आयुर्वेदिक औषधीप्रति बिरामीको विश्वास बढ्दो

डम्मर बुढा मगर, बागलुङ
कोरोना संक्रमण फैलिनु अगाडि धौलागिरी आयुर्वेद औषधालयमा बिरामीको संख्या निकै कम थियो । जब विश्वभर महामारीका रुपमा कोरोना संक्रमण फैलियो, तब औषधालयमा बिरामीको चाप बढ्दै गयो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा आएर जाँच र औषधी लिने बढेको आयुर्वेदालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र जेष्ठ नागरिकले सेवा लिने गरेको सूचना अधिकारी एकराज ढुङ्गानाले बताउनुभयो । विशेष गरि ग्यास्ट्रिक, पेट दुख्ने, खान नरुच्ने, बाथ लगायतका समस्या भएका बिरामीहरू आयुर्वेद यहाँ आउने गरेको ढुङ्गानाको भनाई छ । आयुर्वेद औषधीमा विश्वास कम गर्नेहरू पनि लामो समय नियमित आयुर्वेदिक औषधी खाएर शरीरमा फाइदा पुगेको भन्दै आकर्षित भएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउने मध्ये अधिकांश बिरामी पेट सम्बन्धी समस्या लिएर आउने गरेका छन् । सूचना अधिकारी ढुङ्गाना भन्नुहुन्छ– “पहिलेको तुलनामा पछिल्लो समय औषधालयमा आउने बिरामीको संख्या निकै बढेको छ, आयुर्वेदिक औषधीप्रति नागरिकहरुको विश्वास बढेकै कारण यहाँ आउनेहरुको संख्या बढेको पाइन्छ, आउने बिरामीलाई आयुर्वेद बारे परामर्श र उपयोगिता बारे जानकारी दिने गरेका छौँ ।”

धौलागिरी आयुर्वेदिक अस्तालमा आउने बिरामीको तीन वर्षे तथ्याङ्क हेर्दा सबैभन्दा बढी कोभिड–१९ पछि आउने गरेको पाइएको छ । आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४ जना बिरामीले सेवा लिएका छन् भने २०७७/०७८ मा त्यो संख्या बढेर १२ हजार पाँच सय ८३ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने सेवा लिनेको संख्या बढेर १६ हजार दुई सय ४७ जना पुगेको छ ।

चालु आर्थिक वर्षको हालसम्म सात हजार चार सय ३० जना बिरामीले सेवा लिएका छन् । यस वर्ष सबैभन्दा बढी साउन महिनामा एक हजार तीन सय २० जना बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौँ ६१ जना, कार्तिकमा आठ यि ५१ जना, मंसिरमा आठ सय ८३ जना, पुसमा एक हजार १० जना, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म ३६० जनाले सेवा लिएको औषधालयले जनाएको छ ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वास सम्बन्धि रोग, उच्च रक्तचाप लगायतका बिरामी दैनिक आउने गरेको धौलागिरी औषधालय बागलुङका प्रमुख डाक्टर सरोजकुमार रायले जानकारी दिनुभयो । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवन लगायतका विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधीमा बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय दैनिक ३०/३५ जना बिरामी औषधालयमा आउने गरेको डाक्टर रायको भनाई छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका पन्चानब्बे प्रकारका औषधी मध्ये यहाँबाट २३ प्रकारका औषधी उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

डाक्टर राय भन्नुहुन्छ– “अरु औषधीको तुलनामा आयुर्वेद औषधीको ‘साइड इफेक्ट’ कम हुन्छ, जनचेताको वृद्धिका कारण पछिल्लो समय आयुर्वेद्ध औषधी प्रयोग गर्ने बिरामी बढ्नु भएको छ, सरकारले पनि यसलाई थप प्राथमिकता दिएको छ ।” जिल्लाको बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरे सेवा प्रदान भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *