमा केही गर्ने अठोटका साथ उहाँ आफ्नो गृह जिल्ला कुश्मा फर्किनु भएको हो । उहाँको विशेष दक्षता कला, संस्कृति, पर्यटन, सम्पदा प्रेम र कलाकारितामा हो । उहाँसँग देशी–विदेशी मिडियाहरूमा काम गरेको लामो अनुभव छ ।
“पर्वते संस्कृतिमा धेरै अनमोल कुरा छन् । हामी स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, श्रमदान, कलाकारहरूलाई आवासीय सुविधा दिएर भए पनि नाटकघर निर्माण गरि छाड्छौं”–गिरी बताउनु हुन्छ । सुन्दर र असल समाज निर्माणका लागि कलाको देन अमूल्य छ । त्यसैले रैथाने निर्माण सामाग्रीकै प्रयोग गरेर मौलिक पहाडे वास्तुको नमुना नाटकघर निर्माणमा लागेको उहाँको भनाइ छ ।
उहाँले थिएटरको परम्परा धौलागिरीमा नभएको भन्दै काठमाण्डौको थिएटरको झल्को दिनेगरी आफूले नाटकघर सञ्चालन गर्ने गरी तयारी गरिएको बताउनुभयो । रंग भवनको लागत एक करोड बढी लाग्ने अनुमान गरिएको छ ।