बागलुङमा प्रभावकारी बन्दै हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान

आदर्श अनलाइन, बागलुङ

बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४ औं चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । बुधबार जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीहरुलाई हात्तीपाइले विरुद्धको औषधी खुवाएर अभियानको शुभारम्भ गरिएको छ ।

१३ वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधी अभियानलाई प्रभावकारी बनाउनका लागि विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधी सेवन अभियान सुरु गरिएको छ । सामान्यतया ६ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमासमेत निवारण नभएपछि यस पटक अभियानका लागि स्वास्थ्यकर्मीहरु रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन् ।

फागुन १० गते विद्यालयबाट सुरु गरेको अभियान फागुन ११ गते सर्वसाधरणका लागि खुवाउन थालिने छ । हात्तीपाइले विरुद्धको आम औषधी अभियानलाई प्रभावकारी बनाउनका लागिे सचेतना मुलकका लागि टोल स्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइले सम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ ।

यस पटक बागलुङमा दुई लाख ४६ हजारलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइन थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । “यसै पटक बागलुङमा अन्तिम पटक भनेर अभियान चलाएका छौं, हात्तीपाइले निवारणका लागि विभिन्न रचनात्मक क्रियाकलापसमेत गरिएको छ,” शर्माले भन्नुभयो “दुई लाख ४६ हजारलाई प्रत्यक्ष रुपमा औषधी खुवाउन फागुन ११ गतेदेखि एक हजार ५०० जनशक्ति परिचालन गरिएको छ ।”

१४ औं चरणको हात्तिपाइले अभियानमा दुई लाख ४६ हजार ६४६ जनालाई हात्तिपाइलेको औषधी खुवाउन पाँच सय स्वास्थ्यकर्मी सहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्ने भएपनि बागलुङमा १३ औं पटक आम औषधी सेवन अभियान सञ्चालन गर्दा समेत निवारण नभएपछि यस पटकको १४ औं चरणको अभियानलाई प्रभावकारी बनाउनका लागि गत वर्ष भन्दा फरक कार्यक्रम समेत ल्याएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

“यस पटक हात्तिपाइले औषधी सबैलाई खुवाएर निवारण गर्नका लागि सचेतनाका लागि लोक दोहोरी, भजन प्रतियोगिता, माइकिङ सहित टोल–टोलमा सचेतनामूलक अभियान गरियो” शर्माले भन्नुभयो “अहिले सबैले औषधी खाने भएमा यसपटक हत्तिपाइले बागलुङबाट निवारण हुनेछ ।”

शर्माका अनुसार १४ औं पटक औषधी सेवन गर्नका लागि गरिएको पूर्व नमूना परिक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तिपाइलेको जिवाणु भेट्टीएकाले यो पटकको औषधी अन्तिम पटकका लागि हुन सक्ने संभावना धेरै रहेको शर्माको भनाई छ ।

बागलुङमा पाँच पटकसम्मको नमूना परिक्षण गर्दा हात्तिपाइले निवारण नभएको तर छैठौं पटकको नमूना संकलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशत भन्दा कम ०.३३ प्रतिशत मात्रै हात्तिपाइलेको जिवाणु फेला परेकाले यो वर्षलाई अन्तिम पटक भनेर हात्तिपाइलेको आम औषधी सेवन अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था आइरहेकोमा यस पटक ७०० जनामा गरिएको नमूना परिक्षणमा एक जनामा मात्रै जिवाणु फेला परेकाले १४ औं पटकको अभियान नै अन्तिम हुन सक्ने भन्दै सबैले औषधी सेवन गर्न आवश्यक रहेको शर्माले बताउनुभयो । संक्रमण दुई प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाई छ ।

हात्तिपाइले विरुद्धको औषधि सेवनमा नागरिकको वेवास्ता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाईराख्नु परेको र यस पटक भने हात्तिपाइलेको आम औषधी सेवन अभियान अन्तिम बनाउने गरी अभियान थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *