आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक ढंगले जिर्णोद्वार गरिएको छ । ताम्रा पत्रले मन्दिर छाइएको छ भने कलात्मक ईटाको प्रयोग गरेर कालिका मन्दिरलाई थप आकर्षक बनाएको छ । एउटा धार्मिक संरचना कंक्रिट मय बनेको तथा केही संरचनाले मन्दिरको शौन्दयतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढंगले आफ्ना संरचना रुपान्तरण गर्ने रणनैतिक योजना अनुसार मुख्य मन्दिरको जिर्णोद्वार अन्तिम चरणमा पुगेको छ ।
मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्ड लगायतका संरचनाहरुभने निर्माणधीन नै छन् ।मन्दिरले दुई महिना लगाएर कालि मन्दिरको भित्रि संरचनाको मर्मत गर्दै मन्दिरलाई छाइएको ताम्रापत्रको मर्मत गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इटाको प्रयोग गरिएको छ ।
कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनैतिक सुधार कार्यक्रम अन्र्तगत कालिका मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगमी दिनमा निर्माण हुने मन्दिरसंग जोडिएका संरचनाहरु पुरातात्कि शैलिमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
“कालिका मन्दिरको भित्रि संचना जिर्ण भएको र तामाको छानो चुहिने भएपछि जिर्णोद्वार संगै कलात्मक स्वरुप देखिनेगरी मन्दिरको मर्मत संभार गरिएको हो” खड्काले भन्नुभयो “मन्दिरको जिर्णोद्वारको काम लगभग सकिएको छ, सहायक कामहरु सत्तल र हवन कुण्डको काम भने अझै केही महिनामा सकिन्छ, मन्दिरलाई दिन र रातमा गरी दुई चरणमा काम गरेर दुई महिनामा कलात्मक बनाइएको छ ।”
अध्यक्ष खड्काका अनुसार मन्दिर क्षेत्रमा निर्माण हुने अन्य संरचना समेत कलात्मक र पुरातात्विक हुनेगरी निर्माण गर्ने मन्दिर सुधारको पञ्चवर्षीय रणनैतिक योजना रहेको छ । अहिले मन्दिरको पूर्व पट्टी निर्माण गर्न थालिएको सत्तल र हवन अग्नी कुण्ठलाई समेत कलात्मक बनाइनेगरी मात्रै निर्माण भइरहेको छ । सिमेन्ट र ढुङ्गा जडित संरचनालाई बिस्तारै हटाउदै कलात्मक काठ तथा धातुको प्रयोग गरेर मन्दिर तथा मन्दिरको अन्य संरचना बनाउने मन्दिरको योजना छ ।
रु. २६ लाखको लागतमा मन्दिरको जिर्णोद्वार गरिएको हो । यस्तै मन्दिरको सत्तल निर्माणमा रु.७० लाख र हवन कुण्ड निर्माण गर्न रु. १३ लाख खर्च लाग्ने गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका भगवती मन्दिर अब सास्त्रीय र पुरातात्वीक हिसाबले जिर्णेद्वार भएपछि चिटिक्क परेको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक बस्तुको प्रयोग बढाउदै आधुनिक निर्माण सामाग्रीको प्रयोग हटाउदै लैजानुपर्ने मन्दिर व्यवस्थापन समितिलाई स्थानीयहरुले सुझाव दिदै आएका छन् ।