सुखौरामा बन्यो ‘हरित पार्क’

डम्मर बुढा मगर, बागलुङ
बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीय स्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरि पार्क निर्माण गरिएको छ । पार्कले सल्यान र सुखौरासँगै अन्य पर्यटकीय गन्तव्यहरुलाई जोड्ने छ ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश र गाउँपालिकाले विनियोजन गरेको आठ लाख रुपैयाँले पार्क निर्माण गरेको बरेङ गाउँपालिका–५ सुखौराका अध्यक्ष अम्मर बहादुर सेर्बजाले जानकारी दिनुभयो । १७ सय मिटरको उचाईमा रहेको यो पार्क पर्यटकीय हिसाबले निकै संभावना बोकेको हुँदा पालिकाले यसलाई प्राथमिकतामा राखेर काम गरेको उहाँ बताउनुहुन्छ ।

अध्यक्ष सेर्बुजा भन्नुहुन्छ– “गाउँको ‘सेन्टर’मा छ, स्थानीयलाई बोर भयो भने यहाँ गएर एकछिन फ्रेस हुन सकिन्छ, पछिल्लो समय बालबालिकाहरु मोबाइलमै झुण्डि रहन्छन्, उनीहरुलाई बाहिरी वातावरणमा झुमाउनका लागि र आन्तरिक पर्यटकलाई तान्न यो पार्कको निर्माण गरेका हौँ, अझै काम बाँकी छ, आगामी बजेटमा समेटर सम्पन्न गछौँ ।”

यहाँ प्रतिक्षालय, घेराबार र खानेपानीको व्यवस्थापन गरि सकेको भन्दै अब शौचालय निर्माणसँगै बोट विरुवा लगाउने कार्य बाँकी रहेको अध्यक्ष सेर्बुजाको भनाई छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले यो ठाउँ पालिकाको महत्वपूर्ण क्षेत्र रहेको र पर्यटकीय संभावना बोकेको हुँदा पर्यटन पूर्वाधार स्वरुप हरित पार्कको सुरुवात गरेको बताउनुभयो ।

अध्यक्ष शर्मा भन्नुहुन्छ– “बरेङ गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरि प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सोही अनुसार सुखौरामा पनि पार्कको परिकल्पना गरि निर्माण थालेका हौँ, यो ठाउँ ग्रामीण क्षेत्र हो, गाउँ भए पनि यहाँको कला संस्कृति र परम्परालाई पर्यटकसँग जोड्न खोजि रहेका छौँ ।”

उहाँले यहाँ पार्कसँगै अन्य पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्राउने र स्थानीयको जीवनस्तर उकास्ने बताउनुभयो । अध्यक्ष शर्माले सुखौरा र सल्यान गाउँमा आलु, सिमी लगायत स्थानीय अर्गानीक वस्तुहरु उत्पादन हुने भन्दै बाहिरबाट आउने पर्यटकलाई एक दिन गाउँमै बस्ने वातावरण तयार गर्ने र उत्पादित वस्तुलाई कोसेलीका रुपमा प्रवद्र्धन गर्ने बताउनुभयो ।

गाउँपालिकाले पार्कसँगै वडा नम्बर–३ स्थित बाटाकाचौरको सत्यवती मन्दिर, भैँसेखोला झरना र छहरेखोला झरनालाई पनि प्रवद्र्धन गरि रहेको अध्यक्ष शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *